हरेक मानिसको काम गर्ने आ–आफ्नो तरिका हुन्छ । कसैले कुनै काम धेरै समय लगाएर बिस्तारै गर्छन् । कसैले काम सक्ने हतारोमा लतरपतर गर्छन् । अनि केही व्यक्तिले चाहिँ छोटो समयमा पनि निकै राम्रो तरिकाले धेरै काम भ्याउँछन् । यस्ता ‘सुपर–प्रडक्टिभ’ मानिसहरू हरेक क्षेत्रमा हुन्छन् । हरेक दिन औसत सफ्टवेयर डेभलपरका तुलनामा ‘सुपर–प्रडक्टिभ’ सफ्टवेयर डेभलपरले ९ गुणा धेरै कोड लेख्ने गरेको माइकल म्यानकिन्सको अनुसन्धानले देखाएको छ ।
अनुसन्धानले न्यूयोर्कस्थित ले बेर्नार्डिन रेष्टुराँमा माछाको कत्ला खुइल्याउने ‘फिश बुचर’ले औसत फिश बुचरको तुलनामा तीन गुणा धेरै माछा तयार गर्न सक्ने देखाएको थियो । त्यस्तै, उत्कृष्ट ब्ल्याक ज्याक डिलर (ब्ल्याक ज्याक नामको तासको खेलमा पत्ता बाँड्ने मान्छे)ले औसत डिलरको तुलनामा पाँच गुणा लामो समयसम्म आफ्नो टेबलमा खेल चलाउने र नोर्डस्ट्रोमका उत्कृष्ट सेल्स एशोसियटले औसत एशोसियटका तुलनामा आठ गुणा धेरै विक्री गरेको समेत फेला परेको छ । ती मान्छेले यति उत्कृष्ट तवरले कसरी प्रदर्शन गर्न सकेका होलान् त ?
यस सम्बन्धमा हार्वर्ड बिजनेश रिभ्यू (एचबीआर)ले ‘प्रडक्टिभिटी’बारे गरेको एक अध्ययनले चाखलाग्दा कुरा उजागर गरेको छ । यसमा ७ हजार त्यस्ता व्यक्तिको व्यवहार अध्ययन गरिएको थियो, जसलाई सम्बन्धित व्यवस्थापकहरूले उत्पादनशीलता र अन्य ४८ विशिष्ट व्यवहारका आधारमा राम्रो काम गर्ने भनेर मूल्याङ्कन गरेका थिए । सर्वेक्षणमा संलग्न यी सबै व्यक्तिलाई तिनका समकक्षी, उनीहरूभन्दा कनिष्ठ पदाधिकारीलगायत औसत ११ जनाले पनि राम्रो भनेर मूल्याङ्कन गरेका थिए । यस क्रममा उत्पादनशीलता उच्च भएका व्यक्तिमा रहेका विशिष्टीकृत बानी र व्यवहार पहिचान गरेर ‘फ्याक्टर एनालिसिस’ गरिएको थियो । सर्वाधिक उत्पादनशील व्यक्तिमा तल उल्लेख गरेअनुरूपका सात नियमित बानी पाइयो ।
लक्ष्यलाई तन्काएर अलि ठूलो बनाउने बानी हुन्छः गत शनिवार तपाईंले के गर्नुभयो ? बिदाको दिनमा घरायसी मर्मत सम्भार, बगैंचा गोडमेल, करेसाबारीमा तरकारी लगाउनेलगायत विशेष काम गर्ने निर्णय गर्नुभयो त ? कि जति बेला आँखाले जे देख्यो त्यति नै बेला झीनामसिना काम गरेर बिताउनुभयो । कि योभन्दा पनि महत्वपूर्ण एउटै परियोजना/काम छानेर यसलाई १ दिनमै कसरी भ्याउन सकिएला भनेर सोच्नुभयो ? ठूला परियोजनाको छनोट गरिएको छ भने त्यसले व्यक्तिलाई आफ्नो गति बढाउन प्रोत्साहित गर्छ । यस क्रममा आउन सक्ने विकर्षणबाट टाढा रहन पनि यसले प्रेरित गर्छ । आपूmले सजिलै गर्न सक्नेभन्दा बढी लक्ष्य प्राप्त गर्ने सोचमा मानिस आबद्ध भयो भने जादू नै हुन्छ । एचबीआरको अध्ययनमा अधिकांश ‘सुपर–प्रडक्टिभ’ व्यक्तिमा आफूले गर्न सक्नेभन्दा बढी लक्ष्य राख्ने बानी भेटिएको थियो ।
काममा स्थिरता हुन्छः केही मानिस म त जे पनि गर्न सक्छु र गर्छु भन्छन् । तर, व्यवहारमा भने गर्न सक्दैनन् वा गर्दैनन् । अनि केही व्यक्ति चाहिँ पूर्णरूपले भर पर्न सकिने खालका हुन्छन् । यस्ता व्यक्तिले ‘यो हुन्छ’ भने भने त्यो काम गरेरै छाड्छन् । यस्ता मानिसको उत्पादनशीलतामा उतारचढाव पनि पाइँदैन । समय छँदा चाहिँ अल्छी गर्ने अनि समय सकिन थालेपछि रातभर जागा बसेर आफैंलाई शिथिल बनाउने काम यिनीहरूले कहिल्यै गर्दैनन् । यिनीहरूले त बरु स्थिर तरिकाले दिनदिनै, हप्तैपिच्छे र महिनौंसम्म पनि एउटै खाले नतिजा कसरी दिन सकिन्छ भन्ने खुट्ट्याउँछन् । यिनीहरूको हरेक काममा एउटै खालको लय र ताल हुन्छ ।
ज्ञान र प्राविधिक दक्षता हुन्छः उत्पादनशीलतालाई मार्ने कारकहरूमा ज्ञान वा विज्ञताको अभाव पनि पर्छ । आफूले के गरिरहेको छु भन्ने थाहा भयो भने तीव्र गतिमा काम भ्याउने होडबाजीमा गुणस्तरलाई माया मार्नुपर्ने स्थिति आउँदैन । काम छिटोछिटो मात्रै होइन राम्रो तरिकाले सम्पन्न गर्न पनि सकिन्छ । न काम गर्ने तरिका खोज्न इण्टरनेटमा समय खर्च गर्नुपर्छ न सल्लाहसुझावका लागि साथीभाइलाई नै सोध्नुपर्छ । हो, सो अध्ययनमा सबैभन्दा उत्पादनशील ठानिएकाहरू चाहिएको खण्डमा अरूलाई सोध्न कहिल्यै हिच्किचाएनन् । तर, यिनीहरूसँग आवश्यक ज्ञान र प्राविधिक दक्षता पहिल्यै हुने भएकाले अरूलाई सोध्नुपर्ने अवस्था खासै आएन । आफ्नो ज्ञान र विज्ञता फराकिलो बनाउन उनीहरू आफै नयाँ शीप प्राप्त गर्न लागिपर्थे र नौलो काम गर्थे । यही बानीले तिनीहरूलाई शिपालु बन्न र तीव्रताका साथ काम गर्न सघायो ।
नतिजाका लागि काम गर्नेः अधिकांश मानिस लक्ष्य पूरा गर्न जिम्मेवारी बहन गर्छन् र अपेक्षित नतिजा प्राप्त गर्न ठिक्क गतिमा काम गर्छन् । तर, केही मानिसमा चाहिँ नतिजा चाँडै प्राप्त गर्ने ठूलो इच्छा हुन्छ । आफ्नो टुडु लिष्टबाट केही कुरा हटाउन पाउँदा यिनीहरू निकै खुशी हुन्छन् । यिनीहरू निकै प्रतिस्पर्धी स्वभावका हुन्छन् । यिनीहरूले आफ्ना साथी र सहकर्मीसँग मात्रै होइन स्वयम्सँग पनि प्रतिस्पर्धा गर्छन् । यिनीहरू राम्रो प्रदर्शन गरेर नयाँनयाँ रेकर्ड राख्न मन पराउने खालका हुन्छन् । यस क्रममा यिनीहरूले आफ्नै उत्कृष्टताको रेकर्ड पनि बारम्बार तोड्छन् ।
समस्याको पूर्वअनुमान गर्ने अनि समाधान गर्नेः अधिकांश उत्पादनशील व्यक्तिहरू वास्तवमा समस्या समाधान गर्न निकै शिपालु हुन्छन् । यिनीहरू सधैं नवीन समाधान ल्याउँछन् र काम पनि निकै कुशलताका साथ पूरा गर्छन् । काम गर्दै जाँदा केकस्ता समस्या आउन सक्छन् भन्नेबारे पहिला नै अनुमान गरेर सोको समाधान गर्न थालिहाल्छन् । यसो गर्दा अरू मानिसले भोग्ने समस्या यिनीहरूले भोग्नुपर्दैन । यस्तो बानीलाई सामाजिक मनोवैज्ञानिकहरू ‘मेण्टल कण्ट्राष्टिङ’ भन्छन् । आफूले जुन लक्ष्य प्राप्त गर्न चाहेको हो, त्यससम्बन्धी केके समस्या आइपर्न सक्छ भनेर सोच्नु नै मेण्टल कण्ट्राष्टिङ हो । यस्तो बानीले व्यक्तिलाई लक्ष्य प्राप्तिमा निकै टेवा दिने अध्ययनले देखाएको छ ।
आफै पहल गर्नेः कैयौं मानिसका लागि काम सम्पन्न गर्ने क्रममा सबैभन्दा गाह्रो चरण भनेको काम शुरू गर्नु नै हो । उत्पादनशील मानिसहरू काम शुरू गर्न कुनै अलमल गर्दैनन् । यिनीहरूले छिट्टै काम शुरू गर्छन् । ‘ल, अब चाहिँ काम शुरू गरिहाल’ भनेर कसैले अह्राएपछि मात्रै गरौंला भनेर यिनीहरू कहिल्यै बस्दैनन् । यिनीहरू माफी माग्छन्, अनुमति माग्दैनन् । यस्तो बानीले कहिलेकाहिँ यिनीहरूलाई समस्या पनि पर्छ । उदाहरणका लागि, त्यो परियोजनाबारे अरू सहमत भइ नसक्दै यिनीहरूले भने कामै शुरू गरिसक्छन् । तर, उनीहरूको यस्तो बानीले गर्दा कहिलेकाहिँ समस्यै उत्पन्न भए पनि यिनीहरूका हाकिमले यसको कहिल्यै गुनासो गर्दैनन् । किनकि, यिनीहरूले गरेको कामको नतिजा यति राम्रो हुन्छ कि हाकिमले पनि केही भन्ने मौका नै पाउँदैनन् ।
निकै सहयोगी हुन्छन्ः अहिलेसम्मको कुरा सुन्दा उत्पादनशील मानिसहरू निकै प्रतिभाशाली हुँदा रहेछन्, तर यिनीहरू अरूसँग मिलेर काम गर्न चाहिँ सक्दैनन् होला भन्ने हाम्रो मनमा उठेको हुन सक्छ । तर त्यस्तो होइन । अहिलेको जटिल सङ्गठनात्मक व्यवस्थामा एक्लैले धेरै कुरा गर्न सकिँदैन । हरेक कुरा एकअर्कासँग अन्तरसम्बन्धित हुन्छ । सो अध्ययनमा उत्पादनशील पाइएका मानिसमा अरूसँग मिलेर काम गर्न सक्ने खूबी पनि पाइयो । आपूmलाई चाहिने सबै खालका शीप र विशेषज्ञता पहिला नै तिखारिसक्ने बानी यिनीहरूमा हुन्छ ।