विगत डेढ दशकको अवधिमा नेपालमा दुईपाङ्ग्रे सवारी साइकलको प्रयोग निकै घटेको छ । आम्दानीमा भएको वृद्धि र देखाउनकै लागि मात्र भए पनि ‘फेशन स्टेटमेण्ट’का रुपमा विशेषगरी युवाहरुले मोटरसाइकल, स्कूटर र त्यसपछि कार रोज्ने गरिरहेका छन् । तर, आर्थिक महाशक्ति बन्ने दौडमा लम्किएको चीनमा भने धनाढ्य र सम्पन्न नागरिकको चाहना साइकल बन्दै गएको देखिन्छ ।
रोयटर्सले प्रकाशित गरेको एक समाचार रिपोर्टअनुसार एक चिनियाँ कम्पनीले आफ्ना कर्मचारीहरुलाई वर्षको अन्त्यमा दिने बोनसस्वरुप साइकल दिन हङकङस्थित एक निर्मातालाई १ हजारओटा महँगा साइकल ‘अर्डर’ गरेको छ ।
कोम्दा बाइसाइकल्सका प्रबन्ध निर्देशक एडम वोङले यस्तो अर्डर दिने कम्पनीको नाम नखुलाए पनि ती साइकलको औसत मूल्य ३ हजार युआन (४ सय ८० अमेरिकी डलर) भएको जानकारी दिए । ‘मानिसहरु मदिरा र चुरोटजस्ता परम्परागत उपहार दिँदादिँदा दिक्क भइसकेका छन् । मेनल्याण्ड चीनका मानिसहरुका लागि साइकल एक यस्तो उपहार बनेको छ, जसले उनीहरुको फरक जीवनशैलीलाई दर्शाउँछ,’ उनले भने ।
धनी चिनियाँहरु अत्याधुनिक प्रविधियुक्त महँगा साइकल किन्न लालायित भइरहेका छन् । खुला र उदार आर्थिक नीति अवलम्बन गर्नुअघि यातायातको प्राथमिक साधन साइकललाई उनीहरुले नयाँ ढङ्गले लिइरहेको रिपोर्टमा उल्लेख छ । सन्तोषजनक आम्दानी गरिरहेका मध्यमवर्गका कर्मचारी मात्र नभई चिनियाँ कम्पनीका थुप्रै उच्च अधिकृतहरुले पनि साइकल किनिरहेका छन् ।
बेइजिङस्थित एक नाम चलेको विज्ञापन एजेन्सीका ‘क्रिएटिभ’ विभाग निर्देशक ४० वर्षीय यु यिग्वुन यस्तै उच्च अधिकृतको वर्गमा पर्छन्, जो १ लाख युआन (१६ हजार अमेरिकी डलर) पर्ने हस्तनिर्मित एलेक्स मोउल्टन साइकल चढेर काममा जान्छन् । ‘बेइजिङमा यो एउटा मात्र छजस्तो मलाई लाग्छ । परम्परागत रुपमा बनाइएको यो साइकलहरुको रोल्स रोयस हो,’ ३५ ओटा यस्तै साइकलका धनी उनले भने । चिनियाँमाझ यसरी बढिरहेको दुईपाङ्ग्रेको मोहले विश्वको सबैभन्दा ठूलो अटोबजारका रुपमा उदाएको चीनको महँगा र उच्च गुणस्तरका साइकलको बजार केही वर्षभित्र १५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।