सामान्यतया ‘बुलिङ’ शब्दले आक्रामक र अरुलाई सताउने गतिविधिलाई बुझाउँछ । यसैकारण बुलिङ गर्नेहरु मानिसहरुका प्रिय पात्र हुने गर्दैनन् । तर, हालै गरिएको एक अध्ययनले भने भलादमी मानिसहरुको तुलनामा बुलिङ गर्ने मानिसहरुले व्यावसायिक जीवनमा बढी सफलता पाउने देखाएको छ । जर्नल अफ पर्सनालिटी एण्ड सोसियल साइकोलोजीको पछिल्लो अङ्कमा प्रकाशित उक्त अध्ययनको रिपोर्टअनुसार आक्रामक र प्रभुत्वशाली व्यक्तित्व भएका मानिसहरु आफू कार्यरत सङ्गठनमा सफलताको सिँढी चढ्दै माथिल्लो पदमा पदोन्नति हुने सम्भावना बढी रहेको छ ।
क्यानाडाको भ्यानकुभर शहरस्थित युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाका अनुसन्धानकर्ताहरुले गरेको उक्त अध्ययनमा सहकर्मीमाथि हावी हुन सक्ने र अरुलाई प्रभावित गर्न सक्ने कर्मचारीहरुलाई व्यवस्थापनले सजिलै चिन्ने र भीडबाट छान्ने गरेको बताए । अध्ययनमा सामेल गरिएका कर्मचारीहरुले कुनै पनि सहकर्मीलाई नेता छनोट गर्दा प्रतिष्ठाको स्तरका साथै उनको दबदबालाई पनि हेर्ने गरेको अध्ययनकर्ताहरुको भनाइ छ । त्यसैगरी त्यस्ता मानिसले कुनै कडाइपूर्ण व्यवहार गरिहालेमा पनि त्यसलाई समेत क्षमा दिने गरेको उनीहरुको कथन छ ।
दुई भागमा सम्पन्न गरिएको उक्त अध्ययनमा २ सय जना सहभागीले समूहहरुमा बाँडिएर एक समस्यापूर्ण कार्य हल गरेका थिए । उक्त कार्य हल गर्ने क्रममा सहभागीहरुले एकअर्काको प्रभुत्व, प्रतिष्ठा र प्रभावलाई ‘रेटिङ’ गरेका थिए । यस अध्ययनका लागि अनुसन्धानकर्ताहरुले प्रतिष्ठा र प्रभुत्वलाई केही विशेष प्रकारले अथ्र्याएका थिए । उनीहरुले कुनै पनि सहभागीको शीप र योग्यताको प्रदर्शन उनीहरुको प्रतिष्ठा भएको अर्थ दिएका थिए । त्यस्तै, दबदबापूर्ण बन्दै (बुलिइङ) अरुमाथि आफ्ना विचार लाद्न सक्ने क्षमता नै प्रभुत्व रहेको अर्थ उनीहरुले दिएका थिए । प्रयोग सकिएपछि निस्किएको नतीजाअनुसार आफ्नो प्रभुत्व देखाउँदै अथवा प्रतिष्ठा आर्जन गरेकाहरुको कार्यमाथि नियन्त्रण बढी हुने गरेको पाइयो । त्यस्तै, दोस्रो भागमा ६० जना अन्य मानिसले आँखाको चाल पत्ता लगाउने एक यन्त्र लगाएर कुल १ सय २० सेकेण्ड अवधिको पहिलो भागको अध्ययनमा सामेल भएकाहरुको शुरूआती सामूहिक अन्तरक्रियाहरुलाई अवलोकन गरे । यसमा अवलोकनकर्ताहरुले प्रभुत्वशाली र प्रतिष्ठा आर्जन गरेकाहरुलाई ध्यान दिएर हेरिएको पाइयो । यो अध्ययनबाट प्रभुत्वशाली व्यापारिक व्यक्तित्व, राजनेताहरु र उनीहरुको सफलताबारे थप जानकारी हासिल गर्न सकिने अनुसन्धानकर्ताहरुको जिकीर छ ।