काठमाडौं । नेपालीको वार्षिक औसत प्रतिव्यक्ति आय १ हजार अमेरिकी डलर नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गतवर्ष ८ सय ६६ डलर रहेको त्यस्तो प्रतिव्यक्ति आय चालू आर्थिक वर्ष (आव) २०७४/७५ मा १ सय ३८ डलर बढेर १ हजार ४ डलर पुगेको हो । भूकम्प र नाकाबन्दीका कारण आव २०७२/७३ मा प्रतिव्यक्ति आय घटे पनि त्यसपछि विस्तारै सुधार भएको विभागको भनाइ छ ।
विभागले चालू आवमा नेपालको अर्थतन्त्र ५ दशमलव ८९ प्रतिशतले बढेर रू. ३० खर्ब ७ अर्ब पुग्ने अनुमान गरेको छ । चालू आवको ९ महीनासम्मको आर्थिक गतिविधिसम्बन्धी आँकडा तथा सूचनाका आधारमा यो अनुमान गरिएको आव २०७४/७५ को राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक कार्यक्रममा बताइयो । सरकारले आवको शुरूमा ७ दशमलव २ प्रतिशत प्रक्षेपण गरेको आर्थिक वृद्धिदर मध्यावधि समीक्षामार्पmत ६ प्रतिशतमा झारेको थियो । तर, विश्व बैङ्क र एशियाली विकास बैङ्क (एडीबी)ले भने चालू आवको आर्थिक वृद्धिदर ५ प्रतिशत नपुग्ने अनुमान सार्वजनिक गरेका थिए । एडीबीले ४ दशमलव ९ र विश्व बैङ्कले ४ दशमलव ६ प्रतिशतको वृद्धिदर प्राप्त हुने प्रक्षेपण गरेका छन् ।
समीक्षा अवधिमा कृषिक्षेत्रको वृद्धिदर २ दशमलव ८२ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गतवर्ष यस क्षेत्रको वृद्धि ५ दशमलव २ प्रतिशत थियो । त्यसैगरी, गैरकृषि क्षेत्रको वृद्धिदर ७ दशमलव १ प्रतिशत रहने अनुमान छ, जुन गत आवमा ८ दशमलव ५ प्रतिशत थियो । तराईको बाढी, घट्दो विप्रेषण र उच्च ब्याजदरका कारण आर्थिक गतिविधिमा अपेक्षित वृद्धि नहुँदा वृद्धिदर खुम्चिएको विभागको भनाइ छ ।
गत आवमा ७ दशमलव ५ प्रतिशतले आर्थिक वृद्धि भएको संशोधित अनुमान विभागले प्रस्तुत गरेको छ ।
गत ३ वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा प्राथमिक क्षेत्रको योगदान घट्दै गएको र सेवाक्षेत्रको योगदान बढ्दै गएको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । तथ्याङ्कअनुसार कृषि, वन, मत्स्य र खानी समावेश प्राथमिक क्षेत्रले जीडीपीमा २८ दशमलव २१ प्रतिशत योगदान दिएको छ । जीडीपीको तुलनामा विपे्रषणको अनुपात पनि क्रमशः घट्दै गएको विभागले जानकारी दिएको छ । गत आवमा २६ दशमलव ३२ प्रतिशत रहेको त्यस्तो अनुपात चालू आवमा घटेर २४ दशमलव ५२ प्रतिशतमा सीमित भएको छ । चालू आवमा कृषिक्षेत्रमा उल्लेख्य वृद्धि नभए पनि पुनर्निर्माणका लागि वन पैदावारका सामग्री र उत्खनन क्षेत्रमा उत्पादन वृद्धिजस्ता कारणले सो क्षेत्रमा जीडीपी वृद्धि भएको छ । यसैगरी, द्वितीय क्षेत्रअन्तर्गतका निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानीले जीडीपीमा १४ दशमलव १८ योगदान दिएको अनुमान गरिएको छ । पुनर्निर्माण तथा अन्य निर्माण कार्यको तीव्रता, ऊर्जाक्षेत्रको विस्तार, औद्योगिक क्षेत्रमा भएको उत्पादन वृद्धिले त्यसमा उल्लेख्य योगदान दिएको अर्यालको भनाइ छ ।
अर्थतन्त्रको सबैभन्दा ठूलो अंश ओगटेको सेवाक्षेत्रले जीडीपीमा ५७ दशमलव ६१ प्रतिशत योगदान दिएको छ । स्वदेशी वस्तु उत्पादनमा भएको वृद्धि, पर्यटन आगमनमा वृद्धि र विद्युत् आपूर्तिमा भएको सहजताले सामाजिक सेवामा उल्लेख्य सुधार हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । जीडीपीमा कृषिक्षेत्रको २७ दशमलव १० र गैरकृषि क्षेत्रको ७२ दशमलव ९० प्रतिशत योगदान रहेको प्रारम्भिक अनुमान विभागको छ ।