मापसे गरेर सवारी चलाउँदा दुर्घटनामा त परिन्छ नै । साथै, ट्राफिक कारबाहीमा पनि परिन्छ । तर, कुनै कारले मापसे गरेकालाई चलाउन दिँदैन भन्ने कुरा सुनियो भने तपाईंलाई कस्तो लाग्छ ? चीनको एक अटोनिर्माता कम्पनीले यस्तै नयाँ प्रविधिको कार सार्वजनिक गरेको छ । मिनिबस, भ्यान र युटिलिटी ट्रक निर्माता कम्पनी सोकोन इण्डष्ट्री ग्र्रूपको सहायक कम्पनी एसएफ मोटर्सले आफ्नो पहिलो विद्युतीय कार ‘एसएफ५’ सार्वजनिक गरेको छ । उक्त कार ६० मिल प्रतिघण्टाको रफ्तारमा कुद्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकारी जोन चाङले कार सार्वजनिक गर्ने क्रममा बताएका हुन् । यस कारमा प्रस्तावित एक विशेष फिचर भनेको यसमा जडान भएको ड्राइभर मोनिटरिङ सिष्टम हो । यसले चालकले मापसे गरेको पत्ता लगाउँछ र तुरुन्तै कार चलाउनबाट रोक्छ । ‘हाम्रो लक्ष्य भनेको अबको पुस्तालाई विद्युतीय सवारीको पुस्ता बनाउनु हो र प्रदूषण घटाएर वातावरलाई सुरक्षित पार्नका लागि थप विद्युतीय सवारीको आवश्यकता पर्छ,’ जोनले भने । यसको मतलब ब्याट्रीबाट चल्ने प्रविधिको जडान र बाहिरी आवरण राम्रो हुनुमात्र नभई यसमा बौद्धिकता पनि समावेश हुनु हो । हाल एसएफमोटरर्सले अमेरिकाको युनिभर्सिटी अफ मिशिगन र क्यालिफोर्नियास्थित अनुसन्धान तथा विकास केन्द्रमा विद्युतीय सवारीको सेमि–अटोनोमस भर्जनको विकास गर्दै छ । यसको उत्पादन अमेरिका र चीन दुवै राष्ट्रमा गर्ने कम्पनीको योजना रहेको छ भने यो वर्षको अन्त्यबाट यस कारको प्रिअर्डर शुरू हुने कम्पनीको भनाइ छ । त्यस्तै, सन् २०१९ बाट यो कार सडकमा गुडाउने कम्पनीको योजना छ । एजेन्सी