अपराधीहरुले आफ्नो अवकाशको घोषणा गरेको कुरा नसुनिएको विषय हो । तर, सोमालियाका कुख्यात समुद्री डकैत समूहका एक नेताले गतहप्ता सबैलाई आश्चर्यमा पार्दै यस्तो घोषणा गरेका छन् । हिन्द महासागरको प्रमुख व्यापारिक जलमार्ग भएर जाने मालबाहक पानीजहाज, तेल बोक्ने ट्याङ्कर र कहिलेकाहीँ साना यात्रु जहाजलाई अपहरण गर्दै फिरौतीबापत ठूलो रकम असुल्ने गरिरहेका डकैत समूहका एक नेता मुहम्मद अब्दी हसनले गत बुधवार पत्रकार सम्मेलन गर्दै आफूले डकैतको ‘व्यापार’ छाडेको सगर्व घोषणा गरे । कम्पनी र सरकारहरुलाई हायलकायल गर्दै ८ वर्ष सामुद्रिक डकैतक्षेत्रमा बिताएका ‘अफवेने’ (धेरै बोल्ने मान्छे) उपनाम पाएका उनले अब उप्रान्त आफू कुनै पनि आपराधिक गतिविधिमा सामेल नहुने बताए । ‘आजका दिनबाट म सङ्गठित अपराधका कुनै पनि गतिविधिमा सहभागी हुने छैन,’ पत्रकार सम्मेलनमा उनको प्रण थियो । उक्त पत्रकार सम्मेलन समुद्री डाँकाहरुको सुरक्षित आश्रयस्थल मानिने केन्द्रीय सोमालियास्थित अडाओ शहरमा आयोजना गरिएको थियो ।
मुहम्मद अब्दी हसन सोमाली समुद्री डाँकाहरुमध्ये सबैभन्दा कुख्यात सरगना मानिन्छन् । संयुक्त राष्ट्रसङ्घले उनी विश्वकै कुख्यात र प्रभावशाली अपराधी सरगनाहरुमध्ये एक रहेको केही वर्षअघि बताएको थियो । त्यसैगरी द न्यूयोर्क टाइम्स पत्रिकाले अब्दी हसनको आगमनले सोमाली सामुद्रिक डकैत व्यापारलाई ‘नयाँ ढङ्गले जटिल बनाएको’ एक विश्लेषणमा लेखेको थियो । ‘‘अफवेनेले आफ्ना डकैत अभियान सञ्चालनबाट पूँजी यसरी बटुलेका थिए कि मानौं उनी वालष्ट्रीटमा कुनै कम्पनीको प्राथमिक शेयर निष्कासन (आईपीओ) गर्न गइरहेका छन्,’ पत्रिकाको विश्लेषणमा उल्लेख थियो ।
लामो गृहयुद्ध र खडेरीले क्षतविक्षत भएको सोमालियाको कमजोर सरकार र दण्डहीनताको फाइदा उठाउँदै अब्दी हसनले सञ्चालन गरेको यो व्यापार उनका लागि निकै फापेको थियो । उनका मानिसहरुले सन् २००९ मा युक्रेनको एक व्यापारिक जहाज अपहरण गर्दै १ सय ३४ दिनसम्म कब्जामा राख्दै ३० लाख डलरको फिरौतीमा छाडेका थिए । त्यस्तै, अब्दी हसनकै समूहले सन् २००८ मा एक साउदी तेल ट्याङ्करलाई पनि नियन्त्रणमा लिएर पछि फिरौतीबापत ठूलो रकम लिएका थिए । उक्त फिरौतीको यकिन आकार हालसम्म खुल्न नसके पनि त्यसबेला दशौं लाख डलर तिरिएको हुन सक्ने अनुमान गरिन्छ ।
तर, पछिल्लो समयमा अवस्था केही फेरिएको छ । सोमालिया आसपासका जलमार्गमा अमेरिका, भारत, चीन र फ्रान्सले सैन्य गस्ती बढाएपछि समुद्री डकैत अभियानमा नाटकीय कमी आएको देखिन्छ । अब्दी हसनले आफ्नो अवकाशको कारण नखुलाए पनि डाँकाहरुमाथि गरिएका कडाइ मुख्य कारण भएको विश्वास गरिँदैछ । उनले आफूसँगै समूहका अन्य साथीलाई पनि डकैत छाड्न प्रेरणा र आग्रह गरेको पत्रकारहरुलाई बताए ।