ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पको ३ वर्ष : दाबी भुक्तानी शतप्रतिशत नजीक

Apr 25, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
नेपालमा विनाशकारी भूकम्प गएको आज ३ वर्ष पुगेको छ । भूकम्पले मानवीयसँगै अर्बाैं रुपैयाँबराबरको भौतिक संरचना तथा सम्पत्तिको क्षति भएको थियो । तर, ३ वर्ष बितिसक्दा पनि सरकारले पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउन सकेको छैन । यद्यपि, बीमा भएका भौतिक संरचना तथा सम्पत्तिको दाबी भुक्तानी भने शतप्रतिशत नजीक पुगेको छ । बीमा समितिको पछिल्लो तथ्याङ्कअनुसार यो समयावधिमा बीमा कम्पनीहरूले दाबी पछ्र्योट भएका ९८ दशमलव ३२ प्रतिशत बीमितलाई भुक्तानी दिइसकेका छन् । विकसित मुलुकको तुलनामा नेपालमा महाविपत्तिको छोटो समयमै दाबी भुक्तानी भएको बीमा समितिले बताएको छ । भूकम्पपछि क्षतिपूर्तिको माग गर्दै विभिन्न १५ निर्जीवन बीमा कम्पनीमा १७ हजार ८ सय बीमितले दाबी पेश गरेका थिए । यसमध्ये १७ हजार ५ सय १ बीमितको दाबी भुक्तानी भइसकेको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार रकमको आधारमा १६ अर्ब ६९ करोड ४८ लाखबराबरको दाबी परेको थियो । यसमध्ये १६ अर्ब १२ करोड ४२ लाखबराबरको दाबी स्वीकृति भएको थियो । हालसम्म कम्पनीहरूले रू. १३ अर्ब ८७ करोड ७८ लाख दाबी भुक्तानी गरेको बताइएको छ । यसले कुल दाबीको ८३ दशमलव १३ प्रतिशत रकम फछ्र्योट भइसकेको देखाएको छ । भूकम्पमा क्षतिग्रस्त भौतिक संरचना तथा सम्पत्तिमध्ये ५ खर्ब ४४ अर्ब ६ करोडबराबरको बीमा गरिएको तथ्याङ्कमा उल्लेख छ । दाबी फर्छ्योट भएको कुल रकममध्ये ५८ दशमलव २७ प्रतिशत रकम पुनर्बीमा कम्पनीबाट प्राप्त भएको छ । पुनर्बीमा कम्पनीबाट ८ अर्ब ८ करोड ६८ लाख रकम प्राप्त भएको भएको तथ्याङ्कमा उल्लेख छ । यस्तै, यस अवधिमा एभरेष्ट र लुम्बिनी जनरल इन्स्योरेन्सले शतप्रतिशत दाबी भुक्तानी गरेका छन् । हिमालयन जनरल, नेको, प्रभु, प्रुडेन्सियल, शिखर, सिद्धार्थ र एनएलजी इन्स्योरेन्सले भने दाबीमध्ये ९९ प्रतिशतभन्दा बढी भुक्तानी गरेको बताएका छन् । यसबाहेकका कम्पनीले दाबी गरेमध्ये ९५ प्रतिशतभन्दा बढी भुक्तानी गरेका छन् । यद्यपि, सरकारको मातहतमा रहेको राष्ट्रिय बीमा कम्पनीले भने ८६ दशमलव ५७ प्रतिशत मात्र भुक्तानी गरेको तथ्याङ्कमा देखिन्छ । हिमालयन जनरल इन्स्योरेन्समा सबैभन्दा बढी रू. ४ अर्ब ८८ करोड ९४ लाखबराबरको दाबी परेको थियो । त्यसमध्ये रू. ३ अर्ब ८६ करोड ७६ लाख दाबी फछ्र्योट भइसकेको तथ्याङ्कमा उल्लेख छ । यस्तै, राष्ट्रिय बीमा कम्पनीमा सबैभन्दा कम रू. १२ करोड ६७ लाख ३० हजारबराबरको दाबी परेको थियो । त्यसमध्ये रू. ८ करोड १७ लाख दाबी फछ्र्योट भइसकेको तथ्याङ्कमा उल्लेख छ । बाँकी रहेको दाबी भुक्तानी र फछ्र्योटमा ढिलाइ भएको बीमितको गुनासो छ । गत असोज मसान्तसम्म ९८ प्रतिशत दाबी भुक्तानी भइसकेको थियो । त्यसपछिको ६ महीनामा शून्य दशमलव ३२ प्रतिशत मात्र थप भुक्तानी भएको देखिन्छ । बीमा समितिका कार्यकारी निर्देशक श्रीमान् कार्कीले ठूलाठूला भौतिक संरचनाको सर्वेक्षण गर्न गाह्रो भएको तथा कम्पनी र बीमितबीच मिलापत्र हुन नसक्दा दाबी भुक्तानीमा ढिलाइ भएको बताए । त्यस्ता किसिमका विवादित दाबीको मात्र भुक्तानी हुन बाँकी रहेको उनको भनाइ थियो । उनले भने, ‘विवादित विषयमा सहमति गर्न सके छिट्टै शतप्रतिशत दाबी भुक्तानी हुनेछ ।’ भौतिक संरचना र सम्पत्तिमा भविष्यमा हुन सक्ने नोक्सानीको क्षतिपूर्ति ग्यारेण्टी गर्न निर्जीवन बीमा गरिन्छ । करार गर्दाको सम्झौताअनुसार बीमित सम्पत्तिको रक्षावरण गर्न सम्बन्धित व्यक्तिले तोकिएको बीमाशुल्क कम्पनीलाई बुझाउनुपर्छ । तोकिएको अवधिभित्र कुनै कारण बीमित सम्पत्तिको हानि–नोक्सानी भएमा बीमाङ्कको परिधिमा रही वास्तविक हानि–नोक्सानीका आधारमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्ति प्रदान गर्छ । नेपालमा यसको अभ्यास २००४ सालदेखि हुँदै आएको छ । महाविपत्तिमा विश्वकै छिटो भुक्तानी ३ वर्षमा दाबी बीमा रकमको करीब शतप्रतिशत भुक्तानी हुनु विश्वकै ऐतिहासिक भएको बीमा समितिले बताएको छ । विकसित मानिने जापानलगायत मुलुकमा महाविपत्तिमा १०औं वर्ष लगाएर दाबी भुक्तानी हुने गरेको समितिको भनाइ छ । समितिका कार्यकारी निर्देशक कार्कीले भने, ‘महाविपत्तिमा दाबी भुक्तानी गर्नु चुनौतीपूर्ण हुन्छ । त्यसमाथि ३ वर्षमा करीब शतप्रतिशत दाबी भुक्तानी हुनु नेपालको बीमाक्षेत्रका लागि धेरै राम्रो सन्देश हो ।’ भूकम्पले पनि ल्याएन बीमा चेतना भूकम्पको कारण नेपालले ठूलो जनधनको क्षति बेहोर्नुपरेको थियो । बीमाको पहुँच कम भएको देशमा सीमित व्यक्ति र सम्पत्तिको मात्र बीमा गरिएको थियो । त्यसैले, अधिकांश भूकम्पपीडितले पुनर्निर्माणका लागि गुहार माग्न सरकारबाहेक अन्य कुनै निकाय थिएन । यो परिस्थितिमा आम मानिसमा बीमासम्बन्धी चेतनाको अभिवृद्धि हुने बीमा बजारको अपेक्षा थियो । तर, नतीजा सोचेभन्दा उल्टो भएको बीमा कम्पनीहरू बताउँछन् । समितिका कार्यकारी निर्देशक कार्कीले भूकम्पका कारण सर्वसाधारणमा बीमासम्बन्धी चेतना अपेक्षाकृत बढ्न नसकेको बताए । भूकम्पपछिको समयमा पनि बीमालेख जारी पहिलेको जस्तै सामान्य अवस्थामा रहेको उनको भनाइ छ । ‘आम मानिसले भूकम्प आउने समयमा बीमाको महत्त्व बुझे पनि विस्तारै बेवास्ता गर्दै गएको देखिन्छ,’ उनले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)