सन् १९९९ मा प्रदर्शन गरिएको हलिउड फिल्म ‘द म्याट्रिक्स’ले त्यस समयमा निकै हलचल मच्चाएको थियो । विज्ञानकथालाई नयाँ रुप दिँदै प्रसिद्ध नायक केनु रिभ्स अभिनित उक्त फिल्ममा हाम्रो भौतिक अवस्थितिलाई कम्प्युटर प्रणालीभित्रै राख्न सकिने (सिमुलेशन) देखाइएको थियो । तर, द म्याट्रिक्स फिल्ममा देखाइएको उक्त सिमुलेशन अब यथार्थ जीवनमै पनि गर्न सकिने भन्दै केही वैज्ञानिकहरु प्रयोगमा जुटेको थाहा भएको छ । गतमहीना जर्मन भौतिकशास्त्रीहरुको एक समूहले प्रस्ताव गरेको शोधलाई अमेरिकाको वाशिङटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले समर्थन गरेपछि सम्पूर्ण ब्रह्माण्डलाई एक कम्प्युटरमा ‘सिमुलेट’ गर्ने प्रयासले ठोस आकार पाउने देखिएको छ ।
‘यो सिमुलेशनका लागि प्रयोग गर्न सकिने पहिलो आधारभूत ढाँचा तयार पारिएको छ,’ वाशिङटन विश्वविद्यालयका भौतिकशास्त्र प्राध्यापक मार्टिन स्याभेजले भने । यसबारेका अघिल्ला अवधारणाहरुमा अणुको न्युक्लियसजस्तो सानो एकाइको कम्प्युटर सिमुलेशन गर्न सकिने पत्ता लगाइए पनि नयाँ प्रविधिले निकै ठूलो वस्तुलाई पनि सिमुलेट गर्न सकिने देखिएको स्याभेजले बताए । ‘यदि यो सिमुलेशनलाई विस्तार गरियो भने ब्रह्माण्डजस्तो विशाल आकार हासिल हुन सक्छ,’ उनको भनाइ थियो । यी भौतिकशास्त्रीहरुका अलावा कोर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पनि ब्रह्माण्डको सिमुलेशनमा आधारित एक जटिल प्रयोग विधि तयार गरेका छन् । उनीहरुले ‘ल्याट्टिश क्वाण्टम क्रोमोडाइनामिक्स’ नामक एक प्रविधिको प्रयोग गर्दै सिमुलेशनका ढाँचाहरु तयार पारेका छन् ।
मानव जीवन र सम्पूर्ण ब्रह्माण्डलाई नै कम्प्युटर प्रणालीभित्र राख्न सकिने अवधारणा पहिलोपटक सन् २००३ मा अक्सफोर्ड विश्वविद्यालयका दर्शनशास्त्र प्राध्यापक निक् बोस्ट्रोमले अघि सारेका थिए । ‘द सिमुलेशन आर्गुमेण्ट’ शीर्षकमा उनले प्रकाशित गरेको एक लेखमा मानिसहरु निश्चित रुपमै कम्प्युटर सिमुलेशनभित्रै बाँचिरहेको दाबी गरिएको थियो ।