ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोदीआइन् ?

May 11, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
आज मोदी आउने रे । आश्वासनका पोका ल्याउने रे । नागरिक अभिनन्दन हुने रे । उनले पनि नेपालीजनका मन छुने रे । लौ है, हाम्रा लागि नभए पनि अतिथिका लागि शहर, मन्दिर सफा राख्नू । सडक खुल्ला राख्नू । सुरक्षा कडा पार्नू । मन्दिरमा अरु मानिस जाने बाटो रोक्नू । पहाडलाई चुप राख्नू । नाकाबन्दी वा सीमारेखाका कुरा नकोट्याउनू । हाँसेरै भए पनि निहुरेरै आँशु पिउनू । पुराना घाउ आफै सिउनू । बाहिरबाटै सही स्वाभिमान देखिएरै जिउनू । लाम लागेर सलाम ठोक्नू । सके उनको प्रशस्तीमा भजन गाउनू, नभए पनि उनकै तारिफमा भाषण ठोक्नू । यति गरे लाभैलाभ होला । दिल्लीको दौर नभए लैनचौरको चौरमा लञ्च, डिनर पक्का । मोदी आफ्नै हेलिकोप्टर चढेर आउने रे । नेपाल आएको बेला बुद्धिष्ट सर्किट र रामायण सर्किटलाई नेपालमा जोड्ने कुरा पनि छेड्ने रे । रामायण सर्किट जोड्न भनेरै शायद पहिले काठमाडौं नआई जनकपुर आउने रे । हुन त रामायण सर्किट भनेपछि जनकपुर आउनुपर्ने त अयोध्या (उत्तरप्रदेश)बाट थियो, तर उनी त विहारबाट पो आउने भएछन् । यसपाला मोदी जनकपुर हुँदै, मुक्तिनाथ र पशुपतिनाथ जाने रे । अर्थात् यसपाला उनी तीर्थयात्री मात्र बन्ने सुरमा रहेछन् । यसरी तीर्थाटनमा आए पनि दुई हो कि तीन ठाउँमा नागरिक अभिनन्दन गरिने रे । मोदीलाई नेपाली नागरिकले यति धेरै मन पराइसकेका रहेछन् ? ओ हो ! ‘अतिथि देवो भव’ भनेर होला । भलै मोदीको स्वागत प्रकृतिले एडभान्समै गरिसकेको छ । जनकपुरमा बनाइएका प्रायः स्वागतद्वार हावाहुरीले भत्काइदिएछ । त्यस्तै, उनको हेलिकोप्टर राख्ने भनेको ठाउँ पनि पानीले डुबाइदिएछ । तर, अब सुक्यो कि । पानी पर्नुलाई शुभसाइत नै मान्छन् क्यारे ज्योतिषीहरू ।
पशुपतिनाथ, मुक्तिनाथ र रामनाथको जात्रामा सहभागी मात्र हुन उनी पक्कै आएका होइनन् । केही सिद्राको व्यापार पनि गर्लान् ।
प्रकृतिले मान्छेलाई गर्ने स्वागतको तरीका पनि कस्तोकस्तो, अलि विशेष जस्तो । अथवा मोदी आफू आउनुअघि नेपालमा हावाहुरी, पानी लिएरै पो आएका हुन् कि ? किनकि उनले नेपालमा पहिले पनि र अहिले पनि राष्ट्रवादी लहर ल्याएदिएका छन् । लहर अर्थात् छाल पानीमै आउने हो । हिजो मोदीको विरोध गरेर एमाले राष्ट्रवादी (रा.वा.)मा दरियाथ्यो । आज काङ्ग्रेस पक्का रावा भा’छ । सामान्यजनलाई को चैं असला हो, छुट्याउन गाह्रो पर्‍या छ । हुन पनि हिजो धारे हात लाउने आज पक्षमा छन् । हिजो पक्षका आज विपक्षमा छन् । गणतान्त्रिक राजतन्त्रमा जयजयकारको सिलसिला जारी छ । चिप्ला, धूला सडक रातारात चिल्ला भएका छन् । जनता चैं जिल्ल भएका छन् । अतिथि आएपछि क्यै न क्यै त दिने कुरा गरेरै जालान् । दिएर मात्र होइन केही कोसेली लिएर पनि जालान् । पशुपतिनाथ, मुक्तिनाथ र रामनाथको जात्रामा सहभागी मात्र हुन उनी पक्कै आएका होइनन् । केही सिद्राको व्यापार पनि गर्लान् । पानी त उतै गइरहेकै छ, कोसेलीको रुपमा दिनै परेन । बाँकी चिज के होला थाहा छैन । तैपनि केही त होला नै । मोदी पशुपतिनाथमा जाने दिन कर्नाटक राज्यमा चुनाव छ क्यारे । यता मोदीले पशुपतिमा पूजा गरेको टीभीमा देख्ने कर्नाटकका हिन्दू भोटरहरुलाई राम्रै लाग्ला । पूजा गर्दैमा प्रचार गरेको भनेर भारतको निर्वाचन आयोगले मोदीलाई आचारसंहिता उल्लङ्घन गरेको भन्न पनि मिलेन । एउटै तीरले धेरै निशाना साँध्न खप्पिस पो छन् त मोदी । तीर्थाटन गर्ने भएर होला, मोदीलाई चाहिने सबैथोक आफै साथैमा लिएर आउँदै छन् । खानेकुरादेखि भारतीय हातहतियार, ६६ भारतीय सुरक्षाफौज, दुई/दुई बुलेटप्रुफ गाडी आदि । खासमा ‘मोदी’ थर हुनेलाई परम्पराअनुसार बनियाँ भनिन्छ । तर, यी प्रधानमन्त्री मोदी जोगीको भेषमा राजनीतिका चैं व्यापारी परे । मोदीको यसपालाको भ्रमण केवल तीर्थाटन हो भन्नेहरु अब सम्झौताको फेहरिस्त पस्कन थालेका छन् । तर, नयाँ सन्धि, सम्झौताभन्दा पुराना कुरा सम्झाउनुपर्छ भन्नेहरु पनि छन् । विराटनगर फिल्ड अफिस बन्द गर्ने कुरो, डुबान समस्याको चुरो, पावर ट्रेड टक, भारतबाट नेपालमा हुने फोन कललाई आधा मूल्य घटाउने मोदीको पुरानो प्रतिबद्धतालगायत सम्झाउनुपर्ने धेरै कुराहरु छन् । तर, ओलीले आफ्नो पछिल्लो दिल्ली भ्रमणमा पुराना कुरै नगर्ने भनेका थिए, गरेनन् पनि । शायद अहिले पनि त्यसै गर्लान् । कि मोदी ओलीलाई रसुवागढी वा तातोपानी हुँदै चीनतिर मर्निङ वाकमा नजानू है भन्न मात्र नेपाल आएका त होइनन् ? त्यसो भए पुराना कुरा त यसै गर्नै परेन वा मिलेन । जे होस्, मोदीले एकै कार्यकालमा तीन/तीनचोटि नेपालको भ्रमण गरेर रेकर्ड राख्ने भए । पहिले बीपीले ‘मोदीआइन्’ भनेर किताबै लेखेका थिए । बीपीलाई भविष्यमा मोदी भनिने भारतीय एक नमूना प्रधानमन्त्री हुनेछन् भन्ने थाहा भएको भए ‘मोदी आए’ भनेर लेख्थे होलान् । जे होस्, मोदीजीलाई हमारे नेपालमेँ स्वागत छ है ?
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)