ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा महँगिँदो पेट्रोलियम

Apr 23, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । भारतमा पेट्रोलियम पदार्थ फेरि महँगिएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भएको वृद्धितर्फ औल्याउँदै सरकारी तेल कम्पनीहरूले विगत ३ दिनमा दोस्रोपटक पेट्रोलियम पदार्थको भाउ बढाएका हुन् । भारतीय सरकारी तेल कम्पनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार सोमवारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउमा प्रतिलिटर क्रमशः १३ पैसा र १५ पैसा बढाइएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा प्रतिलिटर पेट्रोलको भाउ ७४ रुपया ४० पैसामा पुगेको छ । यो सन् २०१३ को सेप्टेम्बर १४ यताकै उच्च हो । त्यतिबेला भने दिल्लीमा प्रतिलिटर पेट्रोलको भाउ ७६ रुपया ६ पैसा थियो । त्यस्तैगरी, डिजेलको भाउ पनि ६५ रुपया ६५ पैसामा उक्लिएको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि शुक्रवार सरकारी तेल कम्पनीहरूले पेट्रोल र डिजेलको भाउ प्रतिलिटर क्रमशः ५ पैसा र ९ पैसा बढाएका थिए । हालैका दिनमा पेट्रोलियम पदार्थको भाउमा भएको वृद्धिसँगै आम उपभोक्तामा परेको मार कम गर्न तेलमा लगाउँदै आइएको अन्तःशुल्क कम गर्नुपर्ने माग थप बढ्ने निश्चित प्रायः छ । भारतको तेल मन्त्रालयले यो वर्षको शुरूमै पेट्रोल र डिजेल माथि लगाउँदै आएको अन्तःशुल्क घटाउन खोजेको थियो । तर, फेबु्रअरी १ मा पेश गरिएको बजेटमा अर्थमन्त्री अरुण जेटलीले यसलाई बेवास्ता गरे । केन्द्रीय कर, अन्तःशुल्क, भ्याट र राज्यस्तरमा लगाइएका करले भारतमा पेट्रोल र डिजेलको खुद्रा मूल्य दक्षिण एशियामै उच्च छ । किन बढ्दै छ भाउ हालैका महीनामा अमेरिकाको कच्चा तेल सञ्चितिमा आएको कमी र मध्यपूर्वमा विगत केही हप्तायता बढेको भूराजनीतिक तनावले आपूर्ति घटाउने आकलनमा अन्तरराष्ट्रिय बजारमा तेलको भाउ बढिरहेको छ । त्यस्तैगरी, तेलको भाउ प्रतिब्यारेल ८० डलरमाथि पु¥याउने साउदी अरेबियाको इच्छाअनुसार प्रमुख पेट्रोलियम निर्यातकर्ता देशहरूको सङ्गठन (ओपेक) र समूहबाहिरका प्रमुख उत्पादकहरूले तेल आपूर्ति घटाउने सम्झौतालाई निरन्तरता दिने अपेक्षाले पनि तेलको भाउ बढेको हो । यद्यपि, ओपेकले इन्धनको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि गराइरहेको र यस्तो कार्य अमेरिकाका लागि अस्वीकार्य भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि केही घटेको तेलको भाउमा शुक्रवार बजार बन्द हुँदा सुधार आएको थियो । सोमवार अन्तरराष्ट्रिय बजारमा ब्रेण्ट कच्चा तेल प्रतिब्यारेल शून्य दशमलव शून्य ४ प्रतिशतले बढेर ७३ डलर ८३ सेन्टमा किनबेच भएको थियो । यस्तै अमेरिकी बेञ्चमार्क लाइट क्रुडको भाउ पनि शून्य दशमलव १३ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ६८ डलर ३८ सेण्टमा पुगेको थियो । पछिल्ला केही दिनमा अमेरिकी राष्ट्रपति ट्रम्प तेलको लागि ‘बुलिश फ्याक्टर’ बनेका छन् । ट्रम्पले आक्रामक विदेशी नीति अपनाउने अपेक्षाले पनि पछिल्ला केही दिनमा तेलको भाउ बढाएको हो । नेपालमा पनि बढ्ने निश्चित भारतमा पेट्रोलियम पदार्थको भाउ यसैगरी केही दिन बढेमा नेपालमा पनि भाउ बढ्ने निश्चितप्रायः छ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोेरेशन (आईओसी)बाट पेट्रोलियम पदार्थ खरीद गर्दै आएको छ । आईओसीले अहिले दैनिक रूपमा तेलको मूल्यमा संशोधन गर्दै आएको भए पनि नेपाल आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियमको मूल्य समायोजन गर्दै आएको छ । यसअघि अप्रिल १६ मा भारतीय बजारमा इन्धनको मूल्य बढेको औैंल्याउँदै निगमले प्रतिलिटर पेट्रोलको भाउ १ रुपैयाँ बढाएर १ सय ६ रुपयाँमा पु¥याएको थियो । डिजेलको भाउ पनि प्रतिलिटर २ रुपैयाँ बढाई ८७ रुपैयाँ कायम गरिएको थियो । नेपालमा खपत हुने सबै पेट्रोलियम भारतबाटै आयात हुन्छ । चालू आर्थिक वर्षको फागुनसम्ममा यहाँ १ खर्ब १६ अर्ब रुपैयाँबराबरको इन्धन आयात गरिएको थियो । सो कुल आयात रकम रू. ७ खर्ब १४ अर्बको १६ दशमलव २४ प्रतिशत हो । भारतीय बजारमा इन्धनको मूल्य बढ्दा चालू आवमा भारतसँगको नेपाली व्यापारघाटा थप फराकिलो बन्नेछ । यसले यातायातको शुल्क महँगो बनाएर समग्र उत्पादन लागत नै बढाउँछ । मुद्रास्फीति बढ्छ र अन्तरराष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमतासमेत घटाउँछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)