ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमाक्षेत्रको दिगोपनका लागि तालीम केन्द्र

May 14, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा समितिले बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले बीमा तालीम केन्द्र सञ्चालन गर्न लागेको छ । समितिले बजारमा सञ्चालित बीमा कम्पनीसँगको सहकार्यमा रू. १ करोडको लगानीमा तालीम केन्द्र सञ्चालन गर्न लागेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले जेठदेखि केन्द्रमा तालीम कार्यक्रम शुरू हुने बताए । अभियानसँगको कुराकानीमा अध्यक्ष चापागाईंले केन्द्रबाट कम्पनीका कर्मचारी, अभिकर्ता र सर्वेयरको क्षमता अभिवृद्धि हुने तालीम प्रदान गरिने बताए । उनले भने, ‘जेठदेखि अभिकर्ता र सर्वेयरका लागि तालीम शुरू हुन्छ । साउनदेखि कम्पनीका कर्मचारीलाई समेत तालीम दिने तयारीमा छौं ।’ साउनदेखि नियमित रूपमा तालीम सञ्चालन हुने उनको भनाइ छ । तालीम केन्द्र सञ्चालन गर्न बीमा समितिबाट २२ लाख र विभिन्न ३९ कम्पनीबाट २ लाखको दरले ७८ लाख सङ्कलन गरी रू. १ करोडको बीउ रकम खडा गरिएको छ । समितिले हाल चाबहिलस्थित आफ्नै भवनमा तालीम कक्षा सञ्चालन गर्ने बताइएको छ । समितिले विगतदेखि नै अभिकर्ता र सर्वेयरको लागि तालीम सञ्चालन गर्दै आएको छ । सोही कार्यलाई विकसित रूपमा अगाडि बढाउने क्रममा बीमा तालीम केन्द्रको स्थापना गरिएको हो । समितिले विगतमा कम्पनीहरूले दिने गरेको तालीम प्रभावकारी नभएको जिकीर गरेको छ । अभिकर्तालाई आकर्षण गर्न तालीममा गलत कुराको समेत प्रचार गर्ने गरेको समितिले बताएको छ । साथै, सर्वेयरले केही दिनको तालीम लिएर फिल्डमा जाँदा क्षतिको सही मूल्याङ्कन नगरेको समितिको भनाइ छ । यस्तै, बीमा कम्पनीले पनि तालीम कार्यक्रमलाई महŒव नदिएको विज्ञहरू बताउँछन् । अध्यक्ष चापागार्इंले यस्ता प्रवृत्तिलाई उन्मूलन गर्न केन्द्रबाट गुणस्तरीय तालीम प्रदान गरिने बताए । बीमाक्षेत्रमा लामो अनुभव सङ्गालेका व्यक्ति, विशेषज्ञ तथा विज्ञहरूबाट तालीम प्रदान गरिने उनको भनाइ थियो । बीमा विज्ञ भोजराज शर्माले तालीम केन्द्र सञ्चालन गर्दा बीमा बजारको प्राविधिक दक्षताको विकास हुने बताए । तालीम गराउने ठाउँ भएपछि यसबारेमा नीतिनियम बनाउने बाटो पनि खुला भएको उनको भनाइ छ । उनले भने, ‘तालीम कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन सके बीमाक्षेत्रको व्यवसाय बढ्नेसँगै व्यावसायिक विकास पनि हुन्छ ।’ तालीमले दक्ष जनशक्ति उत्पादन गर्ने हुनाले यसले बीमाक्षेत्रलाई दिगोपन बनाउने विज्ञ शर्माको भनाइ छ । उनले भने, ‘वर्तमान समयमा जस्तै दक्ष जनशक्तिको अभाव हुँदै गएमा भविष्यमा नयाँ पुस्तामा बीमाक्षेत्रलाई हस्तान्तरण गर्दा सक्षम समूह नपाइन सक्छ ।’ उनले बजारमा दक्ष सीईओ तथा डेपुटी सीईओ पाउन गाह्रो भएकाले तालीम केन्द्रको स्थापना गरिएको बताए । तालीम केन्द्रका भावी योजना बीमा समितिले बीमासम्बन्धी नयाँनयाँ कोष डिजाइन गर्दै गुणस्तरीय तालीम प्रदान गर्ने योजना रहेको बताएको छ । विदेशी प्रतिष्ठानसँग सहकार्य गरेर बीमासम्बन्धी अन्तरराष्ट्रियस्तरको तालीम सञ्चालन गर्ने योजना रहेको समितिको भनाइ छ । समितिले मुख्यतः अन्तरराष्ट्रिय बजारमा स्थापित प्रतिष्ठानबाट तालीम केन्द्रलाई सम्बन्ध दिलाउने उद्देश्य लिएको छ । सम्बन्ध प्राप्त गरी विदेशी प्रशिक्षकबाट पनि तालीम प्रदान गर्ने समितिले जानकारी दिएको छ । समितिले निकट भविष्यमा तालीम केन्द्रलाई प्रतिष्ठानका रूपमा स्थापित गर्ने बताएको छ । साथै, नेतृत्वको गर्न छुट्टै विभाग निर्माण गरिने समितिको भनाइ छ । हाल तालीम केन्द्रलाई बीमा समितिले नै नेतृत्व गर्ने बताइएको छ । विद्यार्थीले बीमामा भविष्य खोज्ने बनाउँछौं : विज्ञ भोजराज शर्मा विज्ञ भोजराज शर्माले तालीम केन्द्रमार्फत बीमाक्षेत्रको विकास र दायरा बढ्ने हुनाले यो क्षेत्रमा जो कोहीको पनि भविष्य उज्वल हुने धारणा व्यक्त गरे । उनले भने, ‘पढ्दै गर्दा विद्यार्थीले बैङ्किङ, इञ्जिनीयरिङलगायत क्षेत्रमा भविष्य खोजे जस्तै बीमाक्षेत्रमा पनि भविष्य खोज्ने बनाउँछौं ।’ बीमाक्षेत्रलाई सोहीअनुरूप विकास तथा विस्तार गर्ने योजना भएको उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)