साना केटाकेटी हुन् वा जवान, वयस्क अथवा वृद्धवृद्धा नै किन नहुन्, चकलेट जोकोहीलाई मन पर्छ । तर, हामी सबैले मीठो मानेर खाने यो खानेकुराले वातावरणमा भने उल्लेख्य हानि पुर्याइरहेको हुन सक्ने एक अध्ययनले देखाएको छ । वैज्ञानिकहरूका अनुसार बेलायती चकलेट उद्योगले वर्षेनि २१ लाख टन हरितगृह ग्यास उत्पादन गरिरहेको छ । अध्ययनमा युनिभर्सिटी अफ म्यान्चेष्टरका अनुसन्धाताहरूले चकलेट बनाउन प्रयोग गरिने सामग्री, उत्पादन प्रक्रिया, प्याकेजिङ र ठोस फोहोरले वातावरणमा पार्ने प्रभावको आकलन गरेका थिए । बेलायतको चकलेट उद्योगले मात्रै हरेक वर्ष २१ लाख टन हरितगृह ग्यास उत्पादन गरिरहेको आकलन अध्ययनले गरेको छ । यो उत्तरी आयरल्याण्डको राजधानी बेलफाष्टको आकारबराबरको शहरमा वर्ष दिनमा हुने उत्सर्जनबराबर हो । एउटा चकलेट बार उत्पादन गर्न करीब १ हजार लिटर पानी लाग्नेसमेत अध्ययनले देखाएको छ । त्यसैगरी, हरेक वर्ष बेलायतमा एकजना व्यक्तिले औसतमा करीब आठ केजी चकलेट खाने गरेको पाइएको छ । चकलेट उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थका साथै प्याकेजिङले पनि वातावरणमा सबैभन्दा बढी क्षति पु¥याउने गरेको पाइयो । ‘हामी सबैजना चकलेट एकदमै मन पराउँछौं, तर कोका बिनबाट हामीले पसलमा किन्ने गरेको चकलेट बनाउने क्रममा के हुन्छ भन्ने चाहिँ हामी कहिल्यै सोच्दैनौं,’ युनिभर्सिटी अफ म्यान्चेष्टरका प्राध्यापक एडिसा एजापेजिकले भनिन् । कोका विशेषगरी पश्चिम अफ्रिका र मध्य एवम् दक्षिण अमेरिकालगायत आद्र मौसमी अवस्था भएका स्थानमा मात्रै खेती गरिन्छ । यसलाई त्यहाँदेखि लामो दूरी पार गरेर बेलायतमा ल्याउनुपर्छ । अन्तरराष्ट्रिय कोका अर्गनाइजेशनका अनुसार सन् २०१६ मा ४२ लाख ५० हजार टन कोका बिन उत्पादन भएको थियो । सो अवधिमा विश्वभर अनुमानित १ खर्ब १ अर्बबराबरको चकलेट विक्री भएको थियो । मिल्क चकलेटमा प्रयोग हुने मिल्क पाउडर बनाउन पनि निकै ऊर्जा खर्च हुन्छ । गाईले प्रतिलिटर दूध दिने क्रममा निकै हरितगृह ग्यास उत्सर्जन गर्दछ । यस्ता कुराले पनि चकलेटको वातावरणीय प्रभाव थप बढाएको प्रतिवेदनमा उल्लेख छ । यस अध्ययनको प्रतिवेदन फूड रिसर्च इण्टरनेशनल नामक जर्नलमा समेत सार्वजनिक भइसकेको छ । रासस/पीटीआई