ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लिडर, डिलर कि ल्याडर ?

Apr 20, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
हिजोआज जो पनि सरकारलाई थर्काउन खोज्छन् बा ! हुँदाहुँदा ड्राइभर र खलासीसम्मले पनि थर्काउन थालेका छन् । चिया पसलदेखि फेसबुक, ट्वीटरका वालसम्ममा सरकारले यो गर्नुपर्छ वा त्यो गर्नुपर्छ भनेर थर्काउनेहरू त कति छन् कति ! सरकार पनि के कम ? पहिलोपटक थर्काउनेलाई राम्रै जवाफ फर्कायो र यातायातको सिण्डिकेट कागजमा हटायो । सडकबाट पनि हटाउला नै । तर, सिंहदरबारदेखि बागदरबारसम्म, लालदरबार (अर्थात् पेरिसडाँडा दरबार) देखि बल्खु दरबार र सानेपा दरबारसहित लागेर लादेको सर्वत्र चलिरहेको सिण्डिकेट चैं सरकारले तोड्ला वा तोड्न सक्ला र ? बीसौं वर्षदेखि खाईपाई आएको सुविधा नेताहरूले सजिलै छाड्लान् र ? फेरि सरकारमा पुग्नेबित्तिकै, मन्त्री हुनेबित्तिकै मान्छेका कुरा ठूला, तर साँच्चै काम गर्नुपर्दा भने खुट्टा लुला हुने गरेको विगत छ । यसपटक आशा गरौं, सिण्डिकेट तोड्ने कुरामा सरकारले खुट्टा दरै टेक्ला । नत्र आम मानिसलाई ठूलाका कुरा र ‘हात्ती र हात्ती छाप चप्पल उस्तैउस्तै’ भन्ने विज्ञापनमा फरक छुट्याउन गाह्रै पर्छ । किनकि यहाँ जाली धेरै भए । यता अर्थात् स्वदेश हुँदा गाली, उता अर्थात् छिमेक देश जाँदा ताली बजाउने बढ्दै गए । देशको खेतबारीमा बाली लाग्दैन । त्यसैले यताको भकारीे खाली छ । युवाका पाखुराहरू खाडीको सम्पन्नता चुल्याउँदै छन् । यता बजारले उपभोगै उपभोगको एक मात्र संस्कृतिमा उसको परिवारलाई भुल्याउँदै छ । त्यसैले सरकारले काम गर्नेलाई थाँक्रो हाले पो काँक्रो फल्छ । अर्को कुरा, अरूहरू एक हुँदै गएका छन् । एउटै मुद्रा, एउटै व्यावसाहिक समूह । हामी टुक्रिइरहेका छौं, जात, जाति, धर्म, आरक्षणको कुरा लिएर डुक्रिरहेका छौं । आरक्षण पनि कस्तो ? विनोद चौधरी, जितेन्द्र देवजस्ता आरक्षण कोटामा सांसद हुन्छन् । फेरि सांसद पनि कस्ता ? सांसद र वडाध्यक्ष छुट्याउनै गाह्रो । पद ठूलो हो कि कद वा पैसाको पावर भनेर भेद भेट्टाउनै साह्रो ।
प्रकृतिले त दिएकै थियो नि, पानी, खानी र जवानी । तर, त्यसको उपयोग गर्ने ज्ञानीहरू देशमा नभएकाले पो समस्या पर्‍यो ।
हाम्रा प्रोफेशनल, न्यायाधीश र पत्रकारहरू पनि यो वा त्यो दलका । अनि देश दलदलमा नफसे कहाँ फसोस् त ! हाम्रा मन्त्री, प्रधानमन्त्रीसमेत सम्पूर्ण जनताका नभै एउटा पार्टीका भरौटेजस्ता । अनि पार्टीभित्र पनि कुनै गुटका, उपगुटका । पार्टीविहीन, गुटविहीन मान्छे अभिभावकविहीन टुहुरोजस्तो । हुँदाहुँदा भाषा र व्याकरणमा समेत फरकफरक समूह । त्यसैले हामी धर्मभित्रको जातजातिमा, वर्गमा, क्षेत्रमा र परिवारमा खण्डखण्ड चाहन्छौं । हामी भूगोलमा खण्डखण्ड चाहन्छौं । हाम्रो विचार चिन्तनमा अखण्ड होइन, सामूहिकता, साझा र सर्वसम्मत पनि होइन, व्यक्तिगत फाइदा मात्र माग्छौं । यसरी जताततै अराजकता र अचाक्ली साह्रो भो । को राष्ट्रवादी को मानवतावादी मान्छे चिन्नै गाह्रो भो । रोल्पाको विकासको योजना र्‍याडिशन होटलको राराहलमा ल्यापटपमा पहाड देखाएर बनाइन्छ । यसैगरी बजेट सकिन्छ । हुँदाहुँदा नयाँ सङ्घीय शासनमा समेत जनप्रतिनिधिहरूले एम्बुलेन्स किन्लान् भनेको त नेताहरूलाई महँगा महँगा कार किन्नतिर पो पहिले लागेको देखियो । अनि आशा चैं कोबाट कसरी जगाउने हो ? आखिर यो सब किन यस्तो त ? एक त राजनीतिक नियुक्ति नपाए जीवन नै अधुरो अपूरो ठान्ने जमात ठूलो हुँदै गयो । नियुक्ति दिने दल जिन्दावाद, नदिने मूर्दावाद । हवाई मार्ग, रेल मार्ग होस् वा तेल मार्ग, विदेशीले नै बनाई दिनुपर्ने । रेल चीन र अब भारतले बनाइदिने । सुरुङ जापानले खन्दिने, नेपालले चैं क्यै गर्नै नपर्ने । जिम्मेवारी नलिने तर अधिकारचाहिँ चाहिने । भक्तिबाट पैसा, पैसाबाट पावर किन्ने मापदण्ड स्थापित छ । अनि बोलीले नै गोली हान्दिने टप्परटुइँयाहरु टपमा पुगेपछि हुन्छ चैं के ? विषयभन्दा व्यक्तिलाई पूजा गर्ने प्रवृत्ति अझ बढ्दै जान्छ । प्रकृतिले त दिएकै थियो नि, पानी, खानी र जवानी । तर, त्यसको उपयोग गर्ने ज्ञानीहरू देशमा नभएकाले पो समस्या पर्‍यो । ज्ञानी र ज्ञाता पनि कस्ता ? मदारीले नचाउने बाँदरजस्ता । दलले जसरी मादल बजायो त्यसरी मात्र नाचिदिने । ‘हर शाख पे उल्लू बैठा है, अंजाम ए गुलिस्ताँ क्या होगा ?’ भनेजस्तै । यसको अर्थ अव्यवस्थित भएकै कारण देश अविकसित बन्न पुगेको हो । त्यसैले त अचेल सामान र सेवाको गुणस्तरभन्दा विज्ञापन अर्थात् खोल, बोल र बट्टा बढी बिक्छ । उपभोक्ताले पनि सत्यभन्दा उटपट्याङ कुरा बढी सिक्छ । मुख्य कुरा त सबै क्षेत्रमा नेता धेरै आए । तर, देशले सच्चा लिडर पाएन, निडर आएनन् । बरु डिलर र अझ कसैका ल्याडर मात्र आए । यस्तो लाग्छ, उनीहरू स्वचालित छैनन्, सञ्चालित छन् । चर्को बोलेरै धर्को तान्ने धेरै नेता भए । जिम्मेवार नेता पाउला देशले भनेको जमीनदार नेता धेरै छाए । तर, जनता मौन छन् भन्दैमा सधैं र सबै मूर्ख छन् भन्न मिल्छ र ?
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)