पूँजीवाद अर्थात् क्यापिटलिजम वा बजार अर्थतन्त्र । यस्तो अर्थतन्त्र जहाँ क्यापिटल गुड्स व्यक्ति वा प्राइभेट व्यावसायिक संस्थाहरुको स्वामित्वमा हुन्छ । सामान तथा सेवाको उत्पादन बजारको आवश्यकता खासगरी माग र आपूर्तिका आधारमा हुन्छ । केन्द्रबाट योजना गरेर, सरकारले निर्देशन दिएर पूँजीवाद चल्दैन । तर, यो विकसित विश्वमा मात्रै त्यस्तो हुन्छ नि, नेपालमा चाहिँ होइन । विश्वमा पूँजीवाद भनेपछि त्यै एउटै पूँजीवाद हो । तर, नेपालमा चाहिँ होइन नि । नेपालमा पूँजीवादका चार वा चारभन्दा बढी रुप छन् । पश्चिमाहरु पनि अचम्मका छन् । श्रीमान्श्रीमती मन परेन भने तुरुन्तातुरुन्त साट्छन्, नयाँ ल्याउँछन् । तर, पूँजीवाद चैं कति मन परेको हो कुन्नि! एउटैबाट काम चलाइरहेका छन् । बरु हाम्रो नेपालमा भने पूँजीवाद स्वाद फेरी फेरी आउँछ वा कसैले ल्याउँछन्– दलअनुसार, मान्छेअनुसार, समयअनुसार । विश्लेषण गरौं न त नेपालमा चलेका पूँजीवादका प्रकारहरुमाथि :
याराना पूँजीवाद : नेपालमा अहिले सबैभन्दा बढी चलेको त ‘क्रोनी क्यापिटलिज्म’ नै हो । यसलाई याराना पूँजीवाद वा सहचर पूँजीवाद जे भन्दिए नि हुन्छ । यो राजनीतिक सम्बन्धलाई पूर्णरुपेण उपयोग गरेर व्यवसायबाट धन आर्जन गर्ने मोडल हो । शायद यसैलाई होला नेपालमा हिजोआज धेरैले समृद्धि समृद्धि भन्दै ढोल बजाउँदै हिँड्ने गरेका छन् । याराना पूँजीवादको मोडल बडो सरल छ । यो मोडलअनुसार आर्थिक रुपमा र पेशागत रुपमा आफ्नो दक्षता सावित गर्न नसकेकाहरु पनि राजनीतिक रुपमा बलियो हुन सक्छन् । आफैं दलमा प्रवेश गरेर हुन्छ वा सरकारमा रहेका दलका मान्छे र भान्छेलाई धूप नैवेद्य गरेर व्यवसाय गर्न लाइसेन्स लिने, विभिन्न ठेक्कापट्टा पड्काउने वा अरुलाई ठेक्का दिए पनि कमिशनचाहिँ छड्काउने, कर, राजस्व छूट वा मिनाहा गर्न मनाउने आदि गर्न सक्षम र सबल हुन्छन् ।
याराना पूँजीवादको रमाइलो पक्ष के छ भने यसमा कर्मचारीतन्त्र पनि तिनै नेता वा तिनै व्यवसायीलाई खुशी पारेर आफ्नो सरुवा, बढुवा, विदेश भ्रमण र अन्य सफलता हासिल गर्ने होडमा लाग्छन् । साथै कार्यपालिका, न्यायपालिका, सरकारको चौथो अङ्गको बिल्ला पाएको मिडिया, नागरिक समाजलगायत राज्यका प्रायः सबै अङ्ग याराना पूँजीवादमा यसरी यारीदोस्ती गरेर बसेका हुन्छन् कि यी बाहेक अरु वर्गले राज्यको सेवासुविधा प्राप्त गर्ने सम्भावना रहँदैन ।
व्यवहारमा भने साम, दाम, दण्ड, भेदबाट शक्तिमा पुग्ने र त्यै शक्तिले कानून र प्रणालीलाई नै आफ्नो वशमा राख्ने कार्य नै फलाना पूँजीवादको चुरो कुरो हो ।
नजराना पूँजीवाद : भलै यो पनि याराना पूँजीवादभित्रैको कुरा हो । तथापि नजराना पूँजीवादमा चैं व्यावसायिक वर्ग त्यसमा पनि खास प्रकारका जातिहरु यसमा बढी पोख्त हुन्छन् । उनीहरुले नै नेपालको वित्तीय क्षेत्र जस्तै : बैङ्क, बीमा आदिमा आफ्नो प्रभुत्व कायम गर्न सफल पनि छन् । यो अर्को प्रकारको सिण्डिकेट भन्दा फरक नपर्ला । नजराना पूँजीवाद वित्तीय क्षेत्रमा मात्र सीमित छैन । यो निर्माण क्षेत्र, शिक्षा, स्वास्थ्य, जलविद्युत्, यातायातलगायत सरकारसँग काम लिनुपर्ने र पैसाको कारोबार हुने हरेक क्षेत्र र व्यवसायमा व्याप्त छ ।
फलाना पूँजीवाद :प्रणालीलाई भन्दा व्यक्तिलाई, सिद्धान्तभन्दा सम्बन्धलाई प्रधानता दिने खालको पूँजीवाद हो यो । ‘फलाना’ मेरो वा हाम्रो मान्छे भएपछि ‘नियम कानून, दैव जानून्’ हुने सिद्धान्त हो यो । यसलाई नेपालका प्रायः सबै दल, नेता, बुद्धिजीवी, पत्रकार र समाजका सबै किसिमका मानिसहरुले सफलतापूर्वक व्यवहारमा उतारेका छन् । खासमा गणतान्त्रिक संविधानले चैं लोकतन्त्रले सरकार, मन्त्रीको शक्तिलाई नियन्त्रण गर्ने र त्यो शक्तिलाई कानूनको शासनभित्र राख्ने कुरा गर्छ । तर, व्यवहारमा भने साम, दाम, दण्ड, भेदबाट शक्तिमा पुग्ने र त्यै शक्तिले कानून र प्रणालीलाई नै आफ्नो वशमा राख्ने कार्य नै फलाना पूँजीवादको चुरो कुरो हो ।
झुलाना पूँजीवाद :यो चैं काम गर्न बुद्धि, जाँगर, क्षमता र लगानी भएकालाई निरुत्साहित गर्ने तथा सत्ता नजीकका तर क्षमताविहीन, चरित्रविहीन र लगानीविहीन व्यक्तिहरुलाई काम गरी खान दिने वाद हो । क्षमता भएकाले त जहाँ जसरी पनि गरी खाइहाल्छन् नि भन्ने मान्यतामा आधारित छ यो । नभएकालाई पो हो उँभो लगाउनुपर्ने । भर्याङ हाल्दिनुपर्ने । यो झुलाना पूँजीवादमा कामभन्दा कुरालाई बढी महत्व दिइन्छ । जसले बढी गफ लाउन सक्छ, झुलाउन सक्छ, उसैले बढी जस पाउन सक्छ, उसैको जयजय हुन्छ, जीत हुन्छ । गफैमा धरहरा बन्छन्, रेल गुड्छन्, पानी जहाज चल्छ, बारीमा तरकारी फल्छ, स्वच्छ खानेपानी आपूर्ति हुन्छ । यो मानिसको कल्पना शक्तिलाई बलियो बनाउने सिद्धान्तमा आधारित छ । त्यसैले यसलाई कल्पनाको अर्थात् काल्पनिक पूँजीवाद पनि भन्न सकिन्छ ।