ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुई चिनियाँ वाई–१२ विमान हस्तान्तरण

Apr 18, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । चीनबाट ल्याइएका दुईओटा विमान मङ्गलवार चीन सरकारले औपचारिक रूपमा नेपाललाई हस्तान्तरण गरेको छ । चीनको हार्विन एयरक्राफ्टले निर्माण गरेको वाइ–१२ सिरिजका ती विमान कम्पनीकै पाइलटले उडाएर गत फेब्रुअरी १३ मा नेपाल ल्याएका थिए । नाइन एन–एक्यू र नाइन एन–एकेभी कलसाइन रहेका ती विमान यसअघि नै खरीद सम्झौता भएर आउन बाँकी रहेका विमान हुन् । १७ सीट क्षमताका यी विमान दुर्गम क्षेत्रका साँघुरो धावनमार्गमा समेत उडान गर्न मिल्ने निगमले जानकारी दिएको छ । विमान हस्तान्तरणअघि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमति लिइनुका साथै भन्सार जाँच प्रक्रिया पूरा गरिएको थियो । नेपाल सरकार र चीन सरकारबीच २०६९ सालमा दुईओटा विमान अनुदान र चारओटा विमान सहुलियतपूर्ण ऋणमा लिने सम्झौता भएको थियो । सोअनुसार सबै विमान नेपाल आइसकेका छन् । सम्झौताबमोजिम २०७१ वैशाखमा पहिलो एमए–६० र कात्तिकमा वाई–१२ विमान अनुदानस्वरूप ल्याइएको थियो भने २०७३ मा अर्को एमए–६० र एउटा वाइ–१२ विमान ल्याइएको थियो । नयाँ दुई विमान थपिएपछि निगमसँग आन्तरिक उडानका लागि अब आठओटा विमान भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत यु होङको उपस्थितिमा सिभिक इण्टरनेशनल चाइनाका अध्यक्ष ली वेइसुआङले र नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले विमान हस्तान्तरण सम्झौतामा हस्ताक्षर गरे । अहिले निगमको एउटा ट्विनअटर र एउटा एम–६० ले मात्र नियमित उडान गरिरहेका छन् । एउटा ट्विनअटर मर्मतका लागि ह्याङ्गरमा राखिएको छ । अन्य चिनियाँ विमान पाइलटको प्रतीक्षामा छन् । वाई–१२ विमान उडाउन निगमले अङ्ग्रेजी भाषा जानेका तीन चिनियाँ पाइलट ल्याउने भएको छ । चिनियाँ विमान उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको निगमले जानकारी दिएको छ । निगमका अनुसार पाइलट ल्याउने प्रक्रिया शुरू गरिसकिएको छ । चारओटा वाई–१२ सिरिजका विमान उडाउन निगमसँग दुई जनामात्रै पाइलट छन् । हस्तान्तरण कार्यक्रममा मन्त्री अधिकारीले चीनबाट ल्याएका सबै विमान सय दिनभित्र उडाउन निगमलाई निर्देशन दिए । सम्झौताअनुसार चीनबाट सबै विमान आइसकेकाले अब ढिलो नगरी विमान उडाउनु पर्ने उनले बताए । अधिकारीले नेपालका अधिकांश ग्रामीण क्षेत्रमा अझै सडक सञ्जालको राम्रो पहुँच नभएको अवस्थामा हवाई यातायातलाई प्रभावकारी बनाउन आवश्यक भएको बताए । उनले भने, ‘नेपालजस्तो मुलुकका लागि हवाई सेवा लाइफ लाइन हो ।’ निगमले आफ्ना आन्तरिक गन्तव्यका साथै अन्तरप्रदेश उडानका लागि पनि काम थाल्ने उनको भनाइ थियो । नेपालका लागि चिनियाँ राजदूत यु होङले चीनबाट ल्याइएका विमानले नेपालको पर्यटन क्षेत्रको विकासमा महŒवपूर्ण सहयोग पुग्ने धारणा राखिन् । नेपालमा आउने चिनियाँ पर्यटकको सङ्ख्या पछिल्ला वर्षहरूमा बढेको बताउँदै उनले पूर्वाधारको विकासले थप पर्यटक आगमन हुने बताइन् । नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले विमान आइसकेको अवस्थामा निगमले अब विमान सञ्चालनका लागि पाइलट ल्याउने तयारी गरेको बताए । वाई–१२ विमानका लागि कम्पनीसँगै आवश्यक कुरा भएको जानकारी दिँदै उनले पाइलट आउनासाथ यी विमानले आन्तरिक गन्तव्यमा सेवा दिने बताए । चिनियाँ कम्पनी सिभिक इण्टरनेशनलका अध्यक्ष ली वेइसुआङले नेपाललाई विमान हस्तान्तरण गर्दा खुशी लागेको बताउँदै विमानका लागि आवश्यक सहयोग जारी रहने बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)