ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंका २ स्थानमा ‘अण्डर पास वे’ बन्ने

Mar 25, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । काठमाडौं उपत्यकामा चुनौती बन्दै गएको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले सरकारले दुई स्थानमा ‘अण्डर पास वे’ बनाउने भएको छ । सडक विभागले काठमाडौंका अत्यधिक सवारी चाप हुने क्षेत्रमध्ये पहिलो चरणमा महाराजगञ्ज र नयाँ बानेश्वरमा ‘अण्डर पास वे’ बनाउने भएको हो । सवारी चापलाई व्यवस्थित बनाउने उद्देश्यले अण्डर पास वे निर्माणको काम अघि सारिएको विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए । उनले अहिले गरिएको अध्ययनअनुसार सवारीसाधनको अत्यधिक चाप हुने यी दुई स्थानमा अण्डर पास वे निर्माणका लागि प्रक्रिया शुरू गरिएको बताए । उनले भने, ‘अण्डर पास वे निर्माणका लागि हामीले परामर्शदातालाई डिटेल डिजाइनका लागि आह्वान गरिसकेका छौं, उनीहरूले असारसम्ममा प्रतिवेदन बुझाउने छन् ।’ विभागले सोही प्रतिवेदनअनुसार अण्डर पास वे निर्माणको काम शुरू गर्ने उनले जानकारी दिए । अण्डर पास वेमार्फत पनि सवारी चापलाई कम गराउन सकिने भए पनि त्यसको उपयोगमा भने सरकारले खासै चासो भने देखाएको छैन । पछिल्ला समयमा दिन प्रतिदिन काठमाडौं उपत्यकामा बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्न सरकारले अझै पनि वैकल्पिक मार्गहरूको पहिचान गरेको छैन । मुख्य सडकबाहेक अन्य वैकल्पिक मार्ग सञ्चालन गर्ने भन्दै सरकारले धोबीखोला र बागमती कोरिडोर निर्माणलाई प्राथमिकता दिए पनि प्रभावकारी रूपमा काम भने हुन सकेको छैन । अहिले चक्रपथ विस्तार हुँदै गरेको कलङ्कीमा निर्माणाधीन अण्डर पास वे त्रिपुरेश्वर–नागढुङ्गा सडक खण्डको विस्तारका कारण पनि यातायात व्यवस्थापन चुनौतीपूर्ण छ । अर्काेतर्फ सडक विस्तारमा देखिएको अन्योल र स्थानीय बासिन्दाको अवरोधका कारण पनि अहिले काठमाडौं उपत्यकामा सवारी व्यवस्थापन मुख्य समस्या बन्दै आएको छ । यसैबीच कलङ्कीमा निर्माणाधीन रहेको अण्डर पास वे छिटै सञ्चालनमा आउने भएको छ । चिनियाँ सरकारको अनुदानमा बनेको उक्त अण्डर पास वे २० दिनमा सञ्चालन हुने विभागअन्तर्गतको वैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अण्डर पास वेको ९० प्रतिशत काम सम्पन्न भएको छ, अबको १५/२० दिनमा नै सञ्चालनमा आउनेछ ।’ कलङ्कीको खसीबजारदेखि बाफलसम्म कुल ८ सय मिटरको यो अण्डर पास वे सञ्चालनमा आएपछि हाल हुँदै आएको कलङ्कीको ट्राफिक जाम कम हुने दाबी महाशाखाको छ । अहिले अत्यधिक मात्रामा कलङ्की सडक खण्डमा ट्राफिक जाम हुँदै आएको छ । यसले गर्दा दैनिक यात्रा निकै कष्टपूर्ण हुने गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)