ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फाष्ट ट्र्याकको डीपीआर बनाउन प्रक्रिया शुरू

Apr 10, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । काठमाडौं–तराई/मधेश फाष्ट ट्र्याक (द्रुतमार्ग)को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन नेपाली सेनाले प्रक्रिया शुरू गरेको छ । औपचारिक रूपमा द्रुतमार्गको शिलान्यास भएको १० महीनापछि सेनाले डीपीआर बनाउन स्वदेशी तथा विदेशी कम्पनीहरूलाई निवेदन दिन आग्रह गरेको हो । सेनाले द्रुतमार्गको डीपीआर बनाउनका लागि सम्भावित विभिन्न कम्पनीलाई एक्सप्रेशन अफ इण्ट्रेष्ट (ईओआई) उपलब्ध गराउन १५ दिने म्याद दिएको छ । १५ दिनभित्रमा ईओआई उपलब्ध गराउने गरी सेनाले यही चैत १४ गते सूचना जारी गरेको हो । सेनाका प्रवक्ता गोकुल भण्डारीले द्रुतमार्गको डीपीआर निर्माणका लागि प्रक्रिया शुरू गरिएको भन्दै त्यसका लागि अहिले स्वदेशी तथा विदेशी कम्पनीहरूबाट ईओआई उपलब्ध गराउन आह्वान गरिएको जानकारी दिए । उनले भने, ‘ती कम्पनीले १५ दिनभित्रमा दिने निवेदनका आधारमा छनोट गरी डीपीआर बनाउने काम अघि बढाउनेछौं ।’ आर्थिक वर्ष (आव) २०६५/६६ मा घोषणा गरिएको उक्त राष्ट्रिय गौरवको आयोजना द्रुतमार्ग ४ वर्षमा सम्पन्न गर्ने गरी सरकारले गत जेठ १४ गते नेपाली सेनालाई हस्तान्तरण गरेको थियो । यस्तै उनले द्रुतमार्ग निर्माणको क्रममा देखिएको मुआब्जाको अधिकांश समस्या समाधान भएको बताए । ‘ललितपुरका केही ऐतिहासिक क्षेत्रमा मुआब्जाको समस्या समधान हुन सकेको छैन, उनले भने, ‘खोकनाको ऐतिहासिक स्थान कुदेश र श्रीपालीको मन्दिरलगायत पुराता त्त्विक महत्त्वका संरचनाहरूलाई यथावत् राखी मुआब्जा विवादलाई सरलीकरण गर्न छलफल गरिएको छ ।’ सेनाले ऐतिहासिक क्षेत्रलाई नमास्ने गरी त्यस क्षेत्रमा पुनः रेखाङ्कन गर्ने विषयमा पनि छलफल गरेको छ । द्रुतमार्ग निर्माण गर्दा पुराना र ऐतिहासिक महत्त्व बोकेका शहरहरू मासिने भन्दै त्यस क्षेत्रका स्थानीय बासिन्दाहरू पनि आन्दोलनमा उत्रिएका छन् । उक्त विषयलाई सम्बोधन गर्न पनि यस्तो गृहकार्य गरिएको हो । यस्तै सेनाले द्रुतमार्गको मार्गाधिकार (राइट अफ वे)भित्र परेका काठमाडौं तथा मकवानपुर जिल्लाका निजी तथा ऐलानी जग्गाहरूको मुआब्जा र घरटहराको क्षतिपूर्ति वितरणको अधिकांश कार्य सम्पन्न गरेको छ । तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य राखेर अघि बढिएको सेनाले हाल २० स्वदेशी निर्माण व्यवसायीलाई विभिन्न स्थानहरूमा कार्य गर्ने गरी कण्ट्र्याक्ट अवार्ड गरेको छ । अन्य ३ निर्माण व्यवसायीहरू प्रक्रियामा रहेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)