पछिल्लो समय विश्वभर ध्यान, नैतिकता, ज्ञानलगायत बुद्धका सिद्धान्त व्यवसाय व्यवस्थापनका विभिन्न पक्षमा प्रयोग भइरहेका छन् । व्यावसायिक नैतिक व्यवहार उच्च बनाउन र कर्मचारी एवम् ग्राहकका सन्तुष्टि, सचेतना तथा खुशी सुनिश्चित गर्न प्रभावकारी व्यवस्थापनमा बुद्धका शिक्षा अवलम्बन गर्ने प्रवृत्ति बढेको छ । केही कम्पनीले त नाफा कमाउने क्रममा कम्पनीको प्रोफाइल पनि सफा राखिराख्न बौद्ध व्यवस्थापन अपनाएका छन् । कसैलाई हानि गर्नुहुन्न भन्छ बुद्धवादले । व्यवस्थापनमा यस्तो सिद्धान्त अपनाउने कम्पनीहरूले व्यवसायसँग सम्बन्धित सबै मानिसको हितमा ध्यान दिन्छन्, मानसिक र शारीरिक रूपमा हान हुने काम गर्दैनन् ।
बौद्ध व्यवस्थापन र व्यवसाय
भिक्षु सङ्घको अवधारणामार्फत बुद्धले प्रभावकारी व्यवस्थापनको अवधारणा ल्याएका थिए । सङ्घले बौद्धवादमा सङ्गठनात्मक व्यवस्थापनको उदाहरण दिन्छ । बुद्धको शिक्षालाई दृष्टिगत गरेर व्यवसाय व्यवस्थापन गर्नु नै बौद्ध व्यवस्थापन हो । कार्यस्थलमा अनावश्यक तनावको स्थिति आउन नदिन र कर्मचारीबीच सन्तुष्टि तथा सौहार्दपूर्ण वातावरण कायम गर्न यसले महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्लेषकहरू बताउँछन् । बौद्ध सङ्घले बुद्धको अनुसरण गर्ने समुदायको व्यवस्थापन गर्छ भने व्यवसायले व्यावसायिक गतिविधिको । बौद्धवादले व्यवसायलाई बढी नाफा कमाउन सहयोग गर्ने भने होइन । यसले व्यवसायलाई नाफा कमाउन मद्दत गर्ने सबै पक्षको उचित हेरविचार गर्न भन्छ । बौद्ध शिक्षालाई अपनाउने व्यवसाय तथा कम्पनीले व्यवस्थापन र सङ्गठनात्मक तहहरूमा कर्मचारीको छनोट, प्रोत्साहन प्रणालीका साथै कार्यस्थलमा द्वन्द्व घटाउन बुद्धको अष्टमार्ग, सचेतता, इमानदारी, पारस्परिक सम्मान र आत्मानुशासनको अभ्यास गर्दछन् । इमोशनल इण्टिेलिजेन्स बढाउन पनि यसको प्रयोग बढेको छ । व्यावसायिक अभ्यास राम्रो हुन व्यवस्थापन राम्रो हुनुपर्छ । व्यवस्थापन उत्कृष्ट हुन व्यावसायिक योजना राम्रो हुनुपर्छ, मानव संसाधन व्यवस्थापन प्रभावकारी हुनुपर्छ । सङ्गठनात्मक लक्ष्य हासिल गर्न ग्राहकको सन्तुष्टिलाई पनि ध्यान दिनुपर्छ ।
द्वन्द्व व्यवस्थापन
द्वन्द्व व्यवस्थापन बुद्धको सङ्गठनात्मक व्यवस्थापनको महŒवपूर्ण भाग हो । द्वन्द्व नहुने कुनै कार्यालय हुँदैन । धेरथोर द्वन्द्व हरेक कार्यालयमा हुन्छ । तर, बौद्ध ध्यान अभ्यास विपश्यनाको माध्यमबाट द्वन्द्वग्रस्त मानसिकता परिवर्तन गर्न सकिन्छ । यसले कार्यस्थलमा सहअस्तित्व, शान्ति र सामुदायिक सद्भाव कायम गर्न सबैलाई प्रेरित गर्छ ।
वित्तीय व्यवस्थापन
पैसालाई नराम्रो वस्तुका रूपमा हेर्ने कैयौं धर्म र विचारधारा छन् । यसलाई लोभ र असमानताको स्रोतका रूपमा व्याख्या पनि गरिन्छ । बौद्धवादले पनि अ–भौतिकवादी जीवनयापनलाई नै प्रेरित गर्दछ । यसको अर्थ बौद्धवादलाई पछ्याउने सबैले रुपैयाँ पैसा त्याग्नैपर्छ भन्ने होइन । यद्यपि, यसले रुपैयाँ पैसालाई समुचित तरीकाले कसरी उपयोग गर्न सकिन्छ भन्ने सिकाउँछ । सम्पत्ति कसरी कमाउने र व्यवस्था गर्ने भन्नेबारे बुद्ध स्वयम्ले पाठ सिकाएका कथा हामीले पनि सुनेका छौं । श्रृगालोवाद सूत्रमा बुद्धले धन–सम्पत्ति मात्रै होइन, परिवार, साथीभाइ, काम, बचत, मनोरञ्जन र लोकप्रियता कसरी समुचित व्यवस्थापन गर्ने भन्ने आम मानिसलाई सिकाएका छन् । श्रगालोवाद सूत्रमा हरेकले आफ्नो कमाइ चार भागमा विभाजित गरी एक भाग उपभोग गर्न, दुई भाग पुनः लगानी गर्न र बाँकी एक भाग भविष्यका लागि बचत गर्न सिकाइएको छ ।
आलभक सूत्रमा धन–सम्पत्ति वास्तवमा कमाएको पैसाबाट नभई यस क्रममा गरिने कठोर परिश्रमका माध्यमबाट सृजना हुन्छ भनेका छन् बुद्धले । वास्तविक सम्पत्ति लगनशीलता र लगावपूर्वक काम गरेर मात्र हासिल हुने यसमा बताइएको छ । बौद्धवादका अनुसार पैसा जीवन निर्वाहको साधन मात्र हो । यसलाई सम्पत्ति बढाउने माध्यमका रूपमा नभएर जीवनयापन र अरूलाई मद्दत गर्ने माध्यमका रूपमा प्रयोग गर्न भनिएको छ । जथाभावी पैसा खर्च गर्ने बानीलाई बौद्धवादले निरुत्साहित गरेको छ ।
परोपकार
परोपकार बौद्ध परम्पराको महत्त्वपूर्ण अंश हो । दानका रूपमा दिइने पैसाले सो रकम पाउने व्यक्तिलाई मात्र होइन, दातालाई समेत लाभ हुन्छ । यद्यपि, आफ्नो दैनिक जीवनयापनका लागि समेत नपुग्नेगरी दान दिन भने नहुने बुद्धको धारणा छ । यसको अर्थ सामाजिक हितमा आर्थिक सहयोग गर्दा दिगो र सबैलाई भलो हुने खालको व्यवहार मात्रै गर्नुपर्छ भन्ने हो । पछिल्लो समय व्यवसाय तथा कम्पनीहरूले आफ्ना कमाइको निश्चित अंश संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा प्रयोग गर्न थालेका छन् ।
बौद्ध व्यवस्थापन प्रयोगको प्रवृत्ति
हालैका वर्षमा व्यवसायमा बौद्ध व्यवस्थापन प्रयोग गर्ने प्रवृत्ति बढेको छ । नेतृत्व, मार्केटिङ र ग्राहकसँगको सम्बन्धलगायत विविध पक्षमा यसको निकै लाभ छ । यही यथार्थ महसूस गरेरै विश्वका कैयौं व्यवसाय र कम्पनीहरूले बौद्ध व्यवस्थापन अपनाउन थालेका छन् । नाम चलेका केही कम्पनीका शीर्ष कार्यकारीले त आफ्नो पेशागत र निजी जीवनमा सफलता हासिल गर्न यसको प्रयोग नै गरेका छन् । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलका सह–संस्थापक स्टिभ जब्स, पेशागत नेटवर्किङ साइट लिङ्क्डइनका संस्थापक जेफ वेनर, क्लाउड कम्प्युटिङ कम्पनी सेल्सफोर्सका मार्क बेनीअफ यसका राम्रा उदाहरण हुन् । यस सूचीमा अमेरिकाको प्रविधि हब सिलिकन भ्यालीका धेरै सीईओ पर्दछन् ।
एशियामा पनि बौद्ध व्यवस्थापन अपनाउनेको सङ्ख्या धेरै छ । जापानी बहुराष्ट्रिय कम्पनी क्योसेरा र टीडीकेको कार्यस्थलमा शान्ति कायम गर्न र उत्पादन बढाउन जेन (बुद्ध धर्मको एक सम्प्रदाय) व्यवस्थापन प्रयोग गरिन्छ । चिनियाँ अनलाइन कम्पनी अलिपापामा पनि व्यवस्थापनमा यस्तै प्रयोग गरिएको छ । अलिपापाका संस्थापक ज्याक माले त बेला बेलामा ध्यान कसरी गर्नेबारे कर्मचारीलाई आफै सिकाउँछन् ।
नेपालमा प्रयोग
नेपालमा पनि बौद्ध व्यवस्थापन अपनाउने केही कम्पनी छन् । यसको प्रभावकारी प्रयोग गर्नेमा भने ज्योति ग्रूपका संस्थापक मणिहर्ष ज्योति कंसाकारको नाम सबैभन्दा अगाडि छ । मणिहर्षले नेपालमा विपश्यना ध्यान शुरू गरेका हुन् । ग्रूपको दैनिक सञ्चालनका क्रममा विपश्यना ध्यान र बौद्ध व्यवस्थापन दुवैको अभ्यास गरिन्छ । सीई गू्रप अफ कम्पनिजले बौद्ध सङ्गठनात्मक व्यवस्थापनको प्रयोग कुशलतापूर्वक गर्दै आएको छ । यसका लागि कम्पनीले कर्मचारीलाई आवश्यक सहयोग र निर्देशनसमेत दिँदै आएको छ । कामको क्रममा कहिलेकाहीँ तनाव हुनु स्वाभाविक हे । यस्तो बेला तनाव घटाउन ध्यानका लागि कार्यालयमा एउटा कोठा नै बनाइएको छ । आफू स्वयम् विपश्यना ध्यान गर्ने कम्पनीका अध्यक्ष विजय राजभण्डारीले हरेक हप्ता कर्मचारीलाई यसका तरीका सिकाउँछन् ।