ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गफै त हो ससुरा !

May 18, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
मोदी आए, गए । हामी नेपालीलाई एक महीनाको गफ गर्ने खुराक पुगिहाल्यो । मोदीले पनि गफै गरेका हुन् । हाम्रा नेताले गर्ने पनि गफै हुन् । पहिलेकै पूरा भएका छैनन् वाचाहरू । कति थपिएका छन् नयाँ नया प्रतिबद्धताहरु । पहिले दिन्छु भनेका थुप्रै कुरा दिएका छैनन् मोदीले । किनभने ती सबै गफै थिए । फेरि नयाँ गफ दिएर गएका छन् । भन्नेलाई पनि थाहा छ, ती वाचा पूरा गर्नका लागि थिएनन् । सुन्नेलाई पनि थाहा छ, ती प्रायः सबै गफ हुन् । गर्ने त गफै न हो । काम त कसले पो गर्‍या छ र ? कामै गरेको भए त नेपाल अहिलेसम्म कस्तो भइसक्थ्यो होला । काम भएको भए गफ गर्ने फुर्सदै कहाँ हुन्थ्यो होला र हामीसँग । त्यसैले होला, आफ्नो देशमा चाहिँ काम गर्ने मोदी नेपालमा आउँदाचाहिँ गफै बढी गर्छन् । हुन पनि नेपालमा गफै लाएर खान पाउने भएसी काम किन गरिरहन पर्‍यो र ? गफ गरेर पनि चलेकै छ । गफैले मात्र मज्जासँग चलेको देश संसारमा शायद नेपाल नै हो । यो सबैलाई थाहा छ । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म, सभासद्देखि वडा सदस्यसम्म, बुद्धिजीवीदेखि पत्रकारसम्म, मुख्यसचिवदेखि प्रहरीको प्युपासम्मलाई मिटिङ, योजना कार्यान्वयन आदिका गफ गर्न भ्याइनभ्याइ छ । प्रायः सबैको दैनिक मुख्य खुराक गफ हो । चियापसलदेखि चौतारा, विश्वविद्यालयदेखि संसद् भवनसम्म सबैतिर गफैले मुलुक विकसित हुँदै छ । गफैमा मानिसको जीवनस्तरमा सुधार आएको छ । गफले शिक्षा, स्वास्थ्य, पूर्वाधार, लगानी, अधिकार हरेक क्षेत्रमा विकासै विकास छाएको छ ।
हुन पनि नेपालमा गफै लाएर खान पाउने भएसी काम किन गरिरहन पर्‍यो र ? गफ गरेर पनि चलेकै छ । गफैले मात्र मज्जासँग चलेको देश संसारमा शायद नेपाल नै हो । यो सबैलाई थाहा छ ।
अझ फेसबुक र ट्वीटरबाट देश चलाउनेहरु त कति कति । टीभी नै फुट्ने गरी विकास अलाप्नेहरु झन् कति कति । देशले एकसे एक नयाँ नयाँ गफाडी नेपाली मोडेलका विद्वान् पाएका छन्, स्वदेश विदेश सबैतिर । ठूल्ठूला अर्थशास्त्रका व्याख्याकारदेखि चाणक्य नीति, वेद र अन्य नीतिशास्त्रका सारा ज्ञानका भण्डारबाट नेपाली पूर्ण लाभान्वित हुँदै गएका छन् । यसले नेपालीको गफ गर्ने क्षमता अभिवृद्धि गरेको छ । जसले जति ठूलो गफ दिनसक्छ, ऊ उति नै ठूलो पदमा पुग्ने सम्भावना रहन्छ । त्यसै भएर होला उत्तर कोरिया, चीन वा अमेरिकाले के गर्नुपर्छ भन्नेदेखि छिमेकी देशको अर्थनीति कस्तो हुनुपर्छ भन्नेसम्मका विद्वान्हरु सामाजिक सञ्जाल र मिडियाका पानाहरुमा छाएका छन् । समृद्धिका सूत्र केलाउनेदेखि युवालाई विकासको काममा लगाउनेसम्मका चिन्तनले नेपाली विद्वान्हरु पिरोलिरहेको देख्न सुन्न पाइएको छ । अबीर, फूल, माला, खादा, गम्छा, टोकन अफ लभ, पुरस्कार, अभिनन्दन र भाषणले होटल र पार्टी प्यालेसका हल भरिभराउ हुन थालेका छन् । नूनभन्दा सुनको, ऊनको भन्दा जुनको, भूकम्पपीडितका घरभन्दा धरहराको, पानीभन्दा पानीजहाजको, खाने तेलभन्दा गुड्ने रेलको, कुरा धेरै हुन थालेको छ देशमा । देशका प्रायः ठूला यस्तैखाले गफैमा भुलेका देखिन्छन् । बैङ्कहरु विस्तारित हुँदै छन् । तर, पहुँच भएका, केही सीमित ठूला व्यावसायिक घराना र ठूलै कमाइ भएकाले बाहेक बैङ्कबाट ऋण पाउन मुस्किल छ । राष्ट्र बैङ्क वित्तीय पहुँच बढाउने कुरा गरेर थाकेको छैन । तर, वित्तीय पहुँच र वित्तीय साक्षरता पनि गफाडीको गफै मात्र भएको छ । उद्योगले मजदूर पाउन छाडे । किनकि युवाले खेती गर्न छाडे । उनीहरु कि खाडी गए कि माक्र्सवादी, लेनिनवादी, माओवादी, काङ्ग्रेसवादी वा मधेशवादी भए । सक्नेहरुलाई ज्यान जोखीममा पारेर वा जसरी भए पनि विदेशी भूमिमा टेक्नु छ । किनकि उसलाई विदेश पनि देख्नु छ, सके आफ्नो घरमा अलि मोटै रोटी सेक्नु छ । अनि उसैले पठाएको विप्रेषणले अर्थतन्त्रको चक्का चल्न सहज बनेको छ । अर्थशास्त्री, नेतालाई यो गफ गर्ने एक माध्यम जो बनेको छ । पानी बेचेर पनि पैसा कमाइन्छ भन्ने विश्वास नेतामा अझै छैन । प्रकृतिले त दिएकै थियो, हामीले लिन जानेनौं । नेताले आफूले लिए, तर जनतालाई चाहिँ दिन जानेनन् । किनकि यहाँ व्यावसायिकता बिक्दैन । बिक्छ त केवल राष्ट्रियता, विकास र समृद्धिको गफ । किनकि सबैलाई तलको यो कथामा जस्तै गफै मीठो लाग्छ । एक पटक एक जना नेता ससुराली पुगेछन् । ससुरालीमा केवल सासू र ससुरा मात्र थिए । सासू भान्छामा व्यस्त । ज्वाइँ ससुरा बाहिर खाटमा गफमा मस्त । औपचारिक हालखबर सोध्ने क्रम सकिएपछि चुपचाप सन्नाटा छाएछ । ससुरालाई खसखस लागेर नेता ज्वाइँलाई भनेछन्, ‘ज्वाइँसा’प केही नयाँ कुरा छैन ?’ ज्वाइँ : छैन हजुर । ससुरा : केही गफ त निकाल्नोस् । यत्तिकै धुम्धुम्ती त के बस्नु हौ ? त्यसपछि ज्वाइँले भन्न थालेछन्, ‘अँ साँच्ची ससुरा बा, म त जनताको सेवामा सधैं व्यस्त रहन्छु । खेतमा धान पाकेको थियो । तर, खेताला पाइरहेका थिएनौं । एक दिन कताबाट अचानक स्याल आइपुगेछ । त्यसलाई छेकेर, समातेर, त्यसको पुच्छरमा हँसिया बाँधेर लखेटेको त सबै धान स्यालले काटिदियो । हामीलाई त बडो सजिलो भयो यसपालि ।’ ससुरा : यस्तो पनि हुन्छ कतै ? ज्वाइँ : गफ गर्न भन्नुभएको होइन ? अनि मैले गरेको पनि गफै त हो नि ससुरा बा । कतै हामी यस्तै यस्तै गफमा जीवनको यो कालखण्ड बिताइरहेका त छैनौं नेताजी ?
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)