ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण : रू. १ अर्बभन्दा बढी लागतका पूर्वाधारका लागि छुट्टै ‘परियोजना’

May 1, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रू. १ अर्ब र त्यसभन्दा बढी लागतका पूर्वाधार संरचना निर्माणका लागि छुट्टै ‘परियोजना’ बनाउने भएको छ । भूकम्पबाट क्षति भएका ठूला पूर्वाधार संरचनाहरूको निर्माणको काम अन्योलग्रस्त भएका बेला प्राधिकरणले अलग्गै परियोजना बनाएर पुनर्निर्माण तथा निर्माणको काम अघि बढाउने भएको हो । भूकम्प गएलगत्तै यस्ता परियोजना बनाउन आवश्यक देखिए पनि ३ वर्षपछि मात्र प्राधिकरणले त्यस प्रकारका संरचनाको व्यवस्थित निर्माणका लागि यस्तो योजना कार्यान्वयनमा ल्याउन लागेको हो । प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भुसालले ऐतिहासिक महत्व बोकेका धरहरा, सिंहदरबारजस्ता ठूला भौतिक संरचनाहरूको निर्माण कार्यलाई तीव्रता दिन परियोजना नै बनाएर अघि बढ्ने जानकारी दिए । उनका अनुसार प्राधिकरणले अब त्यस्ता संरचनाहरू अलग्गै परियोजनामार्फत निर्माण गर्ने छ । भूकम्पबाट भत्किएका र बढी लगानी आवश्यक तथा प्राधिकरणले नै बनाउने संरचनाका लागि मात्रै अलग्गै परियोजना बनाइने प्राधिकरणको भनाइ छ । प्राधिकरणले भूकम्पबाट क्षति भएका धरहरा र सिंहदरबार आफैमातहत बनाउने भएको छ । भुसालले धरहरा निर्माणका लागि अन्तरराष्ट्रिय टेण्डर आह्वान गरिने जानकारी पनि दिए । चालू आर्थिक वर्षमै धरहराको शिलान्यास हुने गरी काम अघि बढिरहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले धरहरा निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । अबको धरहरा निर्माण गर्दा माटो परीक्षण गर्नुपर्ने सर्वसाधारणको माग आएबमोजिम माटोको परीक्षण गरिएको छ । सहप्रवक्ता भुसालले परीक्षणको रिपोर्ट आएलगत्तै धरहरा निर्माणको ठेक्का प्रक्रिया शुरू गरिने जानकारी दिए । यसैबीच प्राधिकरणले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि बजेट सिलिङ रू. १ खर्ब ५१ अर्ब पाएको छ । यो रकम चालू आर्थिक वर्षमा प्राधिकरणले पाएको रकमभन्दा रू. ६ अर्ब बढी हो । प्राधिकरणले आगामी आर्थिक वर्षमा अहिलेका कार्यक्रमलाई नै निरन्तरता दिने बताएको छ । पुनर्निर्माण तथा निजी आवासका साथै अन्य सांस्कृतिक सम्पदालगायत कामलाई तीव्र बनाउन बजेट तथा कार्यक्रमहरू परिचालन गरिने प्राधिकरणको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)