विश्वभर अनलाइनबाट ट्याक्सी, मोटरसाइकल बूकिङ गर्न मिल्ने सेवा शुरू भएको केही वर्ष बितिसक्यो । चीनलगायत केही शहरमा त यस्ता सेवाहरू निकै फस्टाएका पनि छन् । नेपालमा भने भर्खरै यस्ता सेवा विस्तार हुन थालेका छन् । लामो समयसम्म जाम खेप्नुपर्ने, छोटो दूरीको यात्रा गर्न समेत घण्टौं लाग्ने र होहल्ला सुन्नुपर्दा उडेरै जान पाए नि हुन्थ्यो भन्ने लाग्छ । यस्तो चाहना पूरा भएको छ । तर, नेपालमा चाहिँ होइन, मेक्सिकोमा । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा मार्चको शुरूमा अनलाइनबाट हेलिकोप्टर बूकिङ गर्न मिल्ने सेवा ‘भूम’ शुरू गरिएको हो ।
यसले पाँचओटा हेलिकोप्टरका साथ सेवा शुरू गरेको हो । कम्पनीले मोन्तेस उरालेस, इन्तरलोमास, मेक्सिको सिटी र तोलुकालगायत स्थानका विमानस्थल र हेलिप्याडबाट यो सेवा दिइरहेको छ । भूम एयरबस हेलिकोप्टर्सको सहायक कम्पनी हो । मेक्सिको सिटीमा पर्याप्त हेलिकोप्टर पूर्वाधार छन् । त्यहाँको महानगरीय क्षेत्रमा २ सयभन्दा बढी हेलिप्याड छन् । हेलिकोप्टरका लागि छुट्टै हवाई ट्राफिक नियन्त्रणको व्यवस्था भएकाले हवाई यातायात सहज र प्रभावकारी भएको बताइएको छ । कम्पनीका अनुसार शहरभित्रका अधिकांश ट्रिप करीब १० मिनेटका छन् ।
मोन्तेस उरालेसदेखि मेक्सिको सिटीको अन्तरराष्ट्रिय विमानस्थलसम्मको उडान ८ मिनेटको मात्रै छ । यसका लागि २ हजार ५ सय पेसो (१ सय ३४ अमेरिकी डलर) लाग्छ । बिहानबेलुका सडक अतिव्यस्त हुने समयमा मोन्तेस उरालेसदेखि मेक्सिको सिटीसम्म सडकबाट यात्रा गर्न २ घण्टा लाग्छ । हेलिकोप्टर उड्नु ६० मिनेटअघिदेखि ७ दिनअघिसम्म बूकिङ गर्न मिल्ने र बोर्डिङ टाइम शुरू हुन ५ मिनेटअघि यात्रुहरू हेलिप्याडमा आइपुग्नुपर्ने भूमले बताएको छ । अनलाइन सेवा प्रदायक कम्पनी क्याबिफाईले पनि सन् २०१५ मै अनलाइन हेलिकोप्टर सेवा क्याबिफ शुरू गर्ने घोषणा गरेको थियो । तर, अहिलेसम्म यो सञ्चालनमा आएको छैन । एजेन्सी