ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्मार्टफोन प्रयोगकर्ताहरू सबैभन्दा बढी असुरक्षित

Jan 1, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

स्मार्टफोनमा रमाइला एप्लिकेशन चलाएर आनन्द महसूस गरिरहनुभएको छ भने तपाईंले अब आफ्ना मोबाइल उपकरणका सुरक्षामा पनि उत्तिकै ध्यान केन्द्रित गर्नुपर्ने देखिएको छ । स्मार्टफोनहरु अन्य परम्परागत कम्प्युटिङ उपकरणको तुलनामा साइबर अपराधीको निशाना बन्ने खतरा सबैभन्दा बढी रहेको विश्वको एक प्रमुख कम्प्युटर तथा वेब सुरक्षा कम्पनी म्याकाफेले चेतावनी दिएको छ । म्याकाफेका ‘प्राइभेसी’ विभाग प्रमुख मिचेल डेन्नेडीले मानिसहरुले अनलाइन बैङ्किङ, विभिन्न प्रकारका अनलाइन भुक्तानीलगायत आफ्ना व्यक्तिगत वित्तीय तथा अन्य जानकारीहरु राख्नका लागि स्मार्टफोनमा निर्भर भइरहँदा अपराधीहरुको ध्यान त्यसतर्फ केन्द्रित भएको बताइन् । कम्प्युटरको तुलनामा स्मार्टफोनको सुरक्षा प्रणाली अत्यन्तै फितलो हुने हुँदा अपराधीहरुलाई सजिलो अवस्था निर्माण भएको उनको भनाइ छ ।

‘मोबाइल उपकरणमा हुने साइबर हमला दुई प्रकारले भइरहेको देखिन्छ, कम्प्युटरमा गरिने परम्परागत ह्याकिङ र मालवेयर हमलाका साथै अहिले बजारमा निकै प्रचलित स्मार्टफोनमा राखिएका नियर–फिल्ड कम्युनिकेशन (एनएफसी) प्रणालीमा रहेका छिद्रलाई पनि अपराधीहरुले प्रयोग गरिरहेका छन्,’ उनले भनिन् । स्मार्टफोनबाटै कुनै रकम भुक्तानी गर्न सेवा दिने एनएफसी खुला हुने भएकाले बदमासहरुले भीडभाडमा त्यसलाई ह्याक गर्दै सूचनाहरु चोर्ने गरिरहेको डेन्नडीको भनाइ थियो ।

म्याकाफेले केही दिन अघिमात्रै सार्वजनिक गरेको एक जोखिम प्रक्षेपण रिपोर्टमा सन् २०१३ मा ह्याकर एवं साइबर अपराधीहरुले व्यक्तिविशेष वा संस्थाकै पनि गोपनीयता भङ्ग गर्न सक्ने नयाँ तरीकाहरु विकास गरिरहेको बताइएको छ । यससँगै रिपोर्टमा मानिसहरुसँग फिरौती रकम माग्न अपराधीहरुले ‘र्‍यान्समवेयर’ प्रयोग तीव्र बनाइरहेको म्याकाफेले चेतावनी दिएको थियो । र्‍यान्समवेयर प्रयोग गर्ने अपराधीहरुले विशेषगरी स्मार्टफोन र ट्याब्लेट कम्प्युटरका प्रयोगकर्ताहरुको सञ्चार तथा तथ्याङ्कमा पहुँच राख्ने क्षमता समाप्त गर्दै उनीहरुका उपकरण काम नलाग्ने बनाइदिने गरेको रिपोर्टमा उल्लेख छ । यसरी उपकरणलाई आफ्ना नियन्त्रणमा लिएपछि प्रयोगकर्ताहरुलाई उनीहरुका स्मार्टफोन वा ट्याब्लेट पीसी चलाउन दिन फिरौतीबापत रकम असुल्ने गरेको म्याकाफेले जानकारी दिएको छ ।

मिचेल डेन्नाडीले नयाँ तवरले साइबर हमला हुन थालेपछि त्यसलाई रोकथाम गर्न कम्पनी सक्रिय बनेको बताइन् । यस्ता हमलाहरु रोक्ने सफ्टवेयर निर्माण भइरहेको उनको भनाइ थियो । तर, यससँगै प्रयोगकर्ता आफै पनि सचेत बन्नुपर्ने उनले बताइन् । आफ्ना स्मार्टफोन र ट्याब्लेटमा जुन पायो, त्यही एप्लिकेशन नराख्न र नियमित अन्तरालमा पासवर्ड परिवर्तन गर्नुका साथै गोप्य वित्तीय जानकारीहरु ‘स्टोर’ नगर्न उनको सुझाव छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)