ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

८४ पैसा सस्तियो नेपाली रुपैयाँ

Apr 26, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको भाउ ८४ पैसाले घटेको छ । बुधवार अमेरिकी टे«जरीको प्रतिफल बढेसँगै मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलरको भाउ बढेको थियो । डलरको तुलनामा भारतीय रुपयाको भाउ घटेपछि रुपैयाँको भाउ पनि स्वतः घटेको हो । भारूसँग नेपाली रुपैयाँ आबद्ध (पेगिङ) गरिएको छ । नेपाल राष्ट्र बैङ्कले बुधवार प्रतिडलर रुपैयाँको विक्री दर १ सय ७ रुपैयाँ ३५ पैसा कायम गरेको थियो । यसको अर्थ १ डलर किन्न नेपालीहरूले १ सय ७ रुपैयाँ ३५ पैसा खर्च गर्नुपर्छ । यो अघिल्लो दिनको तुलनामा ८४ पैसा धेरै हो । मङ्गलवार भने एक डलर किन्न १ सय ६ रुपैयाँ ५१ पैसा भए पुग्थ्यो । ‘अन्तरराष्ट्रिय मुद्रा बजारमा डलरको भाउमा भएको वृद्धिका कारण रुपैयाँको क्रयशक्ति घटेको हो,’ नेपाल राष्ट्र बैङ्कका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले भने । बुधवार कायम रुपैयाँको भाउ २०७३ फागुन १३ यताकै न्यून हो । त्यतिबेला १ सय ७ रुपैयाँ २४ पैसा बराबर एक डलर थियो । बुधवारको भाउ विगत २ वर्षको औसतभन्दा १ रुपैयाँ ८८ पैसा कम हो । २०७३ को वैशाख १३ यता डलर रुपैयाँ विनिमय दर औसत १ सय ५ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । त्यस्तै १८ वर्षे औसत विनिमय दरको तुलनामा पनि यो कम हो । सो अवधिमा एक डलर किन्न नेपालीहरूले औसतमा ८२ रुपैयाँ ६३ पैसा मात्रै खर्च गरेका छन् । डलर किन्ने रुपैयाँको क्रयशक्ति घट्नुको अर्थ विदेशबाट वस्तु किन्न नेपालले बढी डलर तिर्नु पर्दछ । नेपालले अहिले दैनिक उपभोग्य वस्तु, उद्योग, कलकारखानामा चाहिने कच्चा पदार्थ मात्रै होइन मेशिनरी वस्तुसमेत आयात गरिरहेको छ । यी वस्तु किन्न बढी डलर खर्च गर्नु परेपछि यातायातको भाडा, खाद्यान्नको भाउ, आयातित र यहाँ उत्पादित वस्तुको भाउसमेत बढ्छ । सरकारले विदेशी दाताबाट लिएको कर्जाको ब्याज र सावा बुझाउनसमेत धेरै डलर खर्च गर्नुपर्छ । यद्यपि, यसका केही फाइदा पनि छन् । कामका सिलसिलामा विदेशिएका नेपालीले नेपालमा पठाउने विप्रेषण बढ्छ । विदेशी पयर्टकले यहाँ गर्ने खर्च बढ्छ । निर्यातकर्ता कम्पनीको रुपैयाँमा आम्दानी पनि बढ्छ । तेलको भाउ बढेसँगै भारु दबाबमा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्न थालेयता भारुको भाउ दबाबमा आएको छ । महँगिएको तेल आयातले व्यापार घाटा थप फराकिलो बन्ने चिन्ताले हालैका दिनमा डलरको तुलनामा रुपयाको भाउ घटेको छ । यसमा बैङ्किङ क्षेत्रमा देखिएको भद्रगोलले आगोमा घ्यूको काम गरेको विश्लेषणसमेत गरिएको छ । बुधवार बिहान बजार खुल्दै भारुको भाउ ९ पैसा घटेको थियो । बजार बन्द हुँदा डलर भारु विनिमय दर ६६ रुपया ८९ पैसामा आएको थियो । यो अघिल्लो दिनको तुलनामा ५० पैसा कम हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)