सुर्खेत विमानस्थलमा बुद्ध एयरको परीक्षण उडान, वैशाख १ गतेदेखि सुर्खेत–काठमाडौं नियमित उडान
Apr 4, 2018
 
समाचार
मुख्य खबर
चैत २१, सुर्खेत । बुद्ध एयरले बुधवार सुर्खेत विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान सफल गरेको छ । आगामी वैशाख १ गतेदेखि नियमितरुपमा सुर्खेतदेखि काठमाडौंसम्मको सिधा हवाई उडान शुरु गर्नका लागि बुधबार सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो । बुद्ध एयरको ४७ सिटे मध्यम् जहाजले सफल परीक्षण उडान गरेपछि सुर्खेत–काठमाडौं नियमित सिधा हवाई उडान हुने पक्का भएको हो । यसअघि यति ठूलो जहाज सुर्खेत विमानस्थलमा अवतरण भएको थिएन् ।
बुधवार विहान १० बजे बुद्ध एयरको ४७ सिटे ९ एन—एआइएन विमान प्राविधिक तथा विज्ञसहितको टोलीले सुर्खेत विमानस्थलको पाँच फन्का घुमेर अवलोकन गरेको थियो । सफल उडानसहित अवलोकन गरेपछि फ्लाइट इन्जिनियर उदयकृष्ण श्रेष्ठले ४७ सिटे जहाज अब सुर्खेतबाट सञ्चालन गर्न सकिने जनाए । बुद्धको परीक्षण उडानसँगै विमानस्थलको धावन मार्गलगायत अन्य प्राविधिक दृष्टिले ४७ सिटे जहाजहरु अब सुर्खेत विमानस्थलमा सहजतापूर्वक अवतरण हुने भएका छन् ।
बुद्ध एयरका क्याप्टेन रञ्जनकुमार शर्माले परीक्षण उडान सफल भएकोले नियमित उडान गर्न कुनै समस्या नभएको बताए । ४७ सिटे भन्दा अझ ठूला जहाजका लागि धावनमार्ग विस्तार गर्नुपर्ने भन्दै उनले मध्यम स्तरका जहाजका लागि भने अहिले कुनै कठिनाइ नभएको बताए । विमानस्थल प्रमुख विनोदकुमार पन्तले पनि बुद्ध एयरको परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आफू विश्वस्त रहेको बताए ।
त्यस्तै बुद्ध एयरको ४७ सिटे परीक्षण उडान सफल भएपछि सुर्खेतका उद्योगी व्यवसायीहरुले स्वागत गरेका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश अधिकारीले व्यवसायीहरुले विगतदेखि नै सुर्खेत–काठमाडौं उडानको माग गरिरहेको भन्दै ढिलै भएपनि नियमित सेवा शुरु भएकोमा खुशी प्रकट गरे । त्यस्तै कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले पनि बुद्ध एयरका चालकसहितलाई स्वागत गरेका थिए ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री, वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाललगायतले स्वागत गर्दै प्रदेश राजधानीदेखि सङ्घीय राजधानीसँग सिधा सम्पर्क बढे समृद्धि बढ्ने बताएका थिए ।