ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल : जेठ ७ देखि दैनिक २१ घण्टा सञ्चालन

Apr 27, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आउने जेठ ७ गतेदेखि दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । एअर ट्राफिक जामका कारण लामो समय विमान आकाशमै होल्ड गर्नुपर्ने बाध्यता तथा हवाई उडान चाप कम गर्न पर्यटन अहिले सञ्चालन हुने दैनिक १८ घण्टाको समयलाई बढाएर २१ घण्टा गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । मन्त्रालयले सय दिनभित्र सम्पादन गर्ने कार्यबारे भइरहेको मन्त्रालयअन्तर्गतका निकायसँग बिहीवार आयोजित समीक्षा कार्यक्रममा मन्त्री अधिकारीले दैनिक २१ घण्टा विमानस्थल सञ्चालनका लागि त्रिभुवन विमानस्थल कार्यालयले आवश्यक तयारी गरेकोले जेठ ७ गतेदेखि सोहीअनुसार सञ्चालन हुने बताए । कार्यक्रममा मन्त्री अधिकारीले एयर ट्राफिक जाम कम गर्न विमानस्थलको क्षमता बढाएर सञ्चालन अवधि थपिने बताए । उनले त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न तथा थपिएको समयमा उडान तालिका समायोजन गर्न अन्तरराष्ट्रिय विमान कम्पनीसँग समन्वय गर्न निर्देशन दिए । उनले भने, ‘यस कामका लागि आवश्यक जनशक्ति व्यवस्थापन र अन्य प्राविधिक विषयमा जे गर्नुपर्छ, त्यो गर्नुस् ।’ यस्तै मन्त्री अधिकारीले सबै निजी कम्पनीका एकएकओटा विमानलाई त्रिभुवन विमानस्थलबाट क्षेत्रीय विमानस्थलमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए । उनले भने, ‘आन्तरिक उडान गर्ने १७ सीटे एउटा जहाजका कारण सयौं यात्रु बोकेका एअरबस, बोइङ आकाशमै होल्डिङ हुनु कुनै पनि रूपमा न्यायोचित छैन । यसको सुधारका लागि आन्तरिक उडानका जहाजलाई काठमाडौंबाहिर लैजानुपर्छ ।’ विमानस्थल सञ्चालन अवधि बढेसँगै शहरको चहलपहल पनि बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने मन्त्री अधिकारीको धारणा छ । यस्तै काठमाडौंको रात्रिकालीन समयमा पर्यटकीय गतिविधि बढाउन स्वयम्भू, पशुपतिलगायत क्षेत्रमा रात्रिकालीन लाइट तथा प्रदूषणरहित सवारीसाधनको व्यवस्था र सोहीअनुसारको प्याकेज तयार पार्न पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । काठमाडौंको हकमा नयाँ पर्यटन प्याकेज बन्न सक्ने मन्त्री अधिकारीले बताए । समीक्षा कार्यक्रममा मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई चीनबाट आएका जहाज सय दिनभित्रै चलाउने गरी व्यवस्था गर्न निर्देशन दिए । सडक सञ्जाल नपुगेका ठाउँका जनताले जहाजको सेवा पाउनुपर्ने उनीहरूको अधिकार भएको बताउँदै मन्त्री अधिकारीले आफूलाई मन लागे उडाउने मन नलागे नउडाउने गर्ने छूट पाइलटलाई नभएको बताए । यस्तै निगमको टिकट विक्रीलाई खुला र पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै निगमको एजेण्ट बन्ने तर टिकट नबेच्ने एजेण्टबाट खोसेर अन्य एजेण्टलाई दिन निगमलाई निर्देशन दिएका छन् । कार्यक्रममा मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन गर्ने विषयमा कर्मचारीबाट कुनै अवरोध आए, असहयोग भए वा त्यसलाई प्रोत्साहन गरेको भेटिए कारबाही गरिने बताए । कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालय, नेपाल वायुसेवा निगम, पुरातत्त्व विभाग, पर्यटन विभाग, पर्यटन बोर्डलगायत मन्त्रालयमातहतका विभाग तथा कार्यालयले सय दिनभित्र सम्पादन गर्नुपर्ने कामको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । मन्त्री अधिकारीले गत चैत १७ गते पत्रकार सम्मेलन गरी १६ क्षेत्रमा १ सय १० काम गर्ने प्रतिबद्धतासहितको कार्ययोजना सार्वजनिक गरेका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)