सामान्यतया कार्यालयका व्यवस्थापकहरुले कर्मचारीहरुलाई उनीहरुले काम गर्ने ठाउँका डेस्क, टेबुललगायत वरिपरिका स्थानलाई व्यवस्थित राख्न प्रेरणा दिने गर्छन् । सफा र व्यवस्थित तवरले राखिएका ठाउँहरुमा काम गर्दा राम्रो र सुखद अनुभूति हुने मात्र नभई कर्मचारीको उत्पादकत्वमा पनि सकारात्मक प्रभाव पर्ने उनीहरुको धारणा हुने गर्दछ । तर, जर्मन अनुसन्धानकर्ताहरुको एक समूहले गरेको एक अध्ययनमा भने कार्यालयमा अव्यवस्थित ढङ्गले सामग्रीहरु असरल्ल पारेर छरिएका डेस्कमा काम गर्ने कर्मचारीहरु अन्यको तुलनामा बढी स्पष्टताका साथ सोच्न र काम गर्न सक्ने अनौठो तथ्य पत्ता लगाएको छ । उनीहरुका अनुसार वरिपरिको अवस्थिति अव्यवस्थित हुने कार्यस्थलका कर्मचारीहरुको सोचाइ समस्याहरुलाई सकेसम्म सरल बनाउन केन्द्रित हुने गर्दछ ।
यो अध्ययनमा अनुसन्धानकर्ताहरुले शृङ्खलाबद्ध प्रयोगहरु गरेका थिए । यसका लागि उनीहरुले एक सानो पसल र कार्यस्थल बनाउँदै त्यहाँ काम गर्ने कर्मचारीका डेस्कमा फाइल, पुस्तकलगायत कार्यालयमा प्रयोग हुने सामग्रीलाई असरल्ल ढङ्गले राखेका थिए । त्यसपछि उक्त अध्ययनमा सामेल हुन आएका केही स्वयंसेवका रुपमा आएका कर्मचारीहरुलाई यसबारे कुनै पनि जानकारी नदिई काम गर्न लगाइयो । यस क्रममा देखिएका विभिन्न समस्यालाई ती कर्मचारीले निकै सरलतापूर्वक हल गरेको उनीहरुको विचार पनि बढी स्पष्ट पाइएको थियो ।
प्रयोगका क्रममा भेटिएका तथ्याङ्कहरुलाई विश्लेषण गर्दै अनुसन्धानकर्ताहरुले वरिपरिको अव्यवस्थामा मानिसहरु बढी सहजता र राम्रोसँग काम गर्न सक्नुमा मनोवैज्ञानिक कारण रहेको बताए । मानिसहरुलाई आफूले देखेको र मानसिक रुपमा महसूस गरिरहेको अव्यवस्थाले उनीहरुलाई बढी स्पष्टताका साथ सोचाइ केन्द्रित गर्न दबाब दिने अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् । ‘अव्यवस्थित डेस्कहरुले काम गर्दा कुनै भूमिका नखेल्ने देखिए पनि यसबाट कर्मचारीको कार्यदक्षता बढ्ने र उनीहरुमा समस्याहरुलाई सृजनात्मक ढङ्गले समाधान गर्ने क्षमता वृद्धि हुने पाइएको छ,’ अनुसन्धानकर्ताहरुले भनेका छन् । महान् वैज्ञानिक अल्बर्ट आइन्ष्टाइन र सुप्रसिद्ध लेखक रोआल्ड डालको उदाहरण दिँदै उनीहरुले ती दुई व्यक्तित्व उनीहरुका अव्यवस्थित कार्यकक्षका लागि प्रख्यात रहेको उल्लेख गरेका छन् ।