ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशी मुद्रामा ऋण : चार बैङ्कले थाले प्रक्रिया

Apr 22, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले परिवर्त्य विदेशी मुद्रामा ऋण लिन पाउने नीतिगत व्यवस्था गरेसँगै वाणिज्य बैङ्कहरूले धमाधम सोको प्रक्रिया थालेका छन् । नीति सार्वजनिक भएपछि हालसम्म एनएमबी, एनआईसी एशिया र हिमालयन बैङ्कले विदेशी वित्तीय संस्थासँग ऋण सापटी लिने प्रक्रिया अघि बढाइसकेका छन् । सनराइज बैङ्कले पनि त्यस्तो ऋण लिनका लागि आन्तरिक गृहकार्यमा जुटेको बताएको छ । एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले आईएफसी र यूरोपेली बैङ्कबाट गरी २ अर्ब ५० करोड रुपैयाँ कर्जा लिने तयारी गरेको बताए । ‘आईएफसीसँग ऋण सम्झौता भइसक्यो,’ उनले भने, ‘अरू ४/५ ओटा विदेशी बैङ्कसँग छलफल भइरहेको छ ।’ एनआईसी एशियाले पनि आईएफसीसँग साढे २ अर्ब कर्जा लिने सम्झौता भएको बैङ्कका जनसम्पर्क अधिकृत अर्जुन खनियाले बताए । यस्तै हिमालयन बैङ्कले पनि आईएफसीसँग ब्याजदर निर्धारणका विषयमा छलफल भइरहेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले जानकारी दिए । ‘थप विश्लेषण र वार्ता भइरहेको र कर्जाको आकार निश्चित नभए पनि कम्तीमा १ अर्ब कर्जा लिने तयारी छ,’ उनले भने । राष्ट्रिय वाणिज्य बैङ्कलाई रकमको खाँचो नभएकाले त्यस्तो कर्जाका लागि कुनै पहल नभएको बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले बताए । ‘हाम्रो बैङ्कमा लगानीयोग्य रकम प्रशस्त छ र सीसीडी पनि ६८ प्रतिशत मात्र छ,’ उनले भने, ‘सीसीडी टाइट भएका बैङ्कले विदेशी वित्तीय संस्थाबाट कर्जा लिन खोजे पनि त्यो दीर्घकालीन उपाय भने होइन ।’ आन्तरिक बैङ्किङ प्रणालीमा देखिएको लगानीयोग्य रकम अभावको समस्या समाधानमा सहयोग पुर्‍याउन बैङ्कर्स तथा विज्ञको सुझावमा केन्द्रीय बैङ्कले नयाँ व्यवस्था गरेको हो । नीतिअनुसार वाणिज्य बैङ्कहरूले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म त्यस्तो ऋण लिन पाउँछन् । हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैङ्कको कुल प्राथमिक पूँजी रू.३ खर्ब १६ अर्ब भएकाले सबै बैङ्कले एकैपटक विदेशी ऋण लिएमा करीब रू.७५ देखि ८० अर्बसम्मको लगानीयोग्य रकम प्रणालीमा थपिन सक्छ । तर, सबै बैङ्कको पहुँच र ऋण लिने क्षमता नहुन सक्छ भने कतिपयलाई यस्तो कर्जा आवश्यक नपर्ने भएकाले एकैपटक भनेजति ऋण नआउने राष्ट्र बैङ्कका प्रवक्ता नारायण पौडेल बताउँछन् । केहीले मात्र विदेशबाट रकम ल्याए पनि अहिलेको कर्जाको माग धान्न केही सहज हुने पौडेलको भनाइ छ । उनका अनुसार हालसम्म एनएमबी र एनआईसी एशियालाई अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)बाट कर्जा लिन स्वीकृति दिइएको छ । तर, सबै आवश्यक प्रक्रिया पूरा गरेर अन्तिम स्वीकृतिका लागि कुनै पनि बैङ्क नआएको राष्ट्र बैङ्कको भनाइ छ । त्यसैगरी हिमालयन बैङ्कले पनि चैत २८ गते साना तथा मझौला व्यवसायमा लगानी गर्न आईएफसीसँग सम्झौता गरे पनि राष्ट्र बैङ्कसँग स्वीकृति नमागेको प्रवक्ता पौडेलकोे भनाइ छ । ‘सनराइज बैङ्कले त्यस्तै प्रकृतिको कर्जा लिन विदेशी वित्तीय संस्थासँग सम्झौता गर्न गृहकार्य गरिरहेको जानकारी प्राप्त भएको छ,’ उनले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)