ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सर्वोच्चको अमूल्य रत्न ‘श्री यन्त्र’ भेटियो

Apr 16, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
वैशाख ३, काठमाडौं । लामो समयदेखि सर्वोच्च अदालतबाट हराएको अमूल्य ‘श्री यन्त्र’ सोमवार फेला परेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले उक्त यन्त्र पाइएको जानकारी दिएका छन् । सर्वोच्च अदालत भवनको अगाडिको उच्च भागमा राखिएको सो श्री यन्त्रले न्यायालयमा बदमासी हुनबाट रोक लगाउने गरेको विश्वास लिइएको थियो । सो यन्त्र कसको पालामा बनाएर सर्वोच्च अदालतको भवनमा रहेको उच्च भागमा राखिएको हो भन्ने बारेमा यकीन छैन् । तर, वरिष्ठ अधिवक्ता डा.शङ्करकुमार श्रेष्ठले राजा महेन्द्रले सो यन्त्र बनाई अदालतमा राख्न लगाएको जस्तो आफूलाई लागेको बताए । पछि सो यन्त्र एकाएक हराएको थियो । कसको पालामा हराएको भन्ने नै एकीन नभएको भनी सर्वोच्च अदालतका कर्मचारीहरुले अनभिज्ञता प्रकट गरेका छन् । हराएको धेरै पछि उक्त यन्त्र नभएको हल्ला हुन थालेको थियो । कतिपयले शक्तिवालाले त्यसलाई लगेको भनी आरोप पनि लगाएका थिए । उक्त श्री यन्त्रलाई शक्तिको प्रतिकको रुपमा रहेको बुझिने गरिएको थियो । वरिष्ठ अधिवक्ता श्रेष्ठले आर्थिक अभियानसँग भने, ‘श्री यन्त्र शक्तिको प्रतिकको रुपमा रहेको आभाष हुने गरेको थियो । जव सो यन्त्र हरायो तव न्यायालयमा बेथिती देखा पर्न थालेको हो भन्न सकिने अवस्था छ ।’ २०७२ साल बैसाख १२ गते गएको भूकम्पका कारण सर्वोच्च अदालतमा भएका सामान पनि यत्रतत्र भएका थिए । त्यसरी छरिएर रहेका कतिपय सामानहरु हालसम्म पनि ब्यवस्थित हुन सकेका छैनन् । ती सामानहरु ब्यवस्थित गर्ने क्रममा सोमवार सो यन्त्र फेला परेको रजिष्ट्रार उपाध्यायले बताए । फेला परेको सो यन्त्रलाई अव कहाँ राख्ने भन्ने बारेमा यकीन भइनसकेको उनले बताएका छन् । सर्वोच्च अदालतको भवन २०१९ सालमा बनेको हो । सो भनवलाई तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए । सो भवन बनाउँदा नै उक्त यन्त्र जडान भएको पनि कतिपयको विश्लेषण छ । त्यसलाई तान्त्रिक विधि अपनाई जडान गरिएको पनि डा. श्रेष्ठको भनाई छ । सो यन्त्र हराएपछि त्यसको आलोचनामा धेरै लेख तथा विचारहरु प्रकाशित भएका थिए । सो यन्त्र हराएपछि सर्वप्रथम सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले त्यसको बृहत रुपमा चर्चा गरेका थिए । यस्तो अमूल्य रत्नलाई उचित रुपमा पुनः प्रतिस्थापन गर्नुपर्ने सम्बन्धित क्षेत्रका विज्ञहरुको भनाई छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)