ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा क्षेत्र : पहुँच र साक्षरता बढ्दो

Apr 13, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
७ दशकको इतिहास पार गरेको नेपालको बीमा क्षेत्रका लागि वर्ष २०७४ उपलब्धिमूलक रह्यो । नयाँ जीवन बीमा कम्पनीको उदय हुनुलाई यो वर्षको महत्त्वपूर्ण उपलब्धिको रूपमा लिन सकिन्छ । यसले बीमा क्षेत्रलाई थप दरिलो बनाएको छ । बीमा समितिले नयाँ कम्पनी थपिएसँगै नयाँ र पुराना दुवै कम्पनी प्रतिस्पर्धात्मक रूपमा अगाडि बढ्दा बीमाको साक्षरता र पहुँचमा विकास भएको बताएको छ । यसको अलावा अन्य तीन निर्जीवन बीमा कम्पनीले व्यवसाय सञ्चालनको इजाजतपत्र पाउनु पनि महत्त्वपूर्ण उपलब्धि भएको समितिले जनाएको छ । नयाँ कम्पनी थपिएसँगै शाखा विस्तारमा पनि उल्लेखनीय विकास भएको छ । जसअनुसार माघसम्म जीवनबीमा कम्पनीले १ हजार १ सय एक शाखा पुर्‍याएका छन् । नौ नयाँ कम्पनीले मात्र यो वर्ष ३ सय ८३ शाखा स्थापना गरेका छन् । यस्तै, निर्जीवनतर्फ पनि ६ सय १५ शाखा स्थापना भएका छन् । जसको फलस्वरूप लामो समयसम्म कुल जनसङ्ख्याको ७/८ प्रतिशतमा रहेको बीमाको पहुँच यो वर्ष १२ प्रतिशत पुगेको छ । अझ वैदेशिक रोजगारमा जाने म्यादी जीवन बीमाको गणना गर्दा कुल जनसङ्ख्याको करीब १४ प्रतिशतसम्म बीमाको पहुँच पुगेको बीमा समितिको दाबी छ । यस्तै, कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बीमा समितिले कृषि बीमामा नयाँ प्रडक्ट थपेको छ । विशेषगरी समितिले अदुवा बीमा कार्यक्रमलाई यो वर्षदेखि व्यावसायिक रूपमा अगाडि बढाएको छ । साथै, घाँस र घाँसको बीउको बीमा गर्ने विषयमा पनि समितिले अध्ययन गरिरहेको छ । बीमालाई समावेशी बनाउन लघुवित्त बैङ्कर्स सङ्घले निर्जीवन कम्पनीसँगको सहकार्यमा यसै वर्षदेखि लघुबीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस कार्यक्रमबाट गरीबी तथा न्यून आय भएका परिवारलाई पनि बीमा सेवामा जोड्न सकिन्छ । यस्तै, समितिले बीमा साक्षरता बढाउने उद्देश्यले यसै वर्षदेखि शैक्षिक जागरण कार्यक्रम सञ्चालनमा ल्याएको छ । समितिले स्थानीय तहसँगको सहकार्यमा बीमा शैक्षिक जागरण कार्यक्रमलाई अभियानको रूपमा अगाडि बढाएको हो । समितिले यो वर्ष पाँच स्थानीय तहमा यो कार्यक्रम गर्न सफल भएको छ । साथै समितिले विद्यालयमा पनि विद्यार्थीलाई बीमासम्बन्धी शैक्षिक जागरण कार्यक्रम सञ्चालनमा ल्याएको छ । उक्त स्थानीय तह र विद्यालयमा परेको प्रभावअनुसार यस कार्यक्रमले बीमा साक्षरता बढाउने समितिको भनाइ छ । समितिले यो वर्ष निर्जीवन बीमा कम्पनीलाई व्यवस्थापन खर्चको न्यूनतम २५ प्रतिशत रकम विज्ञापनमा खर्च गर्नुपर्ने व्यवस्था ल्याएको छ । बीमा बजारको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप समितिले उक्त व्यवस्था लागू गरेको हो । जसअनुसार, निर्जीवन बीमा कम्पनीले व्यवस्थापन खर्चको २५ प्रतिशत रकम प्रचारप्रसारमा खर्च गर्नुपर्ने हुन्छ । यस्तै, समितिले कम्पनीको सुशासनार्थ बीमा कम्पनीमा पनि सीईओका लागि कुलिङ पिरियड लागू गर्ने तयारी रहेको छ । यसका साथै बीमा क्षेत्रलाई अझ बलियो बनाउन बीमा समिति यो वर्ष नयाँ बीमा ऐन ल्याउने तयारीमा जुट्यो । जुन कार्यलाई अहिले समितिको नेतृत्वमा तीन सदस्य कमिटी बनाई अगाडि बढाइएको छ । एलआईसीद्वारा पेन्सन बीमा योजना सार्वनजिक यो वर्ष लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले पेन्सन बीमा योजना कार्यक्रम सार्वजनिक गरेको छ । जुन योजना नेपालको बीमा बजारका लागि अत्यन्त पृथक् हो । उक्त बीमा योजनाप्रति आममानिसको आकर्षण बढ्दै गएको कम्पनीले जानकारी गराएको छ । यो कार्यक्रममा कम्पनीले बीमितलाई बीमाङ्क रकम एकमुष्ट रूपमा नभई पेन्सनजस्तै किस्तामा भुक्तानी गर्छ । वैदेशिक रोजगार बीमामा प्रस्ताव फारामको व्यवस्था बीमा समितिले यो वर्षदेखि वैदेशिक रोजगार बीमामा प्रस्ताव फारामको पनि व्यवस्था गरेको छ । यसभन्दा अघि प्रस्ताव फारामविना नै वैदेशिक रोजगार बीमा गरिन्थ्यो । यो व्यवस्था लागू भएसँगै अब वैदेशिक रोजगार बीमामा सम्बन्धित व्यक्तिले अनिवार्य प्रस्ताव फाराम भर्नुपर्ने हुन्छ । अभिकर्ता लिनेको सङ्ख्यामा वृद्धि विगतका वर्षमा जस्तै यस वर्ष पनि अभिकर्ता इजाजतपत्र लिनेको सङ्ख्या उल्लेखनीय रहेको छ । बीमा समितिको पछिल्लो तथ्याङ्कअनुसार फागुन १५ गतेसम्म ३८ हजार ८ सय ३३ जनाले इजाजतपत्र लिएका छन् । त्यसपछि पनि इजाजतपत्र वितरण भएकाले यसको मात्रा अझ बढ्न सक्ने समितिले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)