ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मजदूर दिवस आवाजविहीनको आवाज बन्नुपर्छ

May 1, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
नेपालमा मजदूर आन्दोलनको इतिहास हेर्ने हो भने २००३ साल फागुन ३ गतेलाई लिन सकिन्छ । यो आन्दोलन मोरङको विराटनगर जुट मिलका मजदूरबाट शुरू भएको थियो । यही आन्दोलनबाटै नेपालमा प्रजातान्त्रिक आन्दोलनको थालनी भएको हो । तर विडम्बना, यस्तो ऐतिहासिक राजनीतिक अवसर हुँदाहुँदै मजदूरको अवस्था भने दयनीय छ । मजदूर दिवस राजनीतिक विचार र विरोध व्यक्त गर्ने माध्यम बन्दै गएको छ । घरैविच्छे मजदूर सङ्गठन खुल्ने र निकटका व्यक्तिलाई मात्र सहभागी गराएर औपचारिक कार्यक्रम गरिँदा मजदूर दिवसको मर्म ओझेलमा परेको छ । दिउँसो मजदूर ‘मे’ दिवस मनाएर बेलुका घर पुगेको श्रमिक भोकभोकै सुत्नुपर्ने बाध्यता अझैसम्म पनि हटेको छैन । विश्वमा अहिलेसम्म ठूला–ठूला औद्योगिक क्रान्ति भएका छन् । मजदूरको अधिकार सुनिश्चित गर्न सङ्घ÷सङ्गठन र युनियन खुल्दै गएका छन् । तर, यसरी खोलिएका संस्थाले मजदूरको पक्षमा भन्दा पनि राजनीतिक दलहरूको नजीक रहेर वकालत गर्ने काम भएको आरोप पनि मजदूरको छ । संसारमा श्रमको लगानीविना कुनै काम हुँदैन । त्यसैले, बाँच्न र विकास गर्न श्रमलाई मानव जीवनको आधारभूत शर्त मानिएको हो । कुनै पनि देशका जनता कत्तिको समृद्ध र विकसित छन् भन्ने त्यस देशमा भएको औद्योगिकीकरण र त्यसमा आश्रित मजदूरको जीवनस्तरले निर्धारण गर्दछ । संसारमा अहिले विकसित मुलुकमा ठूला–ठूला उद्योग र कलकारखाना खुलेका छन् । त्यहाँ काम गर्ने भनेकै श्रमिक हुन् । श्रमको मूल्य पाउन विश्वमा मजदूरले धेरै क्रान्ति गर्दै आएको इतिहास छ । नेपालका मजदूरको अवस्था हेर्दा के देखिन्छ भने औद्योगिक क्षेत्रमा शुरूमै विदेशीको लगानी भएको छ, जसको उदाहरण विराटनगर जुट मिललाई लिन सकिन्छ । भारतीय नागरिकद्वारा खोलिएको जुट मिलले नेपालका मजदूरको हकहितभन्दा पनि आफ्नो उद्योगको नाफामा लागेपछि मजदूरबाट विरोध शुरू भएको थियो । आज संसारभरका मजदूर एक हौं भन्ने मूल नाराका साथ मे १ का दिन मजदूर सडकमा उत्रिएका छन् । सरकारले पनि यो दिन सार्वजनिक बिदा दिने र औपचारिक भाषण गर्ने काम बाहेक मजदूरको हकहितका लागि केही गरेको छैन । मजदूरप्रति लक्षित भएर बनाउनुपर्ने श्रम ऐन बन्न सकेको छैन । मजदूर दिवसको दिन आश्वासन दिने कामबाहेक राज्यले अहिलेसम्म केही त्यस्तो ठोस कार्य गरेको देखिँदैन । औद्योगिक नीति स्पष्ट नहुँदा ठूला लगानीका उद्योग खुल्न सकेका छैनन् । केही ठूला उद्योग विदेशी लगानीमा खुले पनि त्यहाँ काम गर्ने मजदूरको आवाज लगानीकर्ताले सुन्ने गरेका छैनन् । श्रमको उचित मूल्य पाउन नसकेपछि लाखौं युवा विदेशिएका छन् । मे दिवसले संसारभरका मजदूरलाई चेतना दिलाएको छ । आफ्नो अधिकारका लागि विश्वभरका करोडौं मजदूरले मजदूर एकतामा जोड दिँदै आएका छन् । तर, राजनीतिक दलहरूले श्रमिक मजदूरहरुको एकता हुने क्रमलाई विचारमा वर्गीकरण गरी आफ्नो दलको भ्रातृ सङ्गठनको रूपमा परिणत गर्दै उनीहरूको आवाज छायामा पारिदिएका छन् । नेपालमा मजदूरको स्थिति हिजोभन्दा आज केही राम्रो देखिएको छ । केही ठूला उद्योग र कलकारखानाले सरकारले तोकेको श्रमको ज्याला र सुविधा प्रदान गरे पनि साना उद्योग र व्यवसायमा काम गर्ने मजदूरको अवस्था भने उस्तै छ । उनीहरूको पारिश्रमिक सरकारले तोकेअनुसार हुँदैन । युनियनहरू राजनीतिक भातृ सङ्गठनको रूपमा काम गर्ने हुँदा उनीहरूको आवाज सुनिदिने कोही छैन । यस्ता श्रमिकलाई श्रम ऐनबारे केही थाहा छैन । नेपालमा बन्द, हड्तालजस्ता क्रियाकलापले पनि उद्योग र कलकारखानालाई असर पुर्‍याएको छ । यसो हुनु मजदूरलाइ नै असर पुर्‍याउनु हो । यसतर्फ पनि राजनीतिक दलहरूको दृष्टिकोण पुग्न सकेको छैन । राजनीतिक अस्थिरता, व्यापारीबाट लिइने चन्दा र स्वदेशी उत्पादनको कमीले गर्दा अहिले देशमा महँगीले सबैलाई आतङ्कित बनाएको छ । यसको चपेटामा सबैभन्दा पहिला मजदूरलाई नै छोएको हुन्छ । श्रमको ज्यालाले ऊ र ऊसँग आश्रित परिवारको लालनपालन गर्न मजदूरलाई पुग्ने अवस्था छैन । कतिपय मजदूरको ज्यालाको त कुरै छाडौं, कामको समेत कुनै ग्यारेण्टी छैन । ठूला कलकारखानामा समेत विनानियुक्ति श्रमिकलाई काममा लगाइएको छ । कतिपय कलकारखानामा काम गर्दा मजदूरले आफ्नो अङ्ग गुमाएका छन् । उसको कुनै जीवन बीमा हुँदैन । यस्ता वर्गमा पर्ने मजदूरको आवाज कसले सुनिदिने ? प्रत्येक वर्षको मे १ को दिवसले आवाजविहीन मजदूरको आवाजलाई सम्बन्धित निकायले सुनिदिए यो दिवस मनाउनुको सार्थकता रहन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)