ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालीलाई एच–वनबी भिसा ६२ प्रतिशत घट्यो

May 18, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । अमेरिकाले नेपालीलाई दिने एच–वनबी भिसाको अनुमति घटाएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेयता आप्रवासनमा कडाइ गरिरहेका छन् । सोही नीतिअनुरूप ट्रम्पले एच–वनबी, ‘ओ’लगायत विशिष्टीकृत भिसामा कडाइ गरेका हुन् । यति मात्र नभई डीभी नै खारेज गर्ने चेतावनीसमेत ट्रम्पले दिइरहेका छन् । उनको यही अभिव्यक्तिका कारण एच–वनबी भिसा पाउनेको सङ्ख्या घटेको विश्लेषण गरिँदै आएको छ । अमेरिकाको विदेश मन्त्रलायको वेबसाइटमा सार्वजनिक तथ्याङ्कअनुसार सन् २०१७ मा ४ सय ४ जना नेपालीले एच–वनबी भिसा पाएका छन् । यो अघिल्लो वर्ष नेपालीले पाएको भिसाको तुलनामा ६२ दशमलव ४६ प्रतिशत कम हो । सन् २०१६ मा १ हजार ७६ जना नेपालीलाई एच–वनबी भिसा दिइएको थियो । समीक्षा अवधिमा १ हजार २ सय ४९ जनाले एच–वनबीका लागि आवेदन दिएका थिए । त्यसमध्ये ३२ दशमलव ३४ प्रतिशतलाई मात्रै भिसा दिइएको थियो । अघिल्लो वर्षको आवेदन र भिसा अनुमतिको तुलनामा यी दुवै दर निकै कम हो । सन् २०१६ मा १ हजार ५ सय ४ जनाले भिसा माग गरेकोमा १ हजार ७६ जनालाई दिइएको थियो । यो कुल आवेदनको ७१ दशमलव ५४ प्रतिशत थियो । समीक्षा अवधिमा नेपालीलाई दिइएको भिसा अनुमति सो अवधिको कुल अनुमतिको तुलनामा भने नगण्य नै छ । सन् २०१७ मा अमेरिकाले १ लाख ९७ हजार १ सय २९ जनालाई यस्तो भिसा दिएको थियो । यसको तुलनामा नेपालीलाई दिइएको भिसा शून्य दशमलव २० प्रतिशत मात्रै हो । २०१७ मा नेपालीका नाममा कुल २४ हजार ९ सय २४ भिसा जारी भएको थियो । यसमा एच–वनबी भिसाको अंश १ दशमलव ६२ प्रतिशत रहेको छ । गतवर्ष नेपाली सबैभन्दा बढी बी–वन (व्यावसायिक प्रयोजन), बी–टू भिसा (पर्यटन र गैरव्यावसायिक प्रयोजन)मा अमेरिका गएको तथ्याङ्क छ । यसरी जानेको सङ्ख्या १८ हजार ४ सय ११ रहेको छ । सन् २०१७ मा एच–वनबी भिसामा जाने नेपालीको सङ्ख्या घटे पनि बी–वन र बी–टू भिसामा अमेरिका जानेको सङ्ख्या भने निकै बढेको छ । अमेरिकामा उच्च शिक्षा लिन जाने नेपालीको सङ्ख्यामा भएको वृद्धिसँगै एच–वनबी भिसाको माग पनि बढेको छ । अमेरिकामा नेपालीले पाएको एच–वनबी भिसाको तथ्याङ्क सन् १९९७ यताको मात्र उपलब्ध छ । तर, यस्तो भिसा दिने व्यवस्था सन् १९९० देखी नै हुरु भएको मानिन्छ । अमेरिकाको विदेश मन्त्रालयको तथ्याङ्कअनुसार सन् १९९७ मा ८० जना नेपाली एच–वनबी भिसामा अमेरिका गएका थिए । सन् १९९८ मा भने यो सङ्ख्या बढेर १ सय ४४ पुग्यो । त्यसयता हरेक वर्ष सङ्ख्या बढ्दै सन् २०११ मा पहिलोपटक १ हजार माथि पुगेको थियो । शुरूका ५ वर्षमा औसतमा २ सय ३६ एच–वनबी भिसा जारी गरिएको थियो । पछिल्लो १० वर्षको औसत दर १ सय १७ मा रहेको छ । के हो एच–वनबी भिसा ? एचवनबी भिसा ‘नन–इमिग्रेण्ट’ भिसा हो । यस भिसा कार्यक्रमको प्रयोग गरेर अमेरिकी प्रविधि कम्पनीहरूले विशेष दक्षता प्राप्त विदेशी कर्मचारीहरूलाई अल्पकालीन अवधिका लागि आफ्नो कम्पनीमा काम गर्न अमेरिका ल्याउन पाउँछन् । अहिले कम्प्युटरसँग सम्बन्धित काम, आर्किटेक्चर, इञ्जिनीयरिङ र सर्वे, शिक्षा, मेडिसिन र स्वास्थ्य, भौतिक विज्ञानलगायत अन्य विभिन्न क्षेत्रका कम्पनीले विदेशी कर्मचारी ल्याउन एच–वनबी भिसाको प्रयोग गर्दै आएका छन् । त्यसमध्ये सबैभन्दा बढी कम्प्युटर प्रोगामिङ, कम्प्युटर सिष्टम डिजाइन र कलेज, विश्वविद्यालयका लागि यस्तो भिसाको प्रयोग हुँदै आएको थियो । सन् २०१७ मा एच–वनबी भिसाधारीहरूले औसतमा वार्षिक ९२ हजार ३ सय १७ डलर तलब थापेका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)