ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कण्टेनर रोकिँदा लोडिङ प्रभावित

Mar 23, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
वीरगञ्ज । भारत र तेस्रो मुलुकबाट वीरगञ्ज सुक्खा बन्दरगाहमा ल्याइएका कण्टेनर आयातकर्ताले समयमा नउठाउँदा ढुवानी प्रभावित बन्न पुगेको छ । वीरगञ्ज बन्दरगाहमा मालसामान मगाउने केही ठूला आयातकर्ताले कण्टेनर फिर्तामा ढिलाइ गर्दा अन्य आयातकर्तालाई समस्या भएको छ । बन्दरगाहमा आइपुगेका कण्टेनर फिर्तामा ढिलाइ गर्नेमा जगदम्बा स्टील प्रालि सबैभन्दा अगाडि देखिएको छ । बिहीवार कोलकाता बन्दरगाहमा ८ सय कण्टेनर लोडिङका लागि पालोमा राखिएका छन् । त्यति नै सङ्ख्याका कण्टेनर आन्ध्र प्रदेशको विशाखापत्तनम् बन्दरगाहमा रोकिएका छन् । विशाखापत्तनम्मा भने कागजी प्रक्रियामा हुने ढिलासुस्तीले पनि नेपालका लागि आएका कण्टेनर थुप्रिने गरेका छन् । वीरगञ्ज बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बिहीवारसम्म बन्दरगाहमा मालसामान लिएर आएका कण्टेनर ४ सय ८ ओटा पुगेको बताए । तीमध्ये २ सय १३ ओटा २० फीटका छन् । अरू कण्टनेर ४० फीटका छन् । भारतबाट ल्याइएका कण्टेनर ९० ओटा छन् । यी ९० कण्टेनरमा जगदम्बाकै स्पन्ज आइरन छ । ‘आयातकर्ताले समयमा कण्टेनर फिर्ता नगर्दा समस्या भएको छ । वीरगञ्जमा ढिलाइ हुँदा कोलकातामा कण्टेनरको लोडिङ प्रभावित भइरहेको छ,’ चौधरीले आर्थिक अभियानसित भने । सरकारले भन्सार मूल्याङ्कनमा कडाइ गरेपछि बन्दरगाहमा कण्टेनरको चाप बढ्न थालेको हो । आयातकर्ताको बिललाई मान्यता नदिएर भन्सारले सन्दर्भ मूल्य कार्यान्वयनमा ल्याएपछि आयातकर्ताले मूल्याङ्कन बढी भएको भन्दै मालसामान उठाउन विलम्ब गरेका थिए । सरकारले मरीच र चिनीको मूल्याङ्कन पुनरावलोकन गरेपछि अहिले यस्ता मालसामान पास भइरहेको बन्दरगाह भन्सारका अधिकृत धनबहादुर बरुवालले आर्थिक अभियानलाई बताए । केही आयातित मालसामानमा मूल्याङ्कनको समस्या देखिएको भए पनि फलाम उद्योगको कच्चा पदार्थमा भने नभएको भन्सार अधिकृत बरुवालको भनाइ छ । कोलकाता बन्दरगाह व्यवस्थापनले वीरगञ्जमा कण्टेनर अड्किएकाले ¥याक उपलब्ध गराउन नसकिएको बताएको छ । भारतीय रेलवले कोलकाता र विशाखापत्तनम्बाट हिँडेका ९ ओटा ¥याक बाटोमै भएको बताएको छ । कोलकाताबाट २ ओटा ¥याक लोड भइरहेका छन् । वीरगञ्ज बन्दरगाहमा कण्टेनरको जामले ¥याक फिर्ता पठाउन ढिलाइ भइरहेको चौधरीले बताए । नेपालका लागि पठाइएका र्‍याक समयमा फिर्ता नगएपछि रेलवेले लोडिङ रोक्ने गरेको छ । भन्सार मूल्याङ्कनको समस्या सहज भएपछि तेस्रो मुलुकबाट आएका कण्टेनर छुटाउने क्रम भने बढेको भन्सार अधिकृत बरुवालको दाबी छ । बुधवारसम्म बन्दरगाहमा कण्टेनरको सङ्ख्या ६ सयको हाराहारीमा थियो । वीरगञ्ज बन्दरगाहमा एक दर्जनजति आयातकर्ताले बढी मालसामान आयात गर्छन् । यस्ता आयातकर्ताले कण्टेनर फिर्तामा आलटाल गर्दा सानो परिमाणमा आयात गर्नेको कण्टेनर कोलकातामा रोकिने गरेको एक आयातकर्ताले गुनासो गरे । जगदम्बा स्टील प्रालि, मोनेट स्पात, वरुण बेभरेज, पायोनियर होल्डिङलगायतका आयातकर्ताका कण्टेनर बढी रोकिएको बन्दरगाहको तथ्याङ्कमा देखिन्छ । कोलकातास्थित नेपाली महावणिज्यदूत एकनारायण अर्यालले कोलकातामा देखिएको लोडिङ समस्या समाधानको प्रयास भइरहेको बताए । ‘कोलकाता पोर्ट ट्रष्टका अधिकारीहरूले समेत आयातकर्ताले वीरगञ्ज बन्दरगाहमा समयमा कण्टेनर फिर्ता नगर्दा लोडिङ प्रभावित भएको गुनासो गरेका छन्,’ उनले भने, ‘यसबारेमा छलफलका लागि शुक्रबार पारवहन सहजीकरण समन्वय समितिको बैठक राखिएको छ ।’ पारवहनमा देखिने समस्यालाई द्रुतमार्गबाट समाधान गर्न महावाणिज्यदूत अर्यालको संयोजकत्वमा यो समिति बनाइएको थियो । जगदम्बाको गोदाम बन्यो बन्दरगाह वीरगञ्ज बन्दरगाहबाट कण्टेनर उठाउन जगदम्बा स्टीलले सबैभन्दा ढिलाइ गर्दैआएको हिमालयन टर्मिनलले बताएको छ । अहिले पनि बन्दरगाहमा यो उद्योगले भारतबाट ल्याएको ९० कण्टेनर स्पन्ज आइरन थन्किएको छ । मार्च ३ तारिखमा बन्दरगाहमा अनलोड भएका कण्टेनर अझै नउठाएको टर्मिनलका मुख्य कार्यकारी अधिकृत चौधरीले बताए । बाराको सिमरास्थित यो उद्योगले भारतबाट यस्तो कच्चा पदार्थ ल्याउने गरेको छ । जगदम्बाले मोनेट स्पातको नाममा मगाएको १४ ओटा कण्टेनर पनि बिहीवारमात्रै लगेको छ । विगतमा यो उद्योगले बन्दरगाहमा २ महीनासम्म कण्टेनर राख्दैआएको बताइएको छ । गत फेब्रुअरीमा बन्दरगाहमा आइपुगेको कण्टेनरसमेत २ दिनअघिमात्र लगेको छ । वीरगञ्ज बन्दरगाहमा आउने कुल कार्गोमध्ये जगदम्बाको मात्रै ६० प्रतिशत हुने टर्मिनलले बताएको छ । ‘फलामजन्य उत्पादनमा अग्रणी मानिएको यो उद्योगको मनोमानीले अन्य आयातकर्ता मारमा परेका छन्,’ एक आयातकर्ताले गुनासो गरे । बन्दरगाह भन्सार स्रोतले जगदम्बाले आप्mनो उद्योग परिसरमा गोदाम साँघुरो भएकाले बन्दरगाहमै कण्टेनर छोड्ने गरेका दाबी ग¥यो । ‘कण्टेनर लैजान आग्रह गर्दा उद्योग व्यवस्थापनले कच्चा पदार्थ भण्डार गर्ने ठाउँ कम भएको बताउँछ,’ एक भन्सार अधिकारीले बताए । ती अधिकारीका अनुसार उद्योगले मूल फारममा एकैचोटि राजश्व तिरे पनि पटके जाँचपास गराएर कच्चा पदार्थ लैजाने गरेको छ । आयातकर्ताहरू भारतबाट हुने आयातमा कण्टेनरको विलम्ब शुल्क अत्यन्तै न्यून लाग्ने भएकाले उद्योगले बन्दरगाहमै कण्टेनर छोड्ने गरेको बताउँछन् । भारतीय कण्टेनर निगम लिमिटेड (कोन्कर)ले आफूसँग ठूलो परिमाणको व्यापार गर्ने आयातकर्तालाई कण्टेनरमा विलम्ब शुल्क छुट दिने भएकाले त्यस्ता आयातकर्ताले बन्दरगाहलाई नै गोदामको रूपमा दुरुपयोग गर्दैआएका छन् । यो समस्या समाधानका लागि आयातकर्ताले बन्दरगाह सञ्चालनलाई कण्टेनर गोदामको जरीवाना बढाउन सुझाव दिएका छन् । तर, कोन्करकै ४० प्रतिशत साझेदारी रहेको हिमालयन टर्मिनलले सुनुवाइ गरेको छैन । टर्मिनलले बन्दरगाहबाट कण्टेर लैजान २ दिनको समय दिने गरेकोमा विलम्बमा प्रतिदिन एउटा कण्टेनरको १ सय ६० रुपैयाँका दरले जरीवाना लिन्छ । तेस्रो मुलुकबाट ल्याइएका कण्टेनरमा सिपिङ कम्पनीले २१ दिनसम्म समय दिन्छन् । वीरगञ्जसम्म ढुवानी दिने कतिपय कम्पनीले ५ दिनपछि ६ हजार रुपैयाँ दरले विलम्ब शुल्क तिराउँछन् । ठूला भनिएका आयातकर्ताको मनोमानीले औसत आयातकर्ता चौतर्फी जरीवानाको मारमा परेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)