ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक महासफल भ्रमण

Apr 13, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
यसपालि पनि प्रम ओली पहिले चीनतिर नगई भारततिरै गए । के गर्नु काठमाडौंमा जाडो अझै सकिएको छैन यो वर्ष । बालुवाटारबाट निस्केपछि पाइला त उत्तरभन्दा दक्षिणतिरै जाँदो रै’छ । घाम दक्षिणकै प्यारो । तामझाम पनि दक्षिणकै आकर्षक । तर, अब यता गर्मी बढेपछि प्रम अब छिटै चीन भ्रमणमा पक्कै निस्कनेछन् । प्रम ओलीले भनेजस्तै भारत भ्रमण अत्यन्त सफल रह्यो भन्नेमा कुनै द्विविधा छैन । किनकि यात्राका क्रममा कुनै असुविधा वा अप्रिय घटना केही भएन । विगतमा पनि सबै प्रमको भ्रमण यस्तै सफल नै रहेका छन् । यो भ्रमण झन् धेरै हिसाबले सफल भएको मान्नुपर्छ । एक त प्रमको भनाइमा यसपाला कुनै नदीनाला बेचिएनन् । नदी त यसै पनि बेच्नु पो कसरी ? सदियौंदेखि जहाँको तहीँ बगिनै रहेका छन्, नेपालबाट भारततिरै । बेचे पनि नबेचे पनि उतै पुग्ने नै हुन् । हुन त नदीको कुरै नगर्ने भन्दै ओली भारत गएका पनि हुन् । तर, नेपाल–भारतको प्रसङ्ग उठ्नासाथ नदीकोे कुरो पनि साथै आइहाल्दो रहेछ । त्यसैले भारतको नदी भएर नेपालमा पानीजहाज ल्याउने नयाँ सपना त ओलीले लिएरै आए । भारतको पनि नेपाली नदीहरुसँग जोडेर ‘नदी संयोजन परियोजना’हरु जोड्ने पुरानै सपना कार्यान्वयन गर्नु छ । यसरी अरु कुरा जोडे पनि नजोडे पनि पानी नजोडी भारत नेपालसँग अरु कुरै गर्दैन । तर, नेपाली झण्डा बोकेको पानीजहाज नेपाल चैं कसरी आउने रै’छ, बुझ्न अलि गाह्रो पो भा छ त । कण्टेनर बोक्ने स्टिमरसम्म जसोतसो आए हुन्थ्यो । तर, कलकत्ताको हुग्लीदेखि गङ्गा हुँदै कोशी, गण्डकी, कर्णाली आदिमा बनिसकेका पुल र तिनका पिल्लरले पो भिलेन खेल्ने हुन् कि जस्तो छ पानीजहाज ल्याउन । जे होस्, अरुले नदेखेको सपना ओलीले देखेका छन् । आर्थिक सम्भाव्यताको अध्ययन पनि हुँदै गर्ला । हाम्रो पालामा नआए पनि कमसेकम हाम्रा छोरानातिको पालामा ससानो स्टिमर (यसलाई पानीजहाज भन्दिउँ न त) सम्म कसो नआउला ? अखिर सपना देखेको न हो । सबै सपना विपनामा हुनसक्छ वा हुनैपर्छ भन्ने त छैन नि । हुन पनि सक्छ । मेलम्ची सपना पनि अब त विपना हुन आँटिसक्यो अरे नि ।
यसपाला त सम्झौता पनि बेग्लै प्रकारका भएछन् । एक त अहिलेको सम्झौता नै यति संक्षिप्त छ कि यो सम्झौता हो कि मिटिङको माइन्यूट, छुट्याउन गाह्रो छ । शायद विस्तृत कुरा पछि खुल्दै पनि जालान् ।
यसपालाको भ्रमण यस कारणले पनि सफल मान्नैपर्छ कि प्रमले भनेजस्तै पुराना कुरा कोट्याइएन । हुन पनि पुराना कुरा र पुराना घाउ अलि दुख्ने खालका हुन्छन् । त्यसमा पनि कम्युनिष्ट र अझ दुई तिहाइ बहुमतको सरकारको नेताले पुराना कुरा गरेर पश्चगामी हुनै सुहाउँदैन । जाने त अगाडि नै हो । त्यसैले त वामहरु अग्रगामी छलाङ मार्ने कुरा गरिरहन्छन् । त्यसकारण यसपाला पुराना कुरा गरिएनन् । पुराना कुरा नगर्ने भन्नेबित्तिकै पुराना भारु नसाटिएका थोत्रा कुरा पनि त्यहाँ भएन । भारतका तटबन्धका कारण नेपालका झण्डै तीन चौथाइ तराई डुबानमा पर्ने कुरा गरिएन । किनकि त्यो त तराईको कुरा भयो । चुलिँदो व्यापारघाटाको कुरा पनि उठेन । किनकि त्यो पनि व्यापारीका कुरा भए । पञ्चेश्वर बनाउने कुरा पनि गरिएन । किनकि ‘पञ्चे’ शब्द आउने कुरा के चलाइरहनु ? त्यसैले त्यहाँ न हुलाकी राजमार्गको, न बिप्पाको, न इनर्जी बैङ्किङका विषयमा कुरा भयो । नयाँ हवाई मार्गको सम्झौताको विषय त कहाँ हरायो, हरायो । पुराना कुराको सूची लामै छ । तर, त्यो पुरानो कुरा गरेर के फाइदा ? किनकि पुरानो दुःख सम्झियो भने मुटु चसक्क दुख्छ । त्यसैले ओलीले जानीजानी पुराना कुरै उठाएनन् । ओलीले भारत जानुअघि नै स्पष्ट पारेका थिए कि पुराना कुरा नकोट्याउने भनेर । त्यसैले त ओलीले भनेछन् कि उनी कूटनीति जान्दैनन्, सीधै कुरा गर्छन् । यी र यस्तै खास कारणले त यो भ्रमण सफल भएको मान्नुपर्छ । विगतमा नेपाली नेताहरुलाई कुकुर आयो कि बिरालोजस्तो गरेर कहिल्यै महङ्खव नदिने भारतीय मिडियाले यसपाला ओलीलाई भने निकै महङ्खव दिए है । नदिएर पनि कहाँ भो र ? पैलेका ओली हुन् र ? पैलेका ओली र ऐलेका ओलीमा धेरै फरक पो छ त । दुई तिहाइ प्रचण्ड बहुमतका नेता पो हुन् त उनी । हुन त भारतमा पनि कम्युनिष्टहरु कम त छैनन् । तर, ओलीजस्ता त उनीहरुले देखेकै छैनन् होला । ओलीको बोलीको गोलीअघि कोही टिक्नै सक्तैन, भारतीय पत्रकारका त के कुरा । भारतीय पत्रकारहरुका लागि त ओली सी जिन्फिङ वा सोसरह नै लागेको हुनुपर्छ । नत्र कहाँ भाउ दिइरहन्थे र ! यसपाला त सम्झौता पनि बेग्लै प्रकारका भएछन् । एक त अहिलेको सम्झौता नै यति संक्षिप्त छ कि यो सम्झौता हो कि मिटिङको माइन्यूट, छुट्याउन गाह्रो छ । शायद विस्तृत कुरा पछि खुल्दै पनि जालान् । लामो कुरा गर्नुको अर्थ छैन भनेर छोटो समझदारी गरेका होलान् दारीवाला मोदी र विनादारीवाला ओलीले । पैले सडक, यातायात, पूर्वाधार निर्माण आदिमा सहकार्य र सहयोग गर्ने विस्तृत विवरण उल्लेख हुन्थ्यो सम्झौतामा । अहिले ती विषयमा पनि केही उल्लेख नै छैन । भारतले नेपाल कृषिप्रधान देश रहेछ भन्ने अहिले थाहा पाएजस्तो छ । त्यसैले उसले अरु क्षेत्रको सट्टा नेपालको कृषिक्षेत्रको विकासमा मद्दत गर्ने कुरा गरेको रहेछ । जलमार्ग, तेलमार्ग, रेलमार्ग पनि बनाइदिने भनेको रैछ । उत्तरबाट रेल आउन लाग्या था पाएर पनि हो कि ? आहा क्या मज्जा ! उत्तरबाट रेल, दक्षिणबाट पनि रेल । तर हेर्दै जानोस्, भारतले नेपालमा विनापानी पनि पानीजहाज चलाएर देखाइदिन्छ । विनालिक पनि रेल गुडाएर छाड्छ । स्कूल नै देख्न नपाएकाहरुलाई पनि पीएचडी (मानार्थ नै सही)को प्रमाणपत्र भिराइदिन्छ । योभन्दा अरु के नै चाहियो र ? त्यसैले प्रम ओलीको भ्रमणलाई सफल मात्र होइन, महासफल र ऐतिहासिक भन्नुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)