ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब ग्रामीण सडक पनि ‘आस्फाल्ट’ प्रविधिमा

Mar 21, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । अब ग्रामीण सडक निर्माणमा पनि ‘आस्फाल्ट’ प्रविधिको प्रयोग हुने भएको छ । सडकलाई गुणस्तरीय र टिकाउ बनाउने भन्दै सरकारले एशियाली विकास बैङ्क (एडीबी)को सहयोगमा बन्ने ३ सय ८८ किलोमिटर (किमी) सडकमा ‘आस्फाल्ट’ प्रविधिको प्रयोग गर्ने भएको हो । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले विभिन्न १६ जिल्लामा निर्माण हुने सडकमा ‘आस्फाल्ट’ प्रविधिको प्रयोग गर्ने बताएको छ । ग्रामीण पहुँच सुधार कार्यक्रम (आरसीआईपी) २०१८ फेब्रुअरी १२ मा अर्थ मन्त्रालयसँग एडीबीको सम्झौता भएको हो । सोही कार्यक्रमअन्तर्गत ती जिल्लामा नयाँ प्रविधिमा सडक निर्माण हुने भएको छ । सडक बनाउँदा ‘ओटासिल’ प्रविधिको प्रयोग गर्दा भ्रष्टाचार भएको आरोप लाग्दै आएका बेला डोलिडारले ग्रामीण क्षेत्रमा निर्माण गरिने सडकमा ‘आस्फाल्ट’ प्रविधि प्रयोग गर्ने भएको छ । पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, चितवन, सिन्धुली, दोलखा, काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, पर्वत, रूकुम र रोल्पामा सो प्रविधिका सडक बन्ने भएका हुन् । विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले आरसीआईपी परियोजनामा नेपाल सरकार र एडीबीको गरी रू. १३ अर्ब ५७ करोड लगानी रहने जानकारी दिए । त्यसमा एडीबीले १ सय डलर सहयोग गर्दा नेपाल सरकारको ३५ दशमलब ७२ डलर लगानी गर्ने गरी सम्झौता भएको छ । ‘३ सय ८८ किमी सडकमा हामीले पिच गर्दै छौं, यसमा उच्च प्रविधिको प्रयोग हुन्छ,’ उनले भने, ‘मिक्स आस्फाल्टको प्रयोग गरिनेछ, १ देखि डेढ इञ्चसम्म कालोपत्र बाक्लो हुन्छ ।’ एडीबीले सोही बजेटमध्ये हालसम्म रू. ३० करोड बजेट ती सडकको सर्वे तथा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न स्वीकृति दिएको छ । यस्तै कुल बजेटमध्ये रू. १० अर्ब बजेट उक्त सडक कालोपत्र तथा निर्माणमा खर्च हुने भएको छ । यस्तै, विभागले कार्यसम्पादनमा आधारित मर्मतसम्भार पर्फमेन्स बेष्ड मेण्टिनेन्स–पीबीएमअनुसार ठेकेदारले सडक निर्माणको काम अघि बढाउनुपर्ने व्यवस्था गरेको छ । उक्त सडक र्२ वर्षभित्रमा सम्पन्न गर्नुपर्ने र ठेकेदारले थप ३ वर्षसम्म बाटो (सडक) बिग्रिएमा आफै मर्मत गर्नुपर्ने हुन्छ । ठेकेदारलाई नै जिम्मेवार बनाउने उद्देश्यले नै यो पद्धति लागू गरिने भएको विभागले उल्लेख गरेको छ । त्यसका लागि भने विभागले प्रत्येक वर्ष सडक मर्मतसम्भारका लागि बजेट दिने महानिर्देशक श्रेष्ठले बताए । उनले भने, ‘पीबीएम सिष्टममा सडक बिग्रे पनि नबिग्रे पनि मर्मतसम्भारका ३ वर्षसम्म बजेट दिनुपर्छ ।’ विभागले एडीबीसँग सम्झौता नहुँदै यो परियोजनामा रहेर निर्माण हुने सडक निर्माणका लागि गत असारदेखि नै गहृकार्य गरेको थियो । १६ जिल्लामा बन्ने यी सडकको टेण्डरसमेत भइसकेको छ । उनले भने, ‘हाम्रो लक्ष्य भनेको सम्झौता हुँदा वित्तिकै फिल्डमा काम होस् भन्ने हो, सोहीअनुसार अहिले काम भइरहेको छ, परियोजनाका कागजी काम तयार हुनेबित्तिकै फिल्डमा काम हुनुपर्छ ।’ ‘आस्फाल्ट’ प्रविधिको प्रयोगबाट यसअघि चक्रपथ, नौबीसे–मुग्लिङ, सूर्यविनायक–धुलिखेल, अरनिको हाइवे निर्माण भएका छन् । के हो आस्फाल्ट ? अत्याधुनिक प्रविधि र मेशिनको सहायताले गरिने १ देखि डेढ इञ्चसम्म बाक्लो कालोपत्रलाई ‘अस्फाल्ट’ भनिन्छ । यो प्रविधिमा पनि बिटुमिन नै प्रयोग भए पनि सडकमा ३० एमएमभन्दा पातलो कालोपत्र हुनु हुँदैन । ‘आस्फाल्ट पेभर’ मेशिनले नै बालुवादेखि गिट्टी, रोडा तयार गरी सडक कालोपत्र गरिन्छ । आवश्यक पदार्थको मात्राका साथै गुणस्तर कायम भएमा ‘आस्फाल्ट’ प्रविधिबाट बनाइएका सडकको न्यूनतम आयु ७ वर्ष हुन्छ । ओटासिलको प्रयोगबाट निर्माण हुने सडकको आयु ३ देखि ४ वर्षको मात्रै हुन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)