स्मार्टफोन प्रयोग गर्ने सहि उमेर कुन हो भन्ने कुराको निर्णय गर्न अभिभावक लगायतका सरोकारवालाहरु विचारधीन रहि नै रहेका छन् । यस्तो समयमा बेलायतमा चार बालबालिकामध्ये एक जना ६ वर्षमुनिका बालबालिकासँग स्मार्टफोन रहेको एक नयाँ अध्ययनले देखाएको छ । आधुनिक रेष्टुराँ म्यागपाईको अनलाइन व्यापारका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनअनुसार ६ वर्षमुनिका २५ प्रतिशत बालबालिकासँग आफ्नै मोबाइल रहेको र यीमध्ये झण्डै आधाजतिले प्रतिहप्ता २१ घण्टा मोबाइल चलाएर बिताउने गरेको अध्ययनले देखाएको छ ।
तीन चौथाईभन्दा बढी अभिभावकले आफ्नो बच्चाको पहिलो फोनको लागि ५ सय पाउण्डसम्म तिरेको बताएका छन् । ‘अधिकांश अभिभावकले आफ्नै मोबाइल हुनका लागि ११ वर्ष उपयुक्त उमेर भएको बताएका भएपनि २५ प्रतिशत ६ वर्ष वा सोभन्दा मुनिका बालबालिकासँग पहिल्यै नै आफ्नै मोबाइल फोन भएको पाइयो,’ एक अनुसन्धानकर्ता लियाम हाउलीले भने । आफ्नै मोबाइल फोन प्राप्त गर्ने उमेर झन् झन् घट्दै गइरहेको र केही अभिभावकहरुले भने बच्चालाई मोबाइल दिनका लागि यो नै सहि उमेर हो भनेर भनिहाल्न नमिल्ने पनि अभिव्यक्ति दिएका छन् । १० मध्ये ८ जना अभिभावकले आफ्ना बच्चाले मोबाइल चलाउने समय नतोक्ने गरेको अध्ययनमा पाइयो ।
बढीभन्दा बढी बालबालिका मोबाइलप्रति आशक्त भइसकेका छन् र विश्वका प्रायः सबै अभिभावक उनीहरुलाई स्क्रिन लतबाट बाहिर कसरी ल्याउने र गृहकार्य र खेलबीच सन्तुलन कसरी ल्याउने भन्ने कुराले पिरोलिएका छन् । युवाहरु धेरै स्मार्टफोन र अन्य विद्युतिय स्क्रिनमा जति धेरै समय बिताउँछन् त्यति नै धेरै उनीहरु निराश हुने र आत्महत्या गर्ने तर्फ अग्रसर हुने गरेको हालै भएको एक अध्ययनले देखाएको छ । ‘स्क्रिनमा बिताउने समयलाई निराशावाद र आत्महत्या निम्त्याउने खतराको सूचकका रुपमा पनि लिन सकिन्छ,’ अमेरिकास्थित फ्लोरिडा स्टेट युनिभर्सिटिका प्राध्यापक टोमस जोइनरले भने ।