ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईसीपी सञ्चालनको १ महीना : भारतीय भन्सारमा कर्मचारी नबस्दा समस्या

May 7, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
वीरगञ्ज । वीरगञ्जमा नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको १ महीना पूरा भए पनि यो संरचनाबाट वैदेशिक व्यापारमा अपेक्षित लाभ लिन नसकिएको सरोकारवालाले बताएका छन् । भारततर्पmको जाँच चौकीमा त्यहाँका भन्सार कर्मचारीले समयमा काम नगर्दा समस्या देखिएको छ । नेपाल र भारततर्फ समान भौतिक र प्राविधिक संरचनामा निर्माण भएको आईसीपी गत चैतको २४ गते नेपाल र भारतका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट संयुक्तरूपमा स्वीच थिचेर उद्घाटन गरेका थिए । उद्घाटनपछि यहाँबाट आयातनिर्यात कारोबार क्रमिक रूपमा बढ्ने अपेक्षा गरिएको थियो । आईसीपीबाट आयात निर्यात शुरू भएपछि नेपालको वैदेशिक व्यापार प्रभावकारी र पारदर्शी हुने विश्वास गरिएको थियो । १ महीना बितिसक्दा यो संरचनाको क्षमता न्यूनमात्रै उपयोग हुन पाएको छ । अहिले दैनिक १ सय ओटाको हाराहारीमा पेट्रोलियम पदार्थका ट्याङ्कर भित्रिइरहेको नेपाल इण्टरमोडल यातायात विकास समितिले बताएको छ । समितिको आईसीपी कार्यालयका प्रमुख हेमेन्द्रमोहन शाहीले दिनमा डिजेल/पेट्रोेलका १ सयजति ट्याङ्कर र एलपी ग्यासका बुलेट आएको बताए । भारतीय आयल निगमको बरौनी डिपोबाट आएका पेट्रोलियम पदार्थ र छिटपुट अन्य सामग्रीमात्र आईसीपीबाट भित्रिएको समितिले बताएको छ । ‘अहिले आईसीपीको १० प्रतिशत क्षमतामात्र उपयोग हुन सकेको छ,’ शाहीले आर्थिक अभियानसित भने, ‘तत्कालका लागि दैनिक ३ सय ५० जति गाडी व्यवस्थापन गर्न सकिन्छ । तर, आईसीपीबाट आयात नै न्यून भइरहेको छ ।’ नेपालतर्पmको आईसीपीको सञ्चालन अहिले इण्टरमोडलले गर्दैआएको छ । इण्टरमोडल स्रोतले भारततर्फको आईसीपीमा भन्सारका कर्मचारी समयमा नबस्दा यहाँबाट आयात नबढेको बतायो । स्रोतका अनुसार भारतीय भन्सारका कर्मचारीले साँझ ५/६ बजेपछिमात्र उताबाट गाडी छोड्ने गरेका छन् । नेपालतर्पm भन्सारका कर्मचारी बिहान १० बजेदेखि नै कार्यालयमा पुगे पनि भारतीय भन्सारबाट गाडी नभित्रिएपछि जाँचपास हुन सक्दैन । भारतीय भन्सारका कर्मचारी अपराह्न ४ बजेपछिमात्र आईसीपी कार्यालयमा पुग्ने गरेको बताइएको छ । नेपालतर्फको भन्सारमा वीरगञ्ज भन्सार कार्यालयले ४ जना कर्मचारी खटाएको छ । भन्सार प्रमुख सेवन्तक पोखरेलले आफूले कर्मचारी खटाए पनि भारततिरबाटै न्यून परिमाणमा मालसामान आएको बताए । ‘हामीले त बिहानैदेखि कर्मचारी पठाएका छौं । उताबाट सामान आए यता जाँचपासमा कुनै समस्या छैन,’ उनले भने । भारततर्फको आईसीपी भन्सारमा सीमावर्ती भारतीय रक्सौल भन्सारबाट कर्मचारी खटिने गरेका छन् । भारतीय भन्सारले समयमा कर्मचारी नपठाउँदा नेपालको वैदेशिक व्यापारले आईसीपीबाट सोचेजति फाइदा लिन नसकेको बताइएको छ । नेपालतर्फ निकासी हुने मालसामानमा भारतीय भन्सारमा खासै प्रक्रिया नहुने भए पनि कर्मचारी नबस्दा समस्या देखिएको इण्टरमोडलका एक अधिकारीले बताए । भारततर्फको आईसीपी त्यहाँको एक निजी कम्पनीले सञ्चालन गरिरहेको छ । आईसीपी प्रमुख शाहीले सञ्चालनमा देखिएको यो समस्या समाधानका लागि वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा आग्रह गर्ने बताए । ‘हामीले यसबारेमा महावाणिज्यदूतलाई आग्रह गर्ने निधो गरेका छौं,’ शाहीले भने । नेपालतर्फ आईसीपीलाई जोड्ने पदमरोडको ७ सय मिटरजति एकतर्फी लेन भएकाले पनि क्षमता उपयोगमा भने कठिनाइ हुने सरोकारका निकायले बताएका छन् । यो सडकको मुआब्जा विवाद सल्ट्याएर सडक विस्तारको प्रक्रिया अघि बढिसकेको स्थानीय प्रशासनले बतायो । केही आयातकर्ताले आईसीपीको सेवा शुल्क बढी भएको गुनासो पनि गरेका छन् । आईसीपी सञ्चालनमा आएपछि वीरगञ्जको मितेरीपुल हुँदै भइरहेको आयात निर्यात आईसीपीतर्फ सर्ने र नाकाको ट्राफिक जामको समस्यासमेत समाधान हुने बताइएको थियो । अहिले मितेरीपुल भएर दैनिक २ हजारजति ढुवानी र सवारीका साधन आवतजावत गर्छन् । आईसीपी नेपालतर्फ १ सय १६ र भारततर्फ १ सय विगाह क्षेत्रफलमा निर्माण भएको छ । भारतको आर्थिक तथा प्राविधक सहयोगमा २ अर्ब रुपैयाँको लागतमा तयार भएको आईसीपी निर्धारित समयभन्दा करीब ६ वर्ष ढिला सञ्चालनमा आएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)