ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यायको माग गर्दै सर्वाेच्चमा युनाइटेड इन्स्योरेन्स

Apr 3, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा समिति र उच्च अदालतको निर्देशनविरुद्ध युनाइटेड इन्स्योरेन्सले सर्वाेच्चमा मुद्दा दर्ता गरेको छ । अदालतको निर्देशनले अग्नि बीमा कारोबार रोकिन सक्ने भएपछि युनाइटेड इन्स्योरेन्सले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको हो । युनाइटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले अग्निबीमा कारोबार नरोकियोस् भनेर चैत १८ गते (आइतवार) सर्वाेच्च अदालतमा मुद्दा दर्ता गराएको बताए । विसं २०७१ मा बीमा समितिले युनाइटेडलाई अग्निबीमा कारोबारमा रोक लगाएको थियो । बरालका अनुसार तत्कालीन पुनरावेदन अदालतले बीमा समितिको निर्देशनविरुद्ध अन्तरकालीन आदेश जारी गर्दै अग्निबीमा सञ्चालन गर्न आदेश दिएको थियो । उनले भने, ‘नियामक निकाय भएकाले समितिले फेरि पनि अग्निबीमा कारोबारमा रोक लगाउन सक्छ भनेर त्यसको विरुद्धमा कम्पनी उत्रिएको हो ।’ उनले उच्च अदालतको निर्देशनले बीमा कम्पनीलाई नोक्सानी हुने बताए । चौधरी ग्रूपको २४ करोड चाहिँदैन भन्ने कुरा हल्ला मात्र भएको बताउँदै उनले कम्पनीको ध्यान पैसामा भन्दा पनि सेवामा गएको बताए । उक्त पैसा आए पनि पुनर्बीमामार्फत विदेशिने उनको भनाइ थियो । अदालतको निर्देशन कार्यान्वयन भएमा कानूनतः युनाइटेड इन्स्योरेन्सलाई अग्नि कारोबारमा रोक लगाउनुपर्ने बीमा समितिले बताएको छ । बीमा ऐन, २०४९ को दफा १२ को उपदफा ‘क’ अनुसार समितिले बीमकले गर्दै आएको बीमा व्यवसायअन्तर्गतको कुनै पनि किसिमको व्यवसायलाई पूर्ण वा आंशिक रोक लगाउन सक्नेछ । यदि कुनै बीमा व्यवसायमा रोक लगाइएमा बीमकले यस्तो अवस्था विद्यमान नरहने भनी समितिमा प्रमाण पेश गर्नुपर्ने हुन्छ । बीमकले पेश गरेको प्रमाण सन्तोषजनक देखिएमा समितिले तोकिएअनुसारको जरीवाना गरी उक्त रोक फुकुवा गर्न सकिने व्यवस्था ऐनमा रहेको छ । यस्ता समस्या विगतमा एभरेष्ट इन्स्योरेन्स, लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले पनि भोग्नुपरेको समितिले बताएको छ । केही वर्षअगाडि राजेन्द्र मायोज फ्याक्ट्रीमा आगलागी हुँदा सर्भेयरको प्रतिवेदनविना नै एभरेष्टले ४ करोड दाबी भुक्तानी गरेको थियो । सोही प्रकरणमा एभरेष्टलाई अग्निबीमा कारोबारमा रोक लगाइएको समितिले जानकारी दिएको छ । एभरेष्ट इन्स्योरेन्स र मायोज दुवैमा एउटै समूहको प्रत्यक्ष लगानी थियो । गत मङ्गलवार उच्च अदालत पाटनले बीमा समितिलाई चौधरी ग्रूपबाट युनाइटेड इन्स्योरेन्सको २४ करोड रुपैयाँ असुल्न निर्देशन दिएको थियो । समितिको प्रतिवेदनको आधारमा अदालतले यस्तो आदेश दिएको थियो । अदालतले पूर्ण पाठ तयार पार्दै बीमा समितिलाई पत्राचारसमेत गरेको थियो । साथै अदालतले सर्भेयर र अण्डराइटरलाई पनि ३/३ हजार जरीवाना तोकेको छ । २०६९ साल असोजमा सतुङ्गलमा रहेको चौधरी ग्रूपको एक कारखाना तथा गोदाममा विद्युत् सर्ट भई आगलागी भएको थियो । सीजीले आगलागीमार्फत ८४ करोडको क्षति भएको दाबी गरे पनि सर्भेयर र अण्डराइटरले ५८ करोड क्षति भएको प्रतिवेदन तयार पारेका थिए । उक्त घटनामा ५८ करोड पनि क्षति नभएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीको आधारमा अख्तियारले समितिलाई छानविन गर्न निर्देशन दिएको थियो । समितिको छानविन टोलीले भने उक्त आगलागीमा ३४ करोड मात्र क्षति भएको प्रतिवेदन निकाल्यो । अदालतले समितिको सोही प्रतिवेदनलाई सदर गर्दै सीजीको दाबी किर्ते भएको फैसला गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)