काठमाडौं । गत आर्थिक वर्ष (आव) को फागुन मसान्तमा २ दशमलव ९ प्रतिशत रहेको दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य वृद्धिदर चालू आवको सोही अवधिमा ६ प्रतिशत पुगेको छ । तरकारीको मूल्यमा उच्च वृद्धि हुनु र गतवर्षको आधार न्यून रहेका कारण समीक्षा अवधिमा मुद्रास्फीति बढेको हो । नेपाल राष्ट्र बैङ्कले बिहीवार सार्वजनिक गरेको आव २०७४/७५ को ८ महीनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले यस्तो देखाएको हो ।
चालू आवको पहिलो ८ महीनामा उच्च रहे पनि वार्षिक औसत मुद्रास्फीति दर भने राष्ट्र बैङ्कको प्रक्षेपणभन्दा कम नै रहने अनुमान छ । मौसमी तरकारीको मूल्यमा आएको उच्च वृद्धिका कारण समग्र मुद्रास्फीति बढ्न गएको राष्ट्र बैङ्कको भनाइ छ । समीक्षा अवधिमा खाद्यसमूहको मुद्रास्फीति ५ दशमलव ६ प्रतिशत छ, जुन गतवर्षको सोही अवधिमा शून्य दशमलव ४ प्रतिशत ऋणात्मक थियो । यसैगरी, गत आवको फागुनमा ५ दशमलव ६ प्रतिशत रहेको गैरखाद्य समूहको मुद्रास्फीति अहिले ६ दशमलव ३ प्रतिशत पुगेको छ । यस समूहअन्तर्गतको शिक्षा, घरायसी सामान तथा सेवालगायत वस्तुको मूल्य उच्चदरमा बढेको राष्ट्र बैङ्कको भनाइ छ ।
क्षेत्रगत आधारमा तराईमा ६ दशमलव ३ प्रतिशत, हिमालमा ६ प्रतिशत, पहाडमा ५ दशमलव ६ प्रतिशत र काठमाडौं उपत्यकामा ४ दशमलव ५ प्रतिशत मुद्रास्फीति रहेको छ । सोही अवधिमा थोक मुद्रास्फीति दर २ दशमलव ३ प्रतिशत रहेको छ । गतवर्ष यस्तो मुद्रास्फीति १ प्रतिशत रहेको थियो । खासगरी औषधिजन्य वस्तु, फलपूmल तथा तरकारी र निर्माण सामग्रीमा भएको मूल्य वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको राष्ट्र बैङ्कको भनाइ छ । समीक्षा अवधिमा उपभोग्य वस्तु तथा सेवाको मूल्यमा भएको वृद्धिसँगै तलब तथा ज्यालादर पनि औसतमा ७ दशमलव ८ प्रतिशतले बढेको छ । गतवर्षको सोही अवधिमा तलब तथा ज्यालादर उक्त सूचकाङ्क १४ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो ।
व्यापारघाटा २३ प्रतिशतले बढी
समीक्षा अवधिमा कुल वस्तु निर्यात १० दशमलव ८ प्रतिशतले वृद्धि भई रू. ५३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ९ दशमलव ८ प्रतिशत, चीनतर्फ ६२ प्रतिशत र अन्य मुलुकतर्फ ९ दशमलव १ प्रतिशतले निर्यात बढेको छ । राष्ट्र बैङ्कको अनुसन्धान विभागका अनुसार वस्तुगत आधारमा अलैंची, जुटको बोरा, धागो, पोलिष्टर यार्नलगायत वस्तुको निर्यात बढेको छ भने जीआई पाइप, जूस, ऊनी गलैंचा, पश्मिनालगायत वस्तुको निर्यात घटेको छ । यस्तै, कुल वस्तु आयात २२ दशमलव १ प्रतिशतले बढेर रू. ७ खर्ब ६७ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४ दशमलव २ प्रतिशतले बढेको थियो । यसैगरी, फागुन मसान्तसम्ममा कुल वस्तु व्यापारघाटा २३ दशमलव शून्य प्रतिशतले बढी रू. ७ खर्ब १३ अर्ब ९३ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यातआयात अनुपात ७ दशमलव शून्य प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलव ७ प्रतिशत थियो ।
विप्रेषण आप्रवाह ४ दशमलव ९ प्रतिशतले वृद्धि
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव ९ प्रतिशतले वृद्धि भई रू. ४ खर्ब ७१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ दशमलव ३ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आयमा भने शून्य दशमलव ७ प्रतिशतले कमी आई रू. ५ खर्ब ३९ अर्ब १९ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ दशमलव ४ प्रतिशतले बढेको थियो ।
चालू खाता एवम् शोधनान्तर घाटा वृद्धि
गतवर्ष रू. ६ अर्ब ३१ करोड घाटामा रहेको चालू खाता समीक्षा अवधिमा रू. १ खर्ब ५३ अर्ब ९६ करोड घाटामा पुगेको छ । त्यसैगरी, गतवर्षको ८ महीनामा रू. ५० अर्ब २ करोडले बचतमा रहेको शोधनान्तर अहिले रू. २४ अर्ब ७३ करोड घाटामा छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रू. १४ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रू. ८ अर्ब ३५ करोड रहेको थियो ।
समीक्षा अवधिका प्रमुख आर्थिक परिसूचक
७२ मेगावाट विद्युत् थपियो
औद्योगिक कच्चा पदार्थको आयातमा वृद्धि
चालू खाता तथा शोधनान्तर घाटा वृद्धि
१० महीनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी विनिमय सञ्चिति
निक्षेप १३ प्रतिशतले बढ्दा कर्जा १७ प्रतिशतले वृद्धि