ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोलकाता बन्दरगाहबाट आउने नेपाली कार्गोमा ‘ईसीटीएस’ प्रणाली

Apr 27, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
वीरगञ्ज । भारतीय समुद्री बन्दरगाह हुँदै तेस्रो मुलुकबाट नेपालका लागि आउने कार्गोमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिष्टम (ईसीटीएस) लागू भएको छ । कोलकाता बन्दरगाह हुँदै नेपाल आउने कण्टेनर कार्गोमा यो प्रविधि लागू भएसँगै समुद्रपारको व्यापारको लागत कम हुने अपेक्षा गरिएको छ । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले नेपाली कार्गोमा ईसीटीएस कार्यान्वयनमा आएको बतायो । महावाणिज्यदूत एकनारायण अर्यालले कोलकाता बन्दरगाहबाट आउने कार्गोमा प्रविधि शुरू भएको बताए । ‘कोलकाता बन्दरगाहले नेपालका लागि आएका कण्टेनरमा प्रविधि कार्यान्वयनमा ल्याएको छ । यसबाट नेपालको आयात छिटोछरितो हुने विश्वास गरिएको छ,’ महावणिज्यदूत अर्यालले आर्थिक अभियानसित भने । कोलकाता बन्दरगाह भएर नेपाल आउने कण्टेनर कार्गोलाई ईसीटीएस प्रणालीमा जोडिएसँगै आयातको लागत घट्ने दाबी सरोकारका पक्षको छ । नेपालको कार्गो ‘ह्याण्डलिङ’मा अन्य प्रतिस्पर्धी बन्दरगाह अगाडि आएपछि कोलकाताले पूर्वाधार र प्रविधि सुधार थालेको अर्यालले बताए । ‘कोलकाता बदरगाहमा सुधारको प्रयास नेपालको आयातका लागि अवसर हो,’ उनले भने, ‘यो अवसरलाई स्वदेशी आयातकर्ताले उपयोग गर्नुपर्छ । कोलकाता बन्दरगाहले एशियाली विकास बैङ्कको सहयोगमा गत मार्चको शुरूदेखि परीक्षणका रूपमा आन्तरिक ढुवानीमा यो प्रणाली लागू गरेको थियो । नेपालका लागि पहिलोपटक कार्यान्वयनमा ल्याइएको हो । तेस्रो मुलुकबाट आउने ८० प्रतिशतभन्दा बढी कण्टेनर कार्गो कोलकाता बन्दरगाहबाट आउँछन् । कोलकातामा भएको सुधारले आयातमा सकारात्मक प्रभाव पर्ने आयातकर्ता बताउँछन् । यो प्रविधि रेल र सडक दुवै मार्गका लागि प्रभावकारी हुने बताइएको छ । प्रविधि उपयोगबापत आयातकर्ताले प्रत्येक ‘लोडेड’ कण्टेनरमा ३ हजार ३ सय र खालीमा ८ सय भारतीय रुपया तिर्नुपर्छ । हल्दिया र विशाखापत्तनम् बन्दरगाहमा पनि यो प्रविधि कार्यान्वयनमा ल्याइनेछ । यसबाट नेपाली आयातको लागत घट्नुका साथै बन्दरगाहको प्रक्रिया र ढुवानीका क्रममा बाटोमा हुने ढिलासुस्तीसमेत न्यूनीकरणमा सघाउ पुग्ने बताइएको छ । बन्दरगाहमा आइपुगेका कण्टेनरको सिलमा रेडियो फ्रीक्वेन्सी आइडेण्टिफिकेशन डिभाइस (आरएफआईडी) जडान गरिन्छ । यसको मद्दतबाट बन्दरगाह, दुवै देशका भन्सार अधिकारी र आयातकर्ताले कार्गोको अवस्थिति सजिलै थाहा पाउन सक्ने कोलकाता पोर्ट ट्रष्टका अधिकारी बताउँछन् । कोलकाता बन्दरगाह भौतिक र प्राविधिक सुधारमा लागिपरेको पोर्ट ट्रष्टका अध्यक्ष विनितकुमारले बताए । ‘संरचनागत र प्राविधिक पक्षको सुधारमार्फत सेवाग्राहीलाई प्रभावकारी सेवा दिन प्रयासरत छौं,’ उनले भने । आयातकर्ताले भारतीय बन्दरगाहमा हुने भन्सार प्रक्रिया हटाउन माग गर्दै आएका छन् । कार्गोको सुरक्षा संवेदनशीलता र ढुवानीका क्रममा दुरुपयोगलाई कारण देखाएर भारतीय पक्षले आनाकानी गरिरहेको छ । ईसीटीएसबाट कण्टेनरको अवस्थिति सजिलै पत्ता लगाउन सकिने भएकाले भारतीय पक्षको आशङ्कासमेत समाधान हुने दाबी गरिएको छ । ईसीटीएसबाट कार्गो गन्तव्यको बाटो छोडेर अन्यत्र लगेमा तत्कालै जानकारी पुग्छ । यो प्रविधि कार्यान्वयनमा आएपछि नेपाली आयातमा भारतीय समुद्री बन्दरगाहमा भइरहेको भन्सार प्रक्रिया हटाउन सहज वातावरण बनेको आयातकर्ता प्रदीप केडियाले बताए । ईसीटीएसको कार्यान्वयन सफल भए आयातनिर्यात व्यापारलाई लाभ पुग्ने उनको विश्वास छ । महावाणिज्यदूत अर्यालले यसबाट आयातकर्ताले घरमै बसीबसी अनलाइनबाटै कण्टेनरनको अवस्था पत्ता लगाउन सक्ने बताए । बन्दरगाह व्यवस्थापन, त्यहाँको भन्सार, आयातकर्ताका प्रतिनिधि, ढुवानीकर्तालगायत सबै पक्षलाई समयमै काम सक्न दबाब हुने उनको दाबी छ
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)