ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गणतन्त्र दिवसमा रात्रिभोज !

Apr 27, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
हालै सरकारले थुप्रै सार्वजनिक विदा कटौती गर्‍यो, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस, नागरिक सेवा दिवस आदि । विदा नभएपछि यी सबै दिनमा अफिस खुल्छन् । तर, दिवसका औपचारिक कार्यक्रम अर्थात् समारोह चैं कटौती भएका छैनन्, ती पुरानै परम्पराअनुसार नै चल्छन्, चलिरहेका छन् । कार्यक्रम समारोह भनेपछि दिवाभोज र रात्रिभोज पनि चल्छन् । अस्ति गणतन्त्र दिवसमा पनि राम्रै भोजहरु आयोजना भए क्यारे । दिवसहरुको अवसर पारेर सरकारले एकातिर भोज गर्छ, एनजीओहरुले अर्काेतिर । आहा क्या मज्जा ! तर सबैले भोज चैं किन एकै दिन गर्‍या होला ? आलोपालो कसैले एक दिनअघि, कसैले एक दिनपछि समेत मिलाएर गद्र्या भए खाने मुख भएका जुँगेहरुलाई र जुँगा नहुनेहरुलाई समेत तीन दिनसम्म रमाइलो हुन्थ्यो नी ! हेर्नुस् न कुनै हप्ता एउटै भोजको निम्तो हुँदैन । तर कुनै बेला एकैदिन ३/४ वटासम्म भोज भ्याइदिनुपर्ने । खासगरी बिहेको लगन परेका बेला त यस्तै हुन्छ । अनि यस्ता राष्ट्रिय दिवसमा पनि कहाँ मात्रै जानु ? कहाँ मात्रै खानु ? भोज पनि कति प्रकारका । सुख्खा भोज मात्र । सुरापानसहितको रात्रीभोज । प्रितिभोज । धन्यवाद भोज । बिदाई भोज । विवाह भोज, पास्नी भोज । जन्म भोज । मृत्यु भोज पनि हुँदो रैछ । गाउँघरतिर भोज खाएर थुप्रै जना बिरामी भएको र अझ कतिपयको मृत्युसमेत भएको समाचार बेलाबेलामा आउँछ । त्यै हो मृत्यु भोज । बिहेको निम्तोकार्डमा चैँ प्रायः प्रितिभोज भनेर लेखिएको हुन्छ । ठीकै हो, बिहे भोजलाई त प्रितिभोज भन्न मिल्ला । प्रिति जुराइदिएका कारण प्रितिभोज । वा भोजन चैँ प्रितिकर हुन्छ भनेर त्यस्तो भनेको पनि होला । तर, धेरैजसो पार्टी प्यालेसमा खाएको प्रितिभोज त्यति प्रितिकर चैं लाग्दैन । खासगरी यो पंक्तिकारको पेटले भने खाएको केही समयपछि नै राम्रै विद्रोह शुरु गर्छ । यो सम्झेर अर्काे पटक भोजहरुमा नजाऊँ जस्तो पनि लाग्छ । तर, आफूलाई सम्झेर, सम्मान गरेर बोलाएको ठाउँमा नजान पनि मिलेन । नजाँदा फेरि आफैलाई कताकता केके न छुट्यो कि जस्तो पनि लाग्छ । के गर्ने गर्ने हुन्छ । त्यसकारण हिजोआज चारओटा प्रितिभोज पुगेर आए पनि अन्तमा घरको भान्छामा राति छामछाम छुमछुम गर्ने बानी परिसकेको छ । एकपटक त सबै सुतिसकेका कारण आफै खाना खोज्ने क्रममा भाँडा खसेर ठूलो आवाज आएका कारण चोर आयो भन्ठानेर कसो आफ्नै परिवारको पिटाइमा परिएन । तर पार्टीमा बफेको लामालामा लाइनमा बसेर मासुदेखि मिठाईसम्म, भातदालदेखि सलाद र पापडसम्म ड्याम्म एकैचोटी एकै ठाउँमा उरुङ लगाएर बढो स्वाद मानीमानी प्रितिभोज खानेहरुको पेटले विद्रोह गर्छ कि गर्दैैन होला ? अझ प्रितिभोज अघि चिल्ला, नुनिला, पिरा स्न्याक्सका साथ चिसो, मदिरा वा अन्य झोल पदार्थ खानेहरुको शरीर खुशीले कति नाच्छ होला ? सोध्ने कुरा पनि भएन ।
भोजहरु आयोजना भएनन् भने कहाँ भेट्न जाने आफन्तहरुलाई ? नयाँ घर किनेकोे, खसी छिनेको, नयाँ साडी वा नयाँ गाडि जोडेको, विरोधीको घमण्ड तोडेको भन्नेजस्ता आफ्ना गौरवगाथा कहाँ गएर कसलाई सुनाउने ?
आखिर यति धेरै भोज कसले, किन गर्छन् त भन्ने प्रश्न उठ्न सक्छ । उत्तर सजिलै छ, भोज ख्वाएर मान्छेहरुलाई आफ्नो बनाउँदै जाने चलान पुरानै हो नि । यसलाई भोज राजनीति पनि भनिन्छ । त्यसैले त दोस्रो पटक राष्ट्रपति हुनुभन्दा अघिसम्म विद्या भण्डारीले थुप्रै पटक फरकफरक नेताहरुलाई बोलाएर भोज गरेको ‘भोजनीति’को कुरा पनि समाचारमा आएकै थियो । अझ प्रचण्डको त पूरै परिवारमात्र होइन उनीहरुका छोरी, ज्वाइँ, बुहारीसमेतलाई भण्डारीले राष्ट्रपति निवासमै बोलाएर भोज खुवाएकी थिइन् क्यारे । उसो त डा. रामवरण यादवले पनि राष्ट्रपति हुँदा भएजति मधेशवादी दलका नेताहरुलाई बोलाएर माघे संक्रान्तिमा खिचडी भोज ख्वाएको कुराले त्यस बेला बजार तातेको थियो । त्यस्तै, पार्टीहरु एकीकरणको सहमति भएको बहानामा कति भोज खाए खाए नेताहरुले । चुनावताका पनि नेपाली मतदाताहरुलाई नेताहरुले दिने गरेको भोज खान भ्याई नभ्याई हुने गरेको छ । सर्वसाधारण व्यक्ति र सरकार अनि राजनीतिक नेता मात्र होइन, संस्थाहरु पनि भोज गरिरहने कुरामा पछि चैँ छैनन् है । नेउवा महासङ्घ, नेपाल चेम्बर, सीएनआई र तिनका सदस्य कम्पनीहरु त वर्षैभरि अनेकखाले भोजको आयोजन गरी नै रहन्छन् । सक्नेले गर्नु पनि पर्छ । नत्र होटल र पार्टिप्यालेसहरु कसरी चल्छन् । त्यत्रो लागानीमा खुलेका पार्टिप्यालेसहरु चलाउन पनि भोजहरु त गरिरहनै पर्छ । सिंहदरबारभित्र भइरहने भोज श्रृंखलाको त यहाँ कुरै नगरौं । हुन पनि भोज नखाई मोज हुँदैन नि । मोज नभै हाकिमी पोज आउँदैन, सेल्फी खिच्न । भोज खानेको सोच नै हेर्नुस् न कस्तो विकसित हुँदै जान्छ । पहिले पहिले काठमाडौंमा ‘ठकुरी बिग्रे मोजले, नेवार बिग्रे भोजले’ भन्थे । तर जमाना बदलिइसकेको छ । अहिले त भोजले मान्छे सप्रिन्छ, व्यापार उँभो लाग्छ । वर्तमानमा उद्घाटन, मिटिङ, पुरस्कार, मान, सम्मान, भोज त रोज गर्नुपर्छ । सरकारले सम्वृद्धि सम्वृद्धि भन्ने गरेको छ । यस्तै त हो सम्वृद्धि भनेको । अर्को कुरा, भोजहरु आयोजना भएनन् भने कहाँ भेट्न जाने आफन्तहरुलाई ? नयाँ घर किनेकोे, खसी छिनेको, नयाँ साडी वा नयाँ गाडि जोडेको, विरोधीको घमण्ड तोडेको भन्नेजस्ता आफ्ना गौरवगाथा कहाँ गएर कसलाई सुनाउने ? छिमेकीलाई मात्र कति सुनाइरहने ? त्यसैका लागि पनि पार्टी वा भोज त भइरहनै पर्छ, गइरहनै पर्छ । भोज हाम्रो परम्परा पनि हो । यसलाई जोगाइराख्नु पर्छ है ! जे होस्, यो भोजभतेर परम्परा जोगाइराख्न सरकारले जारी राखेको अथक प्रयासको भने प्रशंसा गर्नैपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)