अहिले समृद्धिको नारा निकै खपतमा छ बजारमा । के वाम, के काङ, के गाविस, के प्रदेश, के दशैं, के नयाँ वर्ष, के गोष्ठी, के कुनै समाचार कक्ष, सबै मौसम, सबै तहका नेता, दल, अर्थशास्त्री सबैको एउटै नारा छ– समृद्धि । सबैको एउटै लक्ष्य छ देशलाई समृद्धिको शिखरमा पुर्याउने भन्ने । आखिर यो समृद्धि हो चैं के त ?
समृद्धि माने सम वृद्धि वा सम्वृद्धि अर्थात् सबै क्षेत्रमा वा सबै जनामा समान किसिमको विकास । तर, प्रज्ञा प्रतिष्ठानको नेपाली शब्दकोषका अनुसार भने समृद्धिको माने ‘धनधान्य आदिले सम्पन्न, पुगिसरी, ऐश्वर्य आएको, उन्नत, बढिबढाउ’ हो । सीधा भाषामा भन्दा जनताको जीवन सुविधाले सम्पन्न बनाउने कुरा हो । अर्थात् समृद्धि भनेको सपना मात्र हुने रहेछ । अनि सबै सपना विपना हुन सक्तैनन्, हुँदैनन् । बरु समृद्धिको सपना भन्नुभन्दा यसको जोखाना भन्नु ठीक हुन्छ । जोखाना भनेको ज्योतिषीलाई देखाउँदा भविष्यमा जस्तो हुने देखिन्छ, त्यस्तै । अहिलेका विभिन्न आर्थिक परिसूचक, परिस्थिति, सरकार, प्रतिपक्ष, कर्मचारीतन्त्र आदिको सोच र कामकारबाही हेर्दा समृद्धिको जोखाना त यस्तो पो देखिन्छ त ।
देशमा समृद्धि आउन शुरु गरिसकेको रहेछ । पहिले राणाहरुकहाँ आएछ । त्यसपछि त्यो समृद्धि त शाहहरुमा सरेछ । एवम् रीतले देशमा लोकतन्त्र र गणतन्त्र आएपछि सत्ता र भत्तामा पहुँच भएका राजनीतिकर्मीहरुमा समृद्धि पुगेछ । राजनीतिको छाता ओढ्ने सबै प्रकारका अर्थशास्त्री, पेशाकर्मी तथा ढिँडोबाट भात हुँदै भुजा ज्यूनार गर्नेहरु सबैमा समृद्धिको राजकीय हैसियत पुगेछ । समृद्धिको केही राम्रै हिस्सा जग्गादेखि शेयरबजारसम्मका ब्रोकर, बैङ्क मालिक, शिक्षाका व्यापारी, वस्तु तथा सेवाका आयातकर्ता, आईएनजीओका खेती गर्नेहरु र सरकारी कर्मचारीहरुसम्म पुगिसकेछ । यो सङ्घीयता कार्यान्वयनपश्चात् समृद्धिको झीनो अंश प्रदेश तथा स्थानीय निकायका हर्ताकर्ताहरुकहाँ पनि पक्कै पुग्नेछ भन्ने जोखाना छ ।
तलब, भत्ता, गाडी, कमिशन आदिका माध्यमबाट समृद्धि तलतल झर्दै जाँदो छ । समृद्धिको नारा नलाउनेहरु अब सत्ता र भत्ताको पहुँचमा पुग्नेवाला छैनन् । त्यहाँ नपुगी समृद्धि आउने कुरै भएन ।
यसको शुरुआत भइसकेको पनि देखिन्छ । तलब, भत्ता, गाडी, कमिशन आदिका माध्यमबाट समृद्धि तलतल झर्दै जाँदो छ । समृद्धिको नारा नलाउनेहरु अब सत्ता र भत्ताको पहुँचमा पुग्नेवाला छैनन् । त्यहाँ नपुगी समृद्धि आउने कुरै भएन । भलै समृद्धिको सट्टा नयाँ नेपाल, आर्थिक विकास, अग्रगामी छलाङ, विकेन्द्रीकरण, सङ्घीयता, सम्पन्नता, भौतिक पूर्वाधार निर्माण, एक्काइसौं शताब्दीको नेपाल, जनवादी, जनमुखी, साम्यवाद आदिमध्ये जुनसुकै शब्द प्रयोग गरे पनि अर्थ भने एउटै हो भन्ने कुरा मिलाएर बुझ्नुहोला । यी शब्दहरुमध्ये कम्तीमा कुनै एकको प्रयोगविना अबका दिनमा कसैकोमा पनि समृद्धि आउनेवाला छैन ।
समृद्धिको परिभाषा वा व्याख्या सबैले आआफ्नै ढङ्गले गरिरहेका हुन्छन् । त्यसैअनुरुप काम पनि गरिरहेकै छन् । जस्तै, समृद्धिकै व्याख्या गरी गरी चीनमा सी जिनपिङले अविच्छिन्न रुपले राष्ट्रपति हुने चाँजोपाँजो मिलाएका छन् । उत्तर कोरियामा किम जोङ उन, रसियामा पुटिनले पनि समृद्धिकै नारामा काम गरिरहेका छन् । भारतमा मोदी पनि यै नाराका कारण शक्तिशाली प्रधानमन्त्री बने । नेपालमा प्रम ओली पनि समृद्धिकै लागि भनेर दुई तिहाइभन्दा बढी मतको समर्थनमा संविधान संशोधन गरेरै भए पनि आफ्नो समृद्धिको लक्ष्य पूरा गरिछाड्ने भनेर लागेका देखिन्छन् ।
त्यसैले सबैलाई काम लाग्ने, सबै रोगको उपचार गर्न सक्ने यो समृद्धिको नारा गजब छ । अब समृद्धिको भजन गाउन सबैले शुरू गरौं ताकि पछि नपरियोस् । तर, एउटा कुरा नि, राष्ट्रसङ्घले नेपाललाई अल्पविकसित देशमा पो द¥याएको छ त । नेपालले चाहे अहिले एक स्तरमाथि उक्लेर विकासशील देशको दर्जा पाउन सक्छ । त्यसो गर्दा आत्मसम्मान र आत्मविश्वास उक्सिन्छ, तर राष्ट्रसङ्घबाट ऋण र सहयोग भने पाइँदैन क्यारे । शायद त्यसैले सरकार अहिले त्यो उपाधि लिन तयार छैन । यसको मतलब सबै जनताकहाँ समृद्धि पुग्न अझै निकै वर्ष लाग्छ कि क्या हो हँ ?