ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय कारोबारमा तोकियो सीमा : डेबिट कार्डबाट अब प्रतिदिन रू. १ लाख

Apr 18, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा तोकेको छ । केन्द्रीय बैङ्कले ५ महीनाअघि नै बैङ्करहरूबाट सुझाव लिनका लागि तिनलाई प्रस्तावका रूपमा सार्वजनिक गरेको थियो । बैङ्करहरूबाट सुझाव लिएपछि केन्द्रीय बैङ्कले निर्देशनमार्फत सोमवार ती सीमा लागू गरेको हो । डेबिट कार्डबाट प्रतिदिन रू. ५० हजार झिक्ने गरेका ग्राहकले अब रू. १ लाखसम्म झिक्न पाउनेछन् । तर, नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्थालगायतका विशेष परिस्थितिमा उक्त सीमा सम्बन्धित बैङ्कले नै घटाउन सक्नेछन् । डेबिट कार्डमार्फत प्रतिकारोबार न्यूनतम रू. ५ सयदेखि अधिकतम रू. २५ हजारसम्म झिक्न पाइनेछ । प्रिपेड कार्डबाट नेपालभित्र नगद झिक्दा प्रतिकारोबार रू. ५ सयदेखि अधिकतम रू. १० हजारसम्म वा प्रतिमहीना बढीमा रू. ५० हजारसम्म झिक्न पाउने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैङ्कले डेबिट र प्रिपेड कार्डको सीमाका साथै बैङ्क तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका क्रेडिट कार्ड, मोबाइल बैङ्किङ तथा इण्टरनेट बैङ्किङ सेवालगायत अन्य विद्युतीय माध्यमबाट गरिने कारोबारको छुट्टाछुट्टै सीमा तोकेको छ । यस्ता विद्युतीय कारोबार, ट्रान्सफर, वस्तु तथा सेवा खरीदको भुक्तानी तथा विप्रेषण कम्पनीहरूबाट हुने भुक्तानी कारोबारमा एकरूपता कायम गर्न नेपाल राष्ट्र बैङ्कले सीमा तोकेको हो । यसका साथै जोखीमलाई न्यूनीकरण गर्ने उद्देश्यले विद्युतीय खातामा रकम जम्मा र खर्च गर्न राष्ट्र बैैङ्कले सीमा निर्धारण गरेको बताएको छ । क्रेडिट कार्डबाट भने सामान्यतया नगद कारोबार गर्न पाइने छैन । तर, ग्राहकलाई नगद अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमाको अधिकतम २५ प्रतिशतसम्म झिक्न भने बाधा पुगेको नमानिने निर्देशनमा उल्लेख छ । यो व्यवस्थालाई केन्द्रीय बैङ्कले २० प्रतिशत बनाएको थियो । तर, बैङ्करहरूको सुझावपछि ५ प्रतिशत थपेर २५ प्रतिशत पुर्‍याएको बताइएको छ । कार्डबाट नगद कारोबार गरी कार्डबाट प्रयोग भएको रकम भुक्तानी गर्ने समय नसकिँदै कार्डमा भएको रकमको सीमा सकिएको अवस्थामा यस्तो रकम बैङ्कमा जम्मा गरी समयावधिअगावै पुनः नगद झिक्न भने पाइने छैन । हालसम्म आवश्यकताअनुसार मोबाइल बैङ्किङ सुविधामार्पmत भुक्तानी कारोबार गरेका ग्राहकले अब मासिक अधिकतम रू. ५० हजारसम्मको मात्र भुक्तानी कारोबार गर्न पाउने अनिवार्य व्यवस्था गरिएको छ । यस्तो सेवा उपभोग गरेका ग्राहकले प्रतिपटक बढीमा रू. ५ हजार वा प्रतिदिन अधिकतम रू. १० हजारसम्मको मात्र कारोबार गर्न पाउनेछन् । इण्टरनेट बैङ्किङबाट भुक्तानी कारोबार गर्दा दैनिक अधिकतम रू. १ लाखसम्म कारोबार गर्न सकिनेछ । तर, मासिक रूपमा अधिकतम रू. ५ लाखभन्दा बढीको भुक्तानी कारोबार गर्न पाइने छैन । इण्टरनेट बैङ्किङको माध्यमबाट बैङ्क तथा वित्तीय संस्थाहरूको खातामा ट्रान्सफर गर्दा एकपटकमा अधिकतम रू. १ लाख र मासिक अधिकतम रू. १० लाखसम्म कारोबार गर्न पाइनेछ । यसैगरी, भुक्तानी सेवाप्रदायकबाट सञ्चालित सेवाको माध्यमबाट गरिने कारोबारमा ग्राहकले भुक्तानीसम्बन्धी कार्यको लागि नगद वा ट्रान्सफर गरी रकम जम्मा गर्न सक्नेछन् । नगद जम्मा गर्दा सम्बन्धित भुक्तानी सेवाप्रदायकबाट नियुक्त आधिकारिक एजेण्ट वा सबएजेण्टमार्फत पनि गर्न सक्नेछन् । त्यसका लागि वालेटमा एकपटकमा अधिकतम रू. ५ हजारसम्म नगद जम्मा गर्न सकिनेछ । प्रतिदिन अधिकतम १५ हजार र मासिक रूपमा अधिकतम २५ हजार रुपैयाँसम्म रकम जम्मा गर्न सकिनेछ भने भुक्तानी गर्दा एक टकमा अधिकतम रू. ५ हजारसम्म गर्न सकिनेछ । यसरी कारोबार गर्दा प्रतिदिन बढीमा रू. १५ हजार र मासिक रू. २५ हजारभन्दा बढीको भुक्तानी कारोबार गर्न पाइने छैन । तर, नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरीवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवाशुल्कजस्ता विविध शुल्क सम्बन्धित निकायहरूले भने विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने गरी नीतिगत व्यवस्था गरेको अवस्थामा बिलबमोजिमको रकम वालेटमार्फत भुक्तानी गर्न सक्नेछन् । यो व्यवस्था नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार सेवाप्रदायक संस्थाहरू, खानेपानी सेवा, शिक्षण संस्था, स्वास्थ्य संस्था, यातायात सेवा, होटल तथा रेष्टूराँमा पनि बिलअनुसारको रकम तोकिएको व्यवस्थाअनुसार भुक्तानी गर्न सक्नेछन् । भुक्तानी सेवा दिनेहरूले सञ्चालन गरेको एटीएमजस्ता उपकरणबाट वस्तु तथा सेवाको बिल भुक्तानी गर्दा प्रतिकारोबार १०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म र प्रतिदिन १५ हजार रुपैयाँसम्म मोबाइल रिचार्ज, टेलिभिजन तथा इण्टरनेट भुक्तानीका लागि टपअप गर्न सकिन्छ । यस्तै यसअघि रू. २ लाख पुर्‍याइएको विप्रेषणमा नगद भुक्तानी रकमको सीमालाई फेरि घटाएर साउन १ गतेदेखि १ लाखसम्म गर्न पाइनेछ । १ लाखभन्दा बढी भुक्तानी गर्नुपरे बैङ्क खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)