कतिपय कम्पनीहरुले कार्यालय समयमा आफ्ना कर्मचारीहरुमाथि इण्टरनेट सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने गर्छन् । फेसबूकलगायतका वेबसाइटले काममा बाधा उत्पन्न हुने जिकीर गर्दै उनीहरु त्यस्तो गरिएको बताउँछन् । तर, हालै भारतको चेन्नई शहरमा आयोजित एक मानव संसाधन (एचआर) सम्मेलनमा सहभागी कम्पनीका थुप्रै उच्च अधिकारीहरुले भने सामाजिक सञ्जालका फाइदाहरुलाई ध्यान दिन आग्रह गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल प्रयोगबाट कर्मचारीहरुको व्यवहार थाहा पाउन सकिने र उपयुक्त शीप भएका मानिसहरु भर्ती गर्न सकिने औंल्याएका छन् ।
‘तपार्इंलाई आफ्ना कर्मचारी के गर्दैछन् अथवा के विषयमा कुरा गर्छन् थाहा हुनु आवश्यक छ, उनीहरुले कम्पनीको प्रशंसा वा गुनासो जे गरे पनि त्यसबारे तपार्इं अवगत हुनु जरुरी छ,’ बैङ्ग्लोरमा मुख्यालय भएको विज्ञापन तथा सञ्चार एजेन्सी अटम वल्र्डवाइडकी प्रमुख कार्यकारी अधिकृत अनुशा शेट्टीले भनिन् । कर्मचारीहरु कुनै पनि कम्पनीको ‘ब्राण्ड एम्बेसेडर’ भएकाले उनीहरुका व्यक्तिगत रूचिलगायतका विषयमा व्यवस्थापनले राम्रो ज्ञान राख्नुपर्ने उनले बताइन् ।
‘कार्यालयभित्र सामाजिक सञ्जाल साइटको प्रयोग रोक्नुभन्दा त्यसबाट प्राप्त हुने अवसरलाई हेरिनुपर्छ’, शेट्टीको कथन थियो । सामाजिक सञ्जालले एक मञ्च तयार गर्ने, जहाँ कर्मचारीहरुले आफ्ना विचारको आदानप्रदानका साथै व्यापारिक योजनाहरु पनि व्यक्त गर्ने उनको भनाइ थियो । त्यसैगरी फेसबूक र लिङ्क्डइनजस्ता साइटमा खाता खोलेका उम्मेदवारको प्रोफाइल र त्यसबारे अरुले गरेका टिप्पणीबाट उपयुक्त शीप भएका कर्मचारी भर्ती गर्न सकिने अनुभव उनले सुनाइन् । युवा उमेरका कर्मचारीलाई कुनै प्रकारको प्रतिबन्धले पनि नछेक्ने बताउँदै स्मार्टफोनबाटै सामाजिक सञ्जाल साइटहरु गर्नेको सङ्ख्या धेरै रहेको उनले उल्लेख गरिन् ।
त्यसैगरी सफ्टवेयर तथा सूचनाप्रविधि परामर्शदाता कम्पनी युनिमिटी सोलुशन्सका बजार व्यवस्थापन तथा विक्री विभागका उपाध्यक्ष भिनु जोनीले सामाजिक सञ्जाल कुनै पनि कम्पनीको व्यवस्थापन र कर्मचारीलाई जोड्ने एक राम्रो साधन रहेको बताए । ‘सामाजिक सञ्जालमा आधारित मञ्चहरुले संस्थाहरुमा कार्यरत मानिसलाई एकअर्कासँग सम्बन्ध स्थापित गर्नुका साथै पहिचान बनाउन र अपनत्व स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्छ,’ उनले बताए । त्यस्ता मञ्चमा गरिने छलफलबाट आर्जित ज्ञानले संस्थाहरुलाई नै लाभ पुग्ने जोनीको भनाइ थियो । भारतमा सामाजिक सञ्जालमा आबद्ध हुनेहरुको सङ्ख्या केही वर्षयता ह्वात्तै बढेको छ । एक अनुमानअनुसार त्यहाँ फेसबूक र लिङ्क्डइनका सक्रिय प्रयोगकर्ताको सङ्ख्या क्रमशः साढे ६ करोड र डेढ करोड पुगेको छ ।