ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्र कारोबार : परिमार्जित केवाईसी १६ हजारले गरे अद्यावधिक

May 17, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूलाई ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक गर्न अनिवार्य गरेपछि हालसम्म १६ हजार जनाको विवरण अद्यावधिक भएको छ । बोर्डले केवाईसीलाई परिमार्जन गरी सोबमोजिम विवरण अद्यावधिक गर्न वैशाख मसान्तसम्मको समयावधि तोकेको थियो । त्यसका लागि बोर्डले फागुन २५ गते सम्पूर्ण धितोपत्र व्यवसायीलाई निर्देशन दिँदै वैशाख मसान्तभित्र केवाईसी अद्यावधिक गर्न भनेको हो । त्यसअघि माघ ८ गते परिपत्र जारी गरी बोर्डले सम्पूर्ण दलाल व्यवसायीलाई धितोपत्रसम्बन्धी ऐन नियम तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानूनहरूको व्यवस्थाहरूलाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न परिमार्जित केवाईसीलाई आवश्यक व्यवस्था गर्नसमेत निर्देशन दिएको थियो । बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले बोर्डले केवाईसी अपडेट नगर्ने लगानीकर्तालाई जेठ १ गतेदेखि कारोबारमा रोक लगाउने उद्देश्य नभई ‘अपडेट’ गराएर मात्र लगानी गराउने उद्देश्य भएको बताए । यसबाट धितोपत्र बजारमा हुने जोखीम कम गर्न सकिने उनको भनाइ छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले दिएको जानकारीअनुसार हाल धितोेपत्र दोस्रो बजारमा १२ लाख ४० हजार लगानीकर्ताले कारोबार गरिरहेका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले धेरै लगानीकर्ताले केवाइसी अद्यावधिक गर्न बाँकी रहेकाले सम्बन्धित निकायले यसका लागि केही समय थप गर्नुपर्नेमा जोड दिए । उनका अनुसार बोर्डले फागुनमै निर्देशन दिए पनि धेरै लगानीकर्तालाई केवाईसी अद्यावधिक गर्नेबारे अझै जानकारी छैन । जेठ १ देखि कारोबारमै रोक लाग्ने अवस्था आएपछि केवाईसी अद्यावधिक गर्नमा जोड दिइएको उनको भनाइ छ । ब्रोकर सङ्घका अध्यक्ष प्रियराज रेग्मीले जेठ १ देखि अनिवार्य भएको केवाईसीलाई लगानीकर्ताहरूले अद्यावधिक गरेर मात्र कारोबार गरेको जानकारी दिए । उनले केवाईसी अद्यावधिक नगरेका लगानीकर्तालाई अद्यावधिक गरी नियमित कारोबार गर्नसमेत रेग्मीले आग्रह गरे । बोर्डले लगानीकर्ताको हित संरक्षण, स्वच्छ तथा पारदर्शी बजारको विकास र धितोपत्र कारोबारमा निहित जोखीमसमेत न्यूनीकरण गर्न यस्तो केवाईसी अद्यावधिकलाई अनिवार्य गरेको बताएको छ । यसअघि, धितोपत्र कारोबार गर्दा सीमित रूपमा मात्र ग्राहक विवरण भर्नुपर्ने व्यवस्था थियो । परिमार्जित केवाईसी फारममा भर्नुपर्ने बुँदाहरू
  • ग्राहकको परिवारका सदस्यहरूको विवरण
  • पेशागत विवरण
  • ग्राहकको बसोवास गर्ने स्थानको नक्शा
  • इन्भेष्टमेण्ट कम्पनीमा संलग्न भए/नभएको विवरण
  • धितोपत्र खरीदमा प्रयोग गर्ने रकम सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानूनविपरीत आर्जन नगरेको उद्घोषण
  • कम्पनी र संस्थाको हकमा दर्तासम्बन्धी विस्तृत विवरण
  • कम्पनी र संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तीनपुस्ते विवरण
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)