ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फस्टाउँदै बीमा बजार

Mar 23, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । पछिल्लो समय नौओटा नयाँ बीमा कम्पनीको आगमन भएसँगै नेपाली बजारमा बीमाको पहुँच बढ्न थालेको छ । यसअघिको सहित हालसम्म १८ ओटा जीवन बीमा कम्पनी पुगेपछि बीमा कम्पनीहरू पुग्ने क्षेत्र पनि फराकिलो भएको हो । देशव्यापी रूपमा प्रतिस्पर्धी भएर कम्पनीहरूले शाखा विस्तार गर्न थालेका छन् । हालसम्म सबै जीवन बीमा कम्पनीको करीब १ हजार १ सय १ शाखा देशभर फैलिएर रहेका छन् । उक्त शाखामा परिचालन भएको करीब २ हजार ८ सय ७६ कर्मचारी तथा सयौं सङ्ख्यामा रहेका सक्रिय अभिकर्तामार्फत जनमानसमा बीमाबारे चेतना बढेको छ । फलस्वरूप केही वर्षअघिसम्म कुल जनसङ्ख्याको ७–८ प्रतिशतमा पुगेको बीमाको पहुँच यसपटक बढेर १२ प्रतिशत पुगेको छ । अझै वैदेशिक रोजगारमा जाने म्यादी जीवन बीमाको गणना गर्दा कुल जनसङ्ख्याको करीब १४ प्रतिशत बीमाको पहुँच पुगेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको दाबी छ । सरकारले वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रूपमा बीमा गर्नुपर्ने व्यवस्था गरेकाले पनि यसमा बीमा गर्नेको सङ्ख्या बढेको हो । बीमा समितिको तथ्याङ्कअनुसार गत माघ मसान्तसम्ममा उक्त बीमालेखको सङ्ख्या १७ लाख ७६ हजार ६ सय ३५ पुगेको छ । ‘यसअघिको बीमा समितिको ५ वर्षे रणनीतिले बीमालेख २०७५ सालसम्म २५ प्रतिशत पुर्‍याउने भनिए पनि अहिले नै यो असम्भवजस्तै छ, तर यो रफ्तारलाई निरन्तरता दिन सकियो भने केही वर्षमा पुग्न सक्छ,’ अध्यक्ष चापागाईंले भने, ‘नयाँ कम्पनी आएपछि, नयाँ पुरानो दुवैको राम्रो हुँदै गएको छ, प्रतिपस्र्धात्मक रूपमा अगाडि जानुभएको छ । त्यसलाई सहयोग गर्न हामीले जनचेतनामूलक कार्यक्रम अगाडि लग्यौं भने सहयोग हुन्छ । यसैले यसमा जोड दिएका छौं ।’ केही वर्षयता बीमाक्षेत्र निकै उत्साहित भएको र प्रतिस्पर्धाले गुणस्तर बढाएको उनले आँकलन गरे ।

बीमाको वृद्धिदर तुलनात्मक रूपमा बढेकै हो । तर, यसमा जति मूल्यबराबरको बीमा हुनुपर्नेमा नभएको युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णको तर्क छ । ‘बीमा कतिको गर्नुपर्छ भनेर आम मानिसले अझै बुझेको अवस्था छैन । कसैले १० लाखको बीमा गर्ने क्षमता छ भने उसले १ लाखको मात्र बीमा गरेको अवस्था छ । २, ३ प्रतिशतले मात्र मुश्किलले आवश्यक रूपमा बीमा गरेको देखिन्छ,’ उनले भने । बीमा समितिको तथ्याङ्कअनुसार जीवन बीमाअन्तर्गत गत माघ मसान्तसम्ममा रू.२४ अर्ब ३८ करोड ३६ लाख बीमा शुल्क आर्जन भएको छ । यस्तै निर्जीवन बीमाअन्तर्गत १२ अर्ब ५५ करोड २६ लाख रूपैयाँ सङ्कलन भएको समितिले जानकारी दिएको छ । समितिले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा चुक्तापूँजी बढाउनुपर्ने अनिवार्य व्यवस्थाले पनि बीमा क्षेत्रको पूँजीमा सुधार आएको देखिन्छ । बीमा कम्पनीहरूले बजारमा विभिन्न किसिमका नयाँनयाँ योजनाको थालनी गरेकाले पनि बीमितहरू आकर्षित भएको बीमकको भनाइ छ । अझै उक्त योजनाहरूको वितरण प्रणाली सोचेजस्तो नभएकाले अपेक्षा गरेअनुसार व्यवसाय विस्तार हुन नसकेको समितिका अध्यक्षको तर्क छ । जसरी सरकारले मोटर बीमालाई अनिवार्य गरेर यसको प्रभावकारिता बढेको छ । यसको तुलनामा भने जीवन बीमा पुग्न सकेको छैन । जनमानसमा जीवन बीमा बाध्यकारी नभएर वा केहीको आर्थिक अवस्था कमजोर भएर नगरेको हुन सक्छ । तर, बीमा कम्पनीहरू आर्थिक अवस्था सबल भएका पनि बीमा गर्नुलाई प्राथमिकतामा कमै राख्ने गरेको टिप्पणी गर्छन् । यद्यपि, पछिल्लो समय जनमानसमा वि.सं. २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प र यसपछिका पराकम्पनले जनधनको क्षति गरेपछि बीमा आवश्यक छ भन्नेबारे चेतना विस्तार हुन थालेको देखिन्छ । बीमाप्रतिको विश्वास क्रमशः बढ्दै गए पनि केही कम्पनीहरूले दाबी भुक्तानीमा ढिलाइ गर्दा सर्वसाधारणको विश्वासमा आँच आएको समितिका अध्यक्ष चापागाईंले स्थलगत भ्रमणमा पाएको अनुभव सुनाए । तर, बीमा कम्पनीले दाबी भुक्तानीलाई छिटो गर्ने प्रयास गरेको र सर्वेयर खटाएर रिपोर्ट आउनासाथै प्रक्रिया शुरू गर्न थालेको उनी बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)