ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण कार्य : २ महीनादेखि ठप्प

Mar 20, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् आयोजना (१०२ मेवा) निर्माणको काम २ महीनादेखि ४० प्रतिशतमै अड्किएको छ । उक्त आयोजना सन् २०१७ को जुनमा निर्माण सक्ने गरी शुरू गरिएको हो । तर, समयमा निर्माण नसकिएका कारण २ वर्ष समय थपिएको छ । थपिएको समयभित्र सक्नेगरी काम गर्न ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनीलाई पुस महीनाको अन्त्यमा निर्देशन दिएका थिए । घिसिङले आयोजनास्थल नै पुगेर आयोजना व्यवस्थापन, परामर्शदाता तथा ठेकेदार कम्पनीलाई एकीकृत समयतालिका तयार गरी सोहीअनुसार सबै काम समानान्तर रूपमा अघि बढाउन निर्देशन दिएका थिए । तर, यसबीचमा शून्य दशमलव ४ प्रतिशत मात्रै थप काम भएको प्रोजेक्ट म्यानेजर सुनीलकुमार लामाले बताए । ‘यो बीचमा ठेकेदारले विद्युत् गृहको डिजाइन फाइनल गराउने काम नसकेकाले ठूलो परिमाणमा काम अघि बढ्न सकेको छैन,’ लामाले भने, ‘४ वर्षदेखि डिजाइन नै फाइनल गराउन नसकेको देख्दा काम गर्ने तरीकाप्रति सन्तुष्ट हुने स्थिति छैन ।’ आयोजनाको लागत बढ्न नदिने गरी सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीलाई ठेक्का दिइएको छ । इलेक्ट्रोमेकानिकलतर्फको काम भने एण्ड्रिजले पाएको छ । सिभिल तथा हाइड्रोमेकानिकलकै काम नसकिएकाले इलेक्ट्रोमेकानिकलको काम शुरू नै भएको छैन । कार्यकारी निर्देशक घिसिङको निर्देशनका बेला ठेकेदार कम्पनी क्वाङ्सीका प्रमुखले कामलाई द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, त्यसको केही समयमै चीन गएका उनी फर्किएको २ साता मात्र भएको प्रोजेक्ट म्यानेजर लामाले जानकारी दिए । वर्षा शुरू हुनुअघि नै बाँध तथा हेडवर्कको काम सक्ने आयोजनाको लक्ष्य छ । तर, २ महीनाअघि नै खोलाको पानी सुकाई बाँधस्थल खन्न शुरू भए पनि थप काम भएको छैन । ‘वर्षाअघि खोलासँग सम्बन्धित काम नसकिए वर्षा सकिएर खोला सामान्य प्रवाहमा नआउन्जेललाई काम रोकिन्छ,’ उनले भने, ‘यदि यो समयमा विद्युत् गृहको डिजाइन तयार हुन्थ्यो भने पनि त्यताको काम हुँदै गर्थ्यो ।’ यसअघि नै जुरे पहिरो, भूकम्प, बाढीपहिरो, नाकाबन्दी र बाँधस्थलको जग्गा समयमा उपलब्ध गराउन नसक्नुजस्ता कारणले आयोजना निर्माणमा ढिलाइ भएको थियो । त्यसमा ठेकेदारले पनि अपेक्षाकृत रूपमा काम गर्न नसक्दा आयोजनाको निर्माण अघि बढ्न नसकेको हो । यसबीचमा सुरुङको काम भने केही मात्रामा अघि बढेको छ । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको छ । रू. १२ अर्ब २८ करोड अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चयकोषले ऋण प्रवाह गरेको छ । चिलिमे कम्पनीको अगुवाइमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण, सिन्धुपाल्चोकका ४ इन्भेष्टमेण्ट कम्पनीहरू, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकवासी, सर्वसाधारणलगायतको लगानी रहनेछ । आयोजनाबाट वार्षिक ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाले विद्युत् विक्रीबाट वार्षिक रूपमा रू. २ अर्ब ९० करोड ४३ लाख आम्दानी गर्ने बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)