फेसबूक प्रयोगकर्ताहरुलाई खुशीको खबर ! आफ्ना प्रयोगकर्तालाई सञ्चारका नयाँ–नयाँ साधन उपलब्ध गराइरहेको विश्वको सवार्धिक लोकप्रिय इण्टरनेट सामाजिक सञ्जालले शुरु गर्न लागेको छ निःशुल्क ‘भ्वाइस कल’ सेवा । अब फेसबूक प्रयोगकर्ताले आफ्ना सञ्जालमा रहेका साथीभाइ, आफन्त र चिनाजानका मानिससँग प्रत्यक्ष फोनवार्ता गर्न पाउने भएका छन् । बेलायती पत्रिका ‘द डेली मेल’ले आइतवारको अङ्कमा प्रकाशित गरेको एक समाचारअनुसार फेसबूकले आफ्नो मेसेञ्जर एप्लिकेशनमा निःशुल्क भ्वाइस कल गर्न सुविधा दिने विशेषता थप्न लागेको छ ।
केही महीनाभित्रै सक्रिय बनाइने यो सुविधा शुरूमा क्यानडामा मात्र दिइए पनि पछि विश्वभरिका प्रयोगकर्ताले प्रयोग गर्न सक्ने पत्रिकाले उल्लेख गरेको छ । फेसबूक मेसेञ्जरमा थपिन लागिएको यो विशेषता इण्टरनेटमार्फत मानिसका आवाजको प्रवाह अथवा ‘भ्वाइस ओभर इण्टरनेट प्रोटोकल’ (भीओआईपी)मा आधारित हुने पत्रिकाले जानकारी दिएको छ । यसका लागि प्रयोगकर्तासँग एक स्मार्टफोन भने हुन आवश्यक छ । प्रयोगकर्ताहरुले आफ्ना स्मार्टफोनमा ‘इन्ष्टल’ गरिएका फेसबूक र मेसेञ्जर ‘एप’लाई ‘अपग्रेड’ (अद्यावधिक) गरेपछि र निःशुल्क भ्वाइस कल फङ्कशन सक्रिय भएपछि यो सेवा प्रयोग गर्न सकिनेछ । हाल परीक्षणमा रहेको यो विशेषता प्रयोग गर्न मेसेञ्जरमा अङ्ग्रेजी अक्षर ‘आई’लाई आईकनका रूपमा राखिएको जुन थिचेपछि स्मार्टफोनको स्क्रीनमा ‘फ्री कल’ बटन आउनेछ । यो सेवा प्रयोग गर्दा फेसबूक चलाउन आवश्यक इण्टरनेटको शुल्क मात्रै लाग्नेछ ।
यतिमात्र नभई यो एप्लिकेशनसँगै फेसबूकले प्रयोगकर्तालाई भ्वाइसमेल सन्देश रेकर्ड गर्न र पठाउन अर्को एक सेवा पनि शुरु गर्न लागेको द डेली मेलले जानकारी दिएको छ । यसले फेसबूकमा राखिएको ‘पोक एप’जस्तै गरी काम गर्ने बुझिएको छ । हाल निकै लोकप्रियता पाइरहेको पोक एपमा एक रातो ‘भर्चुअल’ बटन थिचिसकेपछि प्रयोगकर्ताले आफ्ना भिडियो सन्देश रेकर्ड गर्न सक्छन् । ती सन्देश प्रयोगकर्ताको ‘टाइमलाइन’मा अरुहरुले अवलोकन गर्न सक्छन् ।
डेली मेलले फेसबूकले सामाजिक सञ्जालमा आफ्नो एकछत्र वर्चस्व कायम राख्ने रणनीतिअन्तर्गत यी सेवा थप्न लागेको बताएका छन् । सूचनाप्रविधिसम्बन्धी लेखहरु लेख्ने प्रसिद्ध लेखक जोस कोन्स्ताइन यी विशेषताबाट प्रयोगकर्ताले पाउने सुविधाको कल्पना गर्छन् । यी सेवाले गाडी चलाइरहँदा अथवा समुद्री किनारमा डुलिरहँदा पनि प्रयोगकर्ताले भ्वाइस अथवा भिडियो सन्देश पठाउन सक्ने उनको भनाइ छ । ‘नयाँ विशेषताहरुले फेसबूक मेसेञ्जरलाई पूर्ण एपको रुप दिनेछ,’ उनले बताए ।