विश्वमा प्लाष्टिकको समस्या बढ्दो छ । यो सजिलै नगल्ने हुँदा यसले वातावरणमा समेत असर पु¥याउँछ । तर, वैज्ञानिकहरूले प्लाष्टिक नै खाएर पचाइदिने प्राकृतिक इञ्जाइम पत्ता लगाएका छन् । युनिभर्सिटी अफ पोर्टस्माउथका वैज्ञानिकहरूले प्रदूषण बढाउने केही प्रकारका प्लाष्टिकलाई खाएर पचाउन सक्ने प्राकृतिक इञ्जाइममा थप सुधार ल्याएका छन् ।
प्लाष्टिकहरूमा ‘पेट’ (पीईटी) निकै बलियो हुन्छ र प्लाष्टिक बोतल बनाउन प्रायः यही प्रयोग हुन्छ । निकै बलियो भएकाले ‘पेट’ सजिलै टुक्रिने वा कुहिएर जाने हुँदैन । यसका लागि सयौं वर्ष लाग्छ । त्यति बेलासम्म त्यो प्लाष्टिकले वातावरणलाई नराम्ररी प्रभावित पार्छ । तर, सुधारिएको प्राकृतिक इञ्जाइम ‘पेटेज’ले भने यसलाई केही दिनभित्रै टुक्राइदिन थाल्छ । यसले प्लाष्टिक रिसाइक्लिङमा नयाँ क्रान्ति ल्याइदिन सक्छ ।
पहिलोपटक जापानमा पत्ता लागेको यो इञ्जाइमको उत्पादन ‘पेट’ खाइदिने ब्याक्टेरियाबाट हुन्छ । यो ब्याक्टेरियाको नाम हो ‘इडियोनल्ला साकाइएन्सिस’ । ‘पेटको सङ्ख्या बढ्न शुरू भएको ५० वर्ष जति भयो, यो अवधि यस्तो मानव निर्मित वस्तुलाई खाइदिन सक्ने कुनै ब्याक्टेरिया पूर्ण विकसित हुन पर्याप्त छैन,’ अध्ययनमा संलग्न प्राध्यापक जोन म्यागिहानले भने । पेट जुन प्लाष्टिकको समूहमा पर्छ पोलिएष्टर पनि त्यही समूहमा पर्छ । पोलिएष्टर प्राकृतिक रूपमै उत्पादन हुन्छ । तर, पोलिएष्टरले बिरुवाको पातलाई सुरक्षा दिन्छ । पोलिएष्टरलाई खाने ब्याक्टेरिया लाखौं वर्षअघिदेखि नै विकसित हुँदै आएको अनुसन्धानकर्ताहरू बताउँछन् ।
वैज्ञानिकहरूले यो प्राकृतिक इञ्जाइम ‘पेट’ लाई पनि खान सक्ने गरी विकसित भइनसकेको ठहर गरेपछि त्यसको शक्ति थप विकसित गराउने सम्भावना देखेका छन् । पेटेजलाई ‘पेफ’ प्लाष्टिकमा पनि परीक्षण गरिएको छ । पेफ भनेको पेटको विकल्पका रूपमा प्रयोग गर्न सकिने भनेर प्रस्तावित वनस्पतिमा आधारित प्लाष्टिक हो र यो पनि प्रकृतिमा त्यसै छोडिदिँदा चाँडै कुहिँदैन । पेटमा भन्दा पेफमा यो परीक्षण धेरै सफल भएको पाइयो । अर्थात् यो इञ्जाइमले पेफलाई चाहिँ चाँडै खाइदिँदो रहेछ । यो इञ्जाइमको उत्पादनमा अझ धेरै बाधा अड्चन रहे पनि प्लाष्टिक व्यवस्थापनमा यो अनुसन्धानलाई महŒवपूर्ण परिवर्तनकारी कदमका रूपमा लिइएको छ । एजेन्सी