भारतीय विद्यार्थीहरूले खाना दान दिन सघाउने एप्लिकेशनको विकास गरेका छन् । अब रेष्टुराँ, केटरर्स तथा अरूहरूले पनि बढी भएको खाना सजिलै यस एप्लिकेशनको माध्यमबाट आवश्यकता भएकाहरूलाई दान दिन सक्ने भारतको दिल्लीस्थित इन्द्रप्रस्थ इन्ष्टिच्युट अफ इन्फर्मेशन टेक्नोलोजी (आईआईआईटी)का विद्यार्थीहरूले बताएका छन् । ‘जिरो’ नाम दिइएको सो एपले केटरर्स/रेष्टुराँ मालिक र केटरिङमा बढी भएको खाना वितरण गर्ने कुरामा संलग्न एनजीओहरूबीच इण्टरफेस गराएर खाना खेर जाने प्रवृत्ति रोक्न सहयोग गर्ने यसका निर्माताहरू बताउँछन् ।
‘खाना दान दिन चाहनेले एपमा रजिष्टर गरेर बढी भएको खाना उठाइदिन अनुरोध गर्नुपर्छ, त्यसपछि खाना वितरण गर्ने एनजीओकोमा नोटिफिकेशन जान्छ र प्रक्रिया अगाडि बढ्छ,’ आईआईटीका विद्यार्थी चेतना बाध्वाले बताएकी छन् । यस्तो प्रकारको आइडिया सन् २०१८ को शुरुआतमै त्यहाँका विद्यार्थीहरूले विकास गरेका थिए । दैनिकजसो टनका टन खाद्यान्न खेर गइरहेको र कतै भने खान नपाएर भोकै बस्नुपर्ने बाध्यताप्रति दृष्टिगत गर्दै उनीहरूले यस्तो इण्टरफेस गराउने योजना बनाएका हुन् । ‘हामीले केटरर्स, ढावालगायत केही सरोकारवालाहरू र रेष्टुराँका मालिकसँग खेर गएका खानेकुराबारे र केही एनजीओ तथा कलेजका विद्यार्थीहरूसँग आवश्यकता भएकाहरूलाई खाद्यान्न वितरण गर्नेबारे चाहनासम्बन्धी अन्तर्वार्ता लिएका थियौं,’ बाध्वाले भनेकी छन् । जिरो एप्सको अन्तिम परीक्षण बाँकी रहेको र यसलाई छिट्टै सार्वजनिक गरिने एप्सको विकासमा संलग्न विद्यार्थीले बताएका छन् । रासस/पिटीआई