ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनी–जोमसोम–कोरला सडक आयोजनालाई ३० करोड बजेट थप

Mar 25, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

चैत ११, म्याग्दी । ४ नं प्रदेशको जीवनरेखा मानिएको बेनी–जोमसोम–कोरला सडक आयोजनालाई थप रू. ३० करोड बजेट प्राप्त भएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत चारओटा प्याकेजलाई सहज बनाउन अर्थमन्त्रालय मार्फत रू. ३० करोड बजेट प्राप्त भएको हो ।

उत्तर–दक्षिण अन्तरदेशीय व्यापारिक महत्वको सडक आयोजनालाई गत असोज महीनाबाट बजेट बिनियोजन नहुँदा मजदुरले समेत काम छोड्न थालेका थिए । आयोजनाका प्रमुख नरेन्द्र सुवेदीका अनुसार बेनी–जोमसोम सडकखण्ड अन्तर्गत रहेका चारओटा प्याकेजको बिल भुक्तानी गर्न सहज हुने गरी बजेट प्राप्त भएको हो । ‘जोमसोमदेखि लोमान्थाङसम्मको काम पनि अगाडी बढ्छ’ सुवेदीले भने ।

राष्ट्रिय गौरवको आयोजनालाई बजेट अभाव हुन नदिने सरकारको प्रतिवद्धताले समेत काम गर्न सहज भएको उनले बताए । जोमसोमदेखि कोरला नाकासम्म चारओटा प्याकेजमा काम हुने प्रमुख सुवेदीको भनाई छ । उपल्लो मुस्ताङको स्थलगत अनुगमनमा रहेका सुवेदीले सडक विस्तारमा स्थानीयबासीको सहभागिताले थप सहज भएको बताए । थप गरिएको रू. ३० करोड बजेटबाट ठेकेदार कम्पनीको बील भुक्तानी गरिने आयोजनाले जानकारी दिएको छ ।

करिडोर अन्तर्गत पहिलो प्याकेज बेनी–भुरुङ तातोपानीसम्म शर्मा यूनाइटेड जेभी, दोस्रो र तेस्रो प्याकेज शर्मा गजुरमुखी जेभी र चौथो प्याकेज अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङबाट जोमसोमसम्म कोशी कन्ट्रक्सनले जिम्मा लिएको छ । लामो समयसम्म आयोजनाबाट खर्च गरिएको बिलको समेत भुक्तानी नभएपछि कम्पनीले आफ्नै कम्पनी र ऋण खोजेर काम गरेको शर्मा गजुरमुखी जेभीका सुपरभाइजर इनद्रसिंह शेरचनले बताए ।

‘बजेट निकासीको जानकारी भएलगत्तै मजदुर समेत फर्किन थालेका छन् । अब निर्माणकार्य थप सहज हुन्छ’ शेरचनले भने । बेनी –जोमसोम– कोरला सडक अन्तर्गत १ सय ८६ किलोमिटरमा ११ मिटर फराकिलो दुई लेनको कालोपत्रे सडकका लागि भिर कटिङ, रिटेनिङ वाल, तारजाली सहित सडकलाई दिगो बनाउन इन्जिनियरिङ सहित सडक विस्तारमा गरिएको सम्झौता अनुसार काम भइरहेको छ । अघिल्लो सरकारले आयोजनाका लागि विनियोजन गरेको रू. ५५ करोड बजेट सकिएको थियो ।

बेनी–घाँसा खण्डमा डीबिएसडी र घाँसादेखि जोमसोमसम्म असपाल्ट प्रविधिको कालोपत्रे गरिने छ । नालीसहित ११ मिटर चौडाई रहने सडकको ७ मिटर चौडाइमा कालोपत्र गरिने छ । छिमेकी देश भारत र चिनलाई जोड्ने सडकखण्ड अन्तर्गत उत्तरी म्याग्दीमा सडक आयोजनाका साथै जलविद्युत आयोजना, विद्युत प्रशारण लाईनको निर्माणकार्यले समेत तिब्रता पाएको छ । यसैबीच सडकखण्ड अन्तर्गत रहेका बेलीब्रिजलाई समेत विस्थापित गरी पक्की पुलको काम समेत भइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)